१५ लाख नेपाली बेचबिखनको जोखिममा

काठमाडौं । स्वदेशमा रोजगारी नपाएपछि वैदेशिक रोजगारीमा जाने क्रमसंगै नेपाली नागरिक बेचबिखनमा सम्भावना समेत बढ्दो छ । राष्ट्रिय मानव अधिकार आयोगले गरेको अध्ययन अनुसार १५ लाख नेपाली बेचबिखनको जोखिममा छन् ।

ती मध्ये ३५ हजार त स्वदेशमै बेचिन सक्ने जोखिममा रहेका छन् । मानव अधिकार आयोगले सार्वजनिक गरेको अध्ययनमा यो अवस्थालाई विश्लेषण गर्दै १० बुँदे सिफारिस समेत गरेको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले महिलाहरुलाई घरेलु कामदारका रुपमा विदेश जान रोक्नु नै गलत भएको बताए ।

तर सरकारले घरेलु कामदारका रुपमा गएका महिलाहरु समस्यामा परेको भन्दै २०७२ सालदेखि घरेलु कामदारका रुपमा महिलाहरुलाई विदेश पठाउन प्रतिबन्ध लगाएको छ । सरकारले वैध तरिकाले घरेलु कामदारका रुपमा विदेश जान रोक लगाएपछि हजारौँ महिलाहरु तेश्रोमुलुक हुदै विदेश पुग्ने गरेका छन् ।

यही कारणपनि महिलाहरु बेचबिखनको उच्च जोखिममा परेको अयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगकी सदस्य मोहना अन्सारीले उमेर पुगेका महिलाहरुलाई विदेश जानबाट रोक्नु असमान व्यवहार भएको बताइन् । वैदेशिक रोजगारीका कारण दुव्र्यवहारमा परेका महिलालाई प्रधानमन्त्री रोजगार कार्यक्रमले छुन नसकेको उनको भनाई छ । आयोगले नेपाल मानव बेचबिखनको गन्तव्य, मार्ग र श्रोत मुलुक बन्दै गएको भन्दै चिन्ता जनाएको छ ।

त्यस्तै मानव बेचबिखन विरुद्धका विद्यमान ऐन, नियम तथा कार्ययोजनाको संसोधन र पुर्नलेखन आवश्यक रहेको आजको नागरिक दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया

Loading...