fbpx

खुकुलो बन्दै साउदी अरब : महिलाहरुले एक्लै विदेश यात्रा गर्न पाउने

काठमाडौं ।

साउदी अरेबियाका महिलाहरुले अब पुरुष अभिभावकको अनुमति बिनापनि विदेश यात्रा गर्न पाउने भएका छन् । महिलालाई लगाइएको प्रतिबन्धको अन्तर्राष्ट्रिय आलेचनापछि अन्त्य गरिएको साउदी सरकारले जानकारी दिएको छ ।

बिहीबार जारी शाही आदेश अनुसार २१ वर्