fbpx

घरघरमा घरेलु मदिरा उद्योग, प्रहरी पुग्दा भागभाग (भिडियोसहित)

विराटनगर,
विराटनगर महानगरपालिका– १२ को बखरी टोलमा व्यवसायीक रुपमा घरेलु मदिरा उत्पादन हुने गरेको पाइएको छ । मोरङ प्रहरीले सञ्चालन गरेको अप्रेशनमा विराटनगर–१२ को बखरी टोलमा घरघरमा घरेलु मदिरा उत्पादन हुने गरेको पाइएको हो ।

मंगलबार बिहान प्रहरीले सातवटा घरमा खानतलासी गरी चारहजार ४ सय ६५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको छ । प्रहरीले विराटनगरमा सर्च अभियान सञ्चालन गरेर ठूलो मात्रमा मदिरा बरामद गरेको पहिलो घटना हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजकुमार खिइजूको नेतृत्वमा पुगेको प्रहरी टोलीले खान तलासी गर्ने क्रममा २ सय लिटर आट्ने दुईवटा निलो ड्रममा ४०० लिटर, ६० लिटरको प्लाष्टिकको ६४ वटा ड्रममा ३ हजार ८ सय ४० लिटर र १५ लिटर क्षमताका १५ वटा ड्रममा २२५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिइको हो । प्रहरीले ४८ वटा मदिरा बनाउँने भाँडा र २ वटा चुलो बरामद गरेको छ ।

प्रहरी पुग्दा भागाभाग

मंगलबार बिहान प्रहरी नायव उपरीक्षक राजकुमर खिइजु, बेदप्रसाद गौतमसहित प्रहरी टोली बस्तीमा पुगेपछि मदिरा उत्पादकहरुको भागाभाग मच्चिएको थियो । गाउँमा प्रहरीको भ्यान पुगेपछि घरधनीहरु घर छाडेर हिँडेका थिए ।

प्रहरी पुग्दा घरमा ताल्चा लगाएर घरधनी भागेपछि ताल्चा फोडेर प्रहरीले मदिरा नियन्त्रणमा लिएको छ । डिएसपी खिइजू घरमा ससाना बालवालिकालाई छाडेर घरमुली प्रहरीलाई देखेपछि घर छाडेर भागेको बताउँछन् ।

प्रहरीले जगदिश साह,सजन कामत, रामचन्द्र यादव लगायतको घरमा छापाँ मारेको थियो । बरामद मदिरा आन्तरिक राजस्व कार्यालय मोरङमा बुझाउने प्रहरी नायब उपरीक्षक खिइजूले बताए ।

प्रतिक्रिया

Loading...