fbpx

समाज सुधार अभियानमा रामरिझन

लेखक : गणेश लम्साल

 

प्रायः झोला भिरेर शान्तसँग हिँडिरहने पाको उमेरका रामरिझन यादवका धेरै परिचय छन् । कसैले विज्ञानको मेधावी प्राध्यापकका रूपमा उनलाई जान्दछन् । धेरैले उनलाई अग्रज पत्रकारका रूपमा चिन्छन् । कसैले परिपक्व लेखक भनेर भन्दछन् । अनि, कसैले रामरिझन जुझारु कम्युनिष्ट नेताको राजनीतिकर्मी हो भनेर पनि मान्दछन् ।

कसैले मधेश र मधेशीहरूको अधिकारप्रति जुटिरहेको अभियानकर्मी पनि हो भन्ने ठान्दछन् । यति धेरै पहिचान बनाएका रामरिझनको अर्को एउटा परिचय पनि सार्वजनिक भएको छ,- ‘साँस्कृतिक सुधार आन्दोलनको अभियन्ता ।’

के, नेता पत्रकार, प्राध्यापक, लेखक, साहित्यकार रामरिझन सास्कृतिक अभियन्ता अरे ? प्रश्न मनमा उठ्न सक्छ । किनभने, उनले भित्रभित्र गरिहेको तर बाहिर खासै चर्चामा नआएको पाटो हो यो, उनको । हुनपनि साँस्कृतिक परिवर्तन राजनैतिक आन्दोलन जस्तो सहज र प्रचारमुखी पनि हुँदैन ।

हो, रामरिझनले आफ्नो मात्र नभएर सिंगो समाजको साँस्कृतिक कर्मलाई प्रगतिशीत बनाउने अभियान छेडेका छन् । समाजसँग सचेत बिद्रोह गरिरहेका छन् । फेरि, प्रश्न उठछ, त्यस्तो के गरे हँ चुनावमा लडिहिँडने पार्टी फेरि हिँडने रामरिझनले ?

रामरिझन यादवलाई कसरी चिन्ने ?

रामरिझन मधेशका धर्तीपुत्र हुन् । दुई नम्बर प्रदेशको सिरहा जिल्लाको सनहैठा हाल सिरहा नगरपालिकामा २०१६ सालमा जन्मिएका हुन्, उनी । अझै समान्तवादलाई संरक्षण गर्न लागिपरिरहेको यादव समुदायको रामरिझन प्रगतिशील विचारका हुन् । यसैले उनले विचारले मात्र समाज सुधार गरिरहेका छैनन् आफनो व्यवहारले पनि सुधार गराउन लागिपररहेका छन् । त्यो कसरी हँ ? भन्ने जिज्ञाशाका लागि उत्तर यस्तो छ, – मधेशमा यादव समुदायले वर्षौंदेखि खुवाउँदै आएको मृत्युपछि हुने भोज बहिष्कार आन्दोलन चलाएर ।’

सामन्तीप्रथाले जरो गाडेको मधेशमा मध्यमवर्गीय परिवारमा जन्मेका रामरिझनले गाउँकै श्री चन्द्र हाइस्कुलबाट एसएलसी उत्तीर्ण गरे । त्यसपछि उनले भारत बिहार राज्यको दरभंगा जिल्लाको मिथिला विश्वविद्यालयबाट एमएससी सके । परिवारमा चार दाजुभाइ र दिदीबहिनीमा जेठा थिए, रामरिझन । यसैले एमएससी सकेपछि उनी जागिर खान विराटनगर आए । यहाँ रहेको महेन्द्र मोरङ क्याम्पसमा उनले २०४० देखि २०५६ सम्म पढाए । यति खेरसम्म रामरिझन सचेत प्रगतिशील चेत भएको प्राध्यापक बनिसकेका थिए । उनी विद्यार्थीलाईं विज्ञानका कोरा कुरा मात्रै पढाउँदैन थिए, प्रगतिशील चेत पनि भर्थे । कारण थियो, बाल्यकालदेखि नै उनी कम्युनिष्ट स्कुलबाट आकर्षित थिए । भनिन्छ,-‘सामन्ती चेत धेरै भएको सिरहाको रुखका पातहरू पनि लाल हुन्छन् उनीहरूको रेशारेशामा कम्युनिष्ट विचार भरिएको हुन्छ ।’

