लिम्चुङबुङमा खाद्यान्न संकट, दुई तिहाई बढी पिडितले राहत पाएनन्

उदयपुर । लगातारको वर्षापछि डुवान तथा बाढी पहिरोबाट पिडित उदयपुरको लिम्चुङबुङमा खाद्यान्न संकट देखिन थालेको छ । प्रदेश सरकारले राहत बाडेपनि सबैले अहिलेसम्म राहत पाएका छैनन् ।

गत असार २६ गतेदेखिको अविरल वर्षापछि सडक अबरुद्ध भएको कारण खाद्यान्न पुर्याउन समेत समस्या रहेको छ । खाद्यान्न अभाव हुन नदिन चाडै राहत उपलब्ध गराउन गाउपालिकाले राहतकोलागि प्रदेश सरकारलाई अनुरोध गरेपछि दुई पटक हेलिकप्टरमार्फत पुर्याएको राहतपनि सबैले पाएनन् ।

नागरिक पुर्वेलीमा छापिएको खबरमा प्रदेश सरकारले पुर्याएको राहत सबैलाई दिन नपुग्ने भएपछि सबैभन्दा पिडितलाई छानेर वितरण गरिएको गाँउपालिकाले जनाएको छ । साउनको पहिलोसाता पुर्याएको राहत एक छेउपनि नपुगेको र बाँकी खाद्यान्न पुर्याउन नसक्दा समस्या भएको हो । प्रदेश सरकारले ४सय २० क्विन्टल चामल लिम्चुङबुङकालागि छुट्ट्याएपनि नेपाली सेनाको हेलिकप्टरमार्फत दुई पटकमा ४१ क्विन्टलमात्र पुर्याइएको छ ।

तर अझैसम्म सडकबाट राहत लान सक्ने अबस्था नरहेको गाँउपालिकाले जनाएको छ । गाँउपालिकाका अध्यक्ष मेजर राईले बाढी पहिरोले घर बगाएका, भत्केर विस्थापित भएका, अशक्त, अपांगता भएका तथा वृद्धवृद्धा भएको घरधुरीलाई छानेर राहत दिएको जानकारी दिए । तर त्यहाँका दुई तिहाई भन्दा बढी पिडित परिवारले राहत पाउन सकेका छैनन् ।

प्रतिक्रिया

Loading...