fbpx

सहकार्यले सफल बनेको हिङमाङ दम्पति

शशांक पौडेल
विराटनगर,
सीप भएमात्रै सफल हुन सकिन्छ भन्ने उदाहारण मोरङको बुढीगंगा गाउँपालिका २ का हिङमाङ दम्पति बनेका छन् । मोरङको बुढीगंगा–२ गंगाचौकका विष्णुमाया र साजिन्द्र हिङमाङ विवाह हुदाँ सम्पत्तिको नाममा एउटा सिलाइ मेसिन मात्रै थियो ।

साजिन्द्र आफू काम गर्थे भने विष्णुमायासँग केही सीप थिएन् । जसको कारण साजिन्द्र एक्लैको कमाइले घर खर्च धान्न नै मुस्किल थियो । त्यतिबेला त दुई छोरालाई कसरी राम्रो शिक्षा दिने उनले सोच्न पनि सकेकी थिइनन् । आफूले पढ्न नपाएका उनीहरुले सन्तानलाई जसरी पनि पढाउनु पर्छ भन्ने उनीहरुले तयारी गरेपनि आम्दानीको स्रोत नहुँदा चिन्ताको विषय बनेको थियो ।

तर, विष्णुमायाले आफूले पनि काम गर्न थाले कमाइ बढ्ने बुझेपछि सिलाइसम्बन्धी काम सिक्न थालिन् । उनीले सिलाइसम्बन्धी पूर्ण ज्ञान भएपछि दिनरात एक गरेर दम्पति नै काममा लाग्न थाले । दुवैले काम गर्नथालेपछि आम्दानी बढ्दै गयो । अझ महिलाले नै महिलाहरुको कपडाको नाप लिने गर्न थालेपछि स्थानीय महिलाहरुको समेत चाप बढ्न थाल्यो । विष्णुमाया भन्छिन्, ‘भाग्यले साथ दियो, मेहनत गर्दा राम्रै काम पाउन थालेपछि राति ११ बजेसम्म हामी दुवै काममै हुन्थौँ । छिट्टो पसल बन्द गर्दा पनि १० भने बजिसकेको हुन्थ्यो ।’

उनीहरुले उन्नति गर्न बचत पनि गर्नु पर्ने बुझेपछि जीवन विकास समाज लघुवित्तसँग जोडिए । आफूलेपनि बचत गरेको रकममा केही ऋण घडेरी लिएपछि र घर पनि बनाइसकेका छन् । १० वर्षको अवधिमा करिब ५० लाख बढी मूल्य पर्ने घर–घडेरीभन्दा उनीहरुको लागि मूल्यवान भने सन्तानलाई दिएको शिक्षा लाग्ने गर्छ । दुई छोराका अभिभावक यी दम्पतिले दुःख गरेरै भएपनि निजी विद्यालयमा पढाएका छन् । जेठो छोरा केही महिनाअघि उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका छन् । कान्छा छोरा अहिले कक्षा १० मा अध्ययन गरिरहेका छन् । साजिन्द्रले भने, ‘आफूले पढ्न नपाएपनि छोराहरुलाई राम्ररी पढाउँछु भन्ने सोचेको थिएँ, उनीहरुले पनि हाम्रो भावना बुझेर राम्रोसँग पढिरहेका छन् । म सन्तुष्ट छु ।’

हिङमाङ दम्पतिको प्रगती निरन्तरको श्रम र सही योजनाको प्रतिफल हो । पहिले अरुतिरै काम गर्ने साजिन्द्र अहिले आफैँ कामदार राख्ने अवस्थामा पुगेका छन् । अरुकैमा काम गर्दा गर्दै जोडेको एउटा सिलाइ मेसिनको साटो उनको टेलरमा ५ वटा सिलाइ मेसिन भएका छन् । तर, कमाइ बढ्यो भन्दैमा उनीहरुले अझै श्रम गर्न भने छोडेका छैनन् । ‘मान्छे त राखेको छु तर आफूले नभ्याएको मात्रै अरुलाई लगाउने हो,’ साजिन्द्रले भने, ‘भ्याएसम्म चैँ अरुलाई काम लगाउँ भन्ने लाग्दैन् ।’

प्रतिक्रिया

three × 3 =

Loading...