हुन पनि हो जहाँ सामन्तबाद हुन्छ, कम्युनिष्टहरू त्यहीँ उम्रने हुन्, समाजलाई प्रगतिशील बनाएर मुक्ति दिलाउनका लागि । र, सिरहामा पनि सूर्यनारायण यादव, जयगोविन्द शाह जस्ता कम्युनिष्ट योद्धाहरूले संघर्ष गरेर सिंगो जिल्लामा लाल विचार छर्न सफल भएका थिए । युवाहरूमा संघर्षशील चेत भरेका थिए । त्यही चेतले हो स्कुल, पढ्दादेखि नै रामरिझन विद्यार्थी मात्र रहिरहन सकेनन् । उनी संघर्षको अनुयायी पनि बने । उनले १०कक्षा पढ्दादेखि नै पार्टीको जिम्मेवारी सम्हालिसकेका थिए, चौथो महाधिवेशनका लागि । यहीँ चेतले हो रामरिझनलाई विज्ञानको कोरो प्राध्यापक मात्र बनिरहन दिएन, पत्रकार र लेखक अनि राजनैतिक नेता पनि बनाएरै छाड्यो । प्रगतिशीलताका लागि बिद्रोह गर्न नडराउने हक्की स्वभावका रामरिझन सामाजिक जागरणको अभियन्ता पनि बन्न बाध्य भए ।

झिना तर संवेदनशील विषयबाट किन विद्रोह गर्छन् रामरिझन ?

रामरिझन विद्रोहका लागि धेरै ठूला मूद्दा समाउँदैनन् । झिना तर संवेदनशील विषयहरूलाई आधार बनाउँछन् । किनभने देखावटीभन्दा पनि समाजमा रूपान्तरणको खाँचो ठान्छन्, उनी । यसैले सकेको सबैले आ–आफ्नो ठाउँबाट प्रगतिशीलताका लागि हल्ला बोल्नुपर्ने ठान्छन्, उनी ।

२६ मंसिर २०४३ को दिन थियो, रामरिझन विराटनगरमा क्याम्पसबाट पढाएर बजारतर्फ आइरहेका थिए । क्याम्पस नजिकै रहेको रोडशेष चौकमा पञ्चायत रजतजयन्तीको सालिक बन्दै थियो । उनीसँग अर्का एक जना प्राध्यापक पनि थिए । दुवैले रजतस्तम्भ बनाउन कति खर्च लाग्यो भनेर अनुमान लागत निकाल्न थाले । र, फजुल खर्च गरेको भनेर त्यहीँ गफ गरे । उनीहरूको गफ सुनेका एक व्यक्तिले राजा र पञ्चायतलाई गाली गरेको भनेर रामरिझनलाई एक थप्पड लगाएर र प्रहरी बोलाएर हिरासतमा थुनाए । ती व्यक्ति रहेछन् विराटनगर नगरपञ्चायतका उपप्रधानपञ्च उद्धव पौडेल । त्यो कुरा बाहिर आएपछि विद्यार्थी, प्राध्यापक सबै आन्दोलित बने । राति ९ बजे प्रहरीले रामरिझनलाई छोड्न बाध्य भयो । तर, पञ्चायतविरोधी आन्दोलन रोकिएन । विराटनगर पूरा बन्द भयो । एमाले नेता मदनभण्डारीले प्रगतिशील प्राध्यापकमाथि भएको दुर्व्यवहारलाई पञ्चायती गुण्डागर्दीको संज्ञा दिएर आन्दोलनको नेतृत्व गरेर कार्यकर्ता परिचालन गरेका थिए । कांग्रेसका अशोक कोइरालाहरूले पनि आन्दोलनमा साथ दिए । त्यो बेला रामरिझन एकाएक ‘सेलिब्रेटी’ बने । उनलाई साराले चिने ।

कसरी बन्न पुगे रामरिझन पत्रकार ?

त्यो सबै थाहा पाएका तत्कालीन बिर्मश साप्ताहिकका विराटनगर संवाददाता मित्रलालवालक अधिकारीले २०४४ मा रामरिझनलाई संवाददाता बनाए । पत्रकारिताको तालिम नलिएपनि रामरिझनले समाचार पठाउन थाले । पछि, मित्रलाल काठमाण्डौ गएपछि रामरिझन नै बिर्मशको विराटनगर संवादादाता बने । धेरैपछि मात्र उनले पत्रकार गोकुल पोखरेलहरूबाट तालिम लिने अवसर पाए । २०४६ सालमा पत्रकारिताबाट बहुदललाई सघाउको आरोपमा रामरिझन १ महिना ५ दिन जेल पनि परे । शुशीला कार्की, नोना कोइराला, चिरञ्जवी रिजालहरू जेलमा साथी थिए । त्यसपछि प्राध्यापन पेशा नै छाडेर पत्रकारितामा लागेका रामरिझनले साप्ताहिक नेपाली अवाज, छलफल, नेपाली पत्र, मूल्यांकन, गर्जन, जनएकतालगायतका पत्रिकामा रिर्पोटरका रूपमा काम गरे । उनले मोरङबाट मिथिला टाईम्स पत्रिका दर्ता गराएर चलाएका थिए । रामरिझन राजनैतिक विषयमा लेखहरू धेरै लेख्थे र अझै लेखिरहन्छन् । उनले २०५६ देखि सिरहाको लहानबाट पूर्व साप्ताहिक पत्रिका पनि चलाए । मधेश आन्दोलनको बेला रामरिजनले ‘लाल मधेश’ नामको मासिक पत्रिका पनि निकाले जुन ३ वर्ष निरन्तर प्रकाशित भयो । रामरिझनले एक दर्जन पुस्तक–पुस्तिका लेखिसकेका छन् ।

रामरिझनले जनमोर्चा नेपालको उम्मेदवार भएर तीन पटक चुनाव लडे र पराजित बने । माओवादी खुल्ला राजनीतिमा आएर पार्टी एकता भएपछि एकता केन्द्र मसालको केन्द्रीय सदस्य रहेका रामरिझन माओवादी एकीकृतको केन्द्रीय सदस्य भए । पछि पाटीको विभाजनसँगै रामरिझन बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमा गए र केन्द्रीय सदस्य बने । हाल उनी समाजवादी पार्टीको केन्द्रीय सदस्य छन् ।

कसरी भयो नारी दिवसमा छोरीको प्रगतिशील विवाह ?

अभिभावक रामरिझन तिनै व्यक्तित्त्व हुन्, जसले पहाडे समुदायकी युवतीसँग मागी विवाह गरेका थिए । विराटनगर क्याम्पसमा पढाउँदा रामरिझनको झापा गौरादहकी विद्यार्थी लक्ष्मी अधिकारीसँग प्रेम भयो । उनले पछि लक्ष्मीसँग ३० फागुन २०४७ मा मागेरै जन्तीसहितको झ्याँई -झ्याँई विवाह गरे । र, लक्ष्मी र रामरिझनले शिखाकिरण र श्रद्धा सुमन नामका दुई छोरी प्राप्त गरे ।

जेठी छोरी शिखा यादवको विवाह पनि रामरिझनले २०७५ मा नारी दिवसको दिन विराटनगरमा पहाडे समुदायका ज्वाँइसँग प्रगतिशील ढंगले सम्पन्न गरे । कान्छी छोरी हाल एमएस्सी पढ्दैछिन् । कान्छी छोरीको पनि उसैगरी विवाह गर्ने योजना छ, उनको ।

मृत्यु भोजप्रति किन यत्रो आक्रोश त रामरिझनको ?

मधेशको संस्कृतिलाई राम्ररी जानका रामरिझनले त्यहाँको विकृतीलाई पनि राम्रो बुझेका छन् । उनका अनुसार मृत्यु भोजले धेरैलाई कंगाल बनाएको छ । समाजलाई झन्–झन् सामान्ती र देखावटी प्रचारमुखी बनाइरहेको छ । गरिबहरु भोजकै कारण टाट पल्टेका छन् । महिलाहरूले झन् साह्रो विभेद सहिरन बाध्य हुनुपरेको छ । यसैले मधेशमा यादव समुदायम मृत्युपछि हुने हजारौँ–लाखौ रुपैयाँको भोज संस्कृति अन्त गर्न आति आश्यक ठान्छन्, रामरिझन ।

रामरिझनले बुबाको मृत्यु हुँदा गाउँमा भोज गरेनन् र समाजसँग विद्रोह गरे । समाजले उनलाई रीतिथिति बिगारेको भनेर जात–हटक (बिहिष्कार) गर्यो । समाजले ५० हजार दण्ड तोक्यो । रामरिझन समाजका अगुवाहरूको निर्णयसँग गलेनन् । समाजले तोकेको दण्ड उनले भरेनन् । उनलाई उनका तीन जना भाइहरुले पनि साथ दिए । उनले भोज खुवाउने र दण्ड जरिवनाको पैसाले बाबु विश्वनाथ यादवको नाममा स्मृति प्रतिष्ठान स्थापना गरे । उक्त प्रतिष्ठानबाट हरेक वर्ष उनले दुई लाख अक्षय कोषको व्याजबाट गरिब र जेहेन्दारलाई छात्रावृत्ति दिने गरेका छन् । बुबाको नाममा छात्रवृत्ति कोष बनाइदिएका रामरिझनले आफ्नी सानी आमाको काजकिरियामा पनि भोज गरेनन् ।

जुन उनले ४ दिनमै त्यो काजकिरिया सकाए । अहिले रामरिझन जहाँ जान्छन्, मृत्यु भोजको विरोध गर्छन् । भोजविरुद्धको जागरण अभियानमा सहभागी हुन आह्वान गर्छन् । तर, बिडम्बना पढेलेखेकाहरुले नै उनलाई साथ दिँदैनन् । सामाजिक थिति बिथोलेको आरोप लगाउँन् । यसैले उनले आयोजना गरेका कार्यक्रमहरूमा धेरै शिक्षित भनाउनेहरू सहभागी हुँदैनन् । उनीहरू सामाजिक बिद्रोहदेखि डराउँछन् ।

भोज भनेको सामन्ती प्रथा हो । ब्रम्हाणवादले अन्नदान महादान भनेको भन्दै प्राचीनकालमा भिक्षाटन गर्नेहरूले महादानमा बदले । पछि सामन्तहरुले अन्नदान महादानको बहानामा समान्ती भोजप्रथा सुरु गरे । त्यसलाई भ्रष्ट शासकहरूले संरक्षण गर्दै ल्याए । र, हाल भ्रष्ट नेताहरूले भोटका लागि संरक्षण दिइरहेका छन् । उनीहरू मृत्यु भोज हटाउनुभन्दा पनि भोज खुवाउने पैसा दिएर वा आफूले धेरैभन्दा धेरैलाई भोज खुवाएर संरक्षण दिइरहन्छन् । अन्नदान महादान भन्ने बहानामा जबसम्म मृत्यु भोज खुवाइँदैन तबसम्म मृत आत्माको मुक्ति हुँदैन भन्ने गलत सोचलाई दिमागबाट नहटाएसम्म मधेशमा चल्दै आएको मृत्युभोज नियन्त्रण हुन सक्दैन ।

महिला भोज किन आयोजना गर्न चाहँदैछन् त रामरिझन ?

९ असार २०७६ मा रामरिझनकी ९० वर्षीया आमाको मृत्यु भयो । आमाको मृत्युमा चाँही महिला भोज गर्ने सुरसार छ, रामरिझनको । किन त फेरि भोज गनुपर्यो त ? रामरिझन भन्छन्, ‘मैले आमालाई बचन दिएको हुँ ।’ उनकी आमाले भोज खुवाइएन भने स्वर्ग जान पाइँदैन भन्ने भ्रम रहेछ । जसरी भएपनि आफू मरेपछि भोज गर्न कसम खुवाएकी रहिछन् । र, आमाको मन राख्नका लागि रामरिझनले पनि जुक्ति निकाले, भोज त गराउने तर महिला भोज । महिला भोज नै किन गुर्न पर्यो र रामरिझनले ? उसले कतै घुमाउरो पाराले भोजलाई स्वीकार गरेको त हैन बाध्य भएर ? धेरैले शंका गर्लान्, तर महिला भोजबारे रामरिझनको तर्क आफ्नै छ । जुनदिन मधेशमा मृत्यु भोज हुन्छ, त्यसदिन भोज खान पुरुष मात्र जान्छन् । महिलाहरूले जान पाउँदैनन् । पुरुषहरू पेटमा खाँदा–खाँद मिष्ठान्न भोज खाएर डकार्ददै घर आउँछन् तर त्यही दिन महिलाहरू भने घरमा फुको च्यूरा मात्र खाएर सुत्न बाध्य हुन्छन् । किनभने, त्यो दिन चुल्हो बाल्न हुँदैन । पुरुषहरू भोज डकार्ददै घुर्दै सुत्छन् तर महिलाहरू भने पेट मिच्दै रातभर अनिन्द्रामा रात बिताउँछन् । हो यहीँ बेथितिलाई तोड्न महिला भोज गराउन चाहन्छन् रामरिझन । यही आउँदो असोज-कार्तिकमा विराटनगरमा भव्य समारोहमा सयौँ महिलाहरू सहभागी गराएर भोज खुवाउने उनको सपना छ । त्यो दिन देशका नामी महिला अधिकारकर्मी राजनीतिज्ञ महिला सबैलाई बोलाउने योजना छ, उनको ।

समाज प्रगतिशील किन हुन नसकेको होला ?

एक्काइसौँ शताब्दीमा विश्वमा धेरै देश धेरै अगाडि बढिसकेका छन् । चन्द्रमा पुग्ने कुरा अब नयाँ रहेन । मंगलग्रहमा पुग्ने मात्र हैन बस्ति नै बसाउने योजना बनिसकेको छ । तर, विश्वले यति धेरै प्रगति गरिरहँदा हाम्रो देश अझै खुल्ला दिसामुक्त अभियान चलाउँदैछ । दिसा गरेपछि खरानी पानीले हात धुनुपर्छ भन्ने बुझाउँदैछ । शुद्ध पानी पिउनुपर्छ भनेर सिकाउँदैछ । जातीय विभेद र छुवाछुत अपराध हो भनेर भर्खर भन्दैछ । यस्तोमा सदियौँदेखि चलिआएका खराब कुरालाई चटक्कै आलुको बोट उखेर फाले जस्तो सजिलो पनि छैन । अझै हाम्रो समाजमा विकृती विसंगतीहरूले सामान्ती ब्रम्हाणवादी चिन्तनको आडमा यति गहिरो गरी जरा गाडेर बसेको छ, जो कोही त्यसलाई फाल्न खोज्छ सक्दैन बरु उ आफैँ फालिन्छ । समाजमा एक्लिन्छ । बहिष्कारणमा पर्छ । रामरिझनलाई पनि लाग्छ समाज प्रगतिशील हुन सक्ने मूल कारण भनेको पनि बाहुनवादी सामन्ती चिन्तन नै हो । जसलाई खराब हो भन्ने जान्दाजान्दै पनि अझै सामन्ती रुप लिएको समाजले खोक्रो आडम्बरका लागि संरक्षण दिइरहेको छ । यसैले बृहत्त जागरण अभियानबिना मधेशमा सदियौँदेखिको चलेको भोजको विकृती पनि हट्न सक्दैन । यसका लागि समाज प्रगतिशील बन्नैपर्छ । र, समाज प्रगतिशील बनाउन बृहत्त जागरण अभियानको खाँचो छ । सांस्कृतिक आन्दोलनको आवश्यकता छ । किनभने सामाजिक र सांस्कृतिक रुपान्तरणबिना राजनैतिक स्थायीत्त्व सम्भव हुँदैन । राजनैतिक सत्ता स्थापना भएपनि त्यो दीगो हुँदैन र ढलेर जान्छ । यसैले सांस्कृतिक र राजनैतिक आन्दोलनलाई साथसाथै लानुपर्छ । तर, नेपालमा त्यस्तो भइरहेको छैन ।

त्यसोभए के एक्लो रामरिझनले मात्र सफल बनाउन सक्छ त भोजविरुद्धको अभियान ?

अहँ सक्दैन । पटक्कै एक्लो रामरिझनले मात्रै सदियौँदेखि गाडिएर बसेको भोज सँस्कृतिलाई हटाउन सक्दैन । प्रगतिशील विचारको रामरिझन त सुत्रधार मात्र हो, समाज परिवर्तनका लागि । उसलाई त सबैले सकेको सहयोग गर्नुपर्छ । उसको अभियानलाई होस्टेमा हैसे गर्नुपर्छ । उसले थालेको भोजविरुद्धको अभियानलाई गाउँ–गाउँ टोल–टोल, शहर–बजार मात्र हैन हरेक मान्छेको दिमागमा पसाइदिनुपर्छ । ताकी मानिसहरूले बुझुन् मृत्यु भोज गलत हो । यो देखावटी ढोँग हो । भोजले समाजलाई सम्य हैन झन्–झन् गरिब बनाउँदै लगेको छ । सामन्ती ब्राम्हणवादी प्रथालाई झन्–झन् बलियो बनाउँदै लगिरहेको छ । जबसम्म समाजबाट ब्राम्हणवादी सामन्ती चिन्तन हराउँदैन तबसम्म समाज प्रगतिशील बन्न सक्दैन । र, जबसम्म समाज प्रगतिशील हुन सक्दैन, समाज शिक्षित र सभ्य हुनै सक्दैन ।

यसैले जोसँग जे सीप छ त्यसैको माध्यमबाट र केही नहुनेहरूले पनि, आवाज–आवाजको माध्यबाट रामरिझनलाई सघाउनु आवश्यक छ । कवि, कलाकार, साहित्यकार, राजनीतिज्ञ, वकिल, पत्रकार, शिक्षक आदि सबैखाले पेशा–कर्मीदेखि सामाजिक अभियन्ताहरूको उनको अभियानमा साथ हुनुपर्छ । भोजलाई कुनैपनि नेताले अबदेखि मागीखाने भाँडो बनाउनु हुँदैन । यसमा सबै पढेलेखेकाहरू लाग्नुपर्छ । राज्य सरकारले कानून बनाएर नियन्त्रण अभियान थाल्नुपर्छ । नेपालको कूल जनसँख्याको ४ प्रतिशत यादहवरू छन् । उनीहरूका एक दर्जन जातीय संस्था छन् । र, सबै जातीय संस्थाहरू मिलाएर यादव महासभा बनाइएको छ । त्यो महासभाले यादव समुदायमा मृत्यु भोज अन्त भएको घोषणा गर्न सक्नुपर्छ । त्यसको सर्मथनमा सहयोगीमनहरू खोजिरहेका छन्, रामरिझन ।

प्रतिक्रिया

two × three =

Loading...