fbpx

यस्ता छन् मृगौलाका बारेमा थाहा पाउनु पर्ने महत्वपूर्ण विषय

विराटनगर । मृगौला मानव शरीरका सर्वाधिक महत्वपूर्ण अङ्ग मध्ये एक हो । हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन् । मृगौलाको प्रमुख काम भनेको पिसाब बनाउनु पनि हो । मृगौलाले शरीरमा हुने विभिन्न प्रक्रिया हुँदा निस्किने हानिकारक र विषालु तत्वलाई छानेर पिसाबको माध्यमबाट फाल्ने काम गर्छ । मृगौलाले सही ढंगबाट काम गर्न नसक्दा गम्भीर बिरामी हुन वा मानिसको मृत्यु समेत हुन सक्छ ।

यसले शरीरमा पानी, तरल पदार्थ, खनिज तथा सोडियम, पोटासियम जस्ता इलेक्ट्रोलाइट रासायनिक पदार्थको सन्तुलन कायम राख्न् मद्दत गर्छ । साथै, मृगौलाले शरीरमा रगत बन्न, हड्डिलाई मजबुत राख्न, रक्तचाप नियन्त्रण गर्न, शरीरमा एसिडको मात्रा सन्तुलित राख्न जस्ता कामहरू गर्छ । त्रिभुवन विश्वविद्यालयको टिचिङ अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक डा. दिव्या सिंहका अनुसार शरीरमा पानीको मात्रा कम हुदा, बंशाणुगत कारण, मधुमेह र उच्च रक्तचापका कारण वा अन्य विभिन्न समस्याका कारण मृगौलामा रोग देखा पर्न सक्छ ।

चालीस वर्षको उमेर कटेपछि मृगौलाको समस्या बढी देखिएको पाइएको छ । सानो उमेरमा नै उच्च रक्तचाप हुनुको प्रमुख कारण मृगौला सम्बन्धी रोग पनि हुन सक्छ । बालबालिकाहरुमा पिसावनलीमा अवरोध सिर्जना भएमा, विभिन्न प्रकारको सङ्क्रमण लागेमा, घाँटी खराब भई बारम्बार टन्सिलको समस्या भएमा मिर्गौलाको समस्या देखिएको पाइन्छ ।

महिलाहरूमा धेरै जसो मिर्गौला सुन्निने समस्याले गर्दा पछिसम्म स्वास्थ्यमा नराम्रो असर पारेको पाइएको छ । पिसाब पोल्ने, पिसाब लागिरहने, पिसाबको रंगमा परिवर्तन र पिसाबबाट रगत, फिज र पिप निस्किने समस्या देखा परेमा मृगौलामा समस्या भएको बुझ्न सकिन्छ । कहिलेकाहीँ धेरै कोखा दुख्नु, बिहान उठ्दा आँखाको डिल सुन्निनु, दिउँसै खुट्टाको गोलीगाँठा सुन्निन थाल्नु पनि मृगौलामा समस्या भइरहेको सङ्केत हुन सक्छ ।

कमजोरी हुने, चाँडै थाक्ने, ढाडको तल्लो भाग दुख्ने, शरीर दुख्ने, चिलाउने तथा खुट्टा बाउँडिनु मृगौला रोगको सामान्य लक्षण हुन सक्छन् । शरीरमा पानीको मात्रा कम भएर हुने मृगौला रोगमा अनुहार, पेट र खुट्टा सुन्निन थाल्छ । मृगौलाले काम कम गर्न छाड्यो भने शरीरमा विषालु पदार्थको वृद्धि हुन्छ, जसले गर्दा हामीमा वाकवाकी लाग्ने र उल्टी आउने समस्या देखा पर्न थाल्छ । मृगौलाका रोगका लक्षणहरू व्यक्ति व्यक्तिमा फरक पर्न सक्छ ।

तसर्थ, मृगौला रोगको लागि परीक्षण गर्नु जरुरी हुन्छ । मृगौलाको समस्या भएको शङ्का भएमा रक्तचाप, शरीरमा चिनीको मात्रा र पिसाबको परीक्षण गरिसके पछि मात्र प्रारम्भिक उपचार सुरु गरिन्छ । परिक्षण गर्न समय र खर्च धेरै लाग्दैन् । यी तिनमा समस्या देखियो भने मात्र मृगौला कति काम गरेको छ भनेर जाँच्न गर्न थालिन्छ । गम्भीर मृगौलाको रोग, लामो समयसम्म पनि कुनै लक्षण वा संकेत बिनानै पनि हुन सक्छ ।

त्यसैले, ३० वर्ष नाघेपछि समय अनुसार पटक पटक स्वास्थ्य परीक्षण गर्न आवश्यक हुने बीबीसी नेपाली सेवासँगको कुराकानीमा डा. दिव्याले बताएकी छिन् ।

मधुमेह, रक्तचाप, जस्ता रोगले दैनिकीमा निकै अप्ठ्यारो पार्ने लक्षण देखा नपरे पनि बिस्तारै असर पारिराखेका हुन्छन् । त्यसैले, बेलैमा विचार नपुर्‍याए ठूलो समस्या आइसकेपछि अस्पताल जाँदा धेरै ढिलो भइसक्छ र मृगौलाले काम गर्न छोडे पछि शरीरका अन्य अङ्गलाई पनि असर पर्ने जोखिम उच्च हुन जान्छ । कुनै कुनै अवस्थामा भने डाइलिसिस वा मिर्गौला प्रत्यारोपण गरेर बिरामीलाई जोगाउनु पर्ने समेत हुन्छ ।

प्रतिक्रिया

Loading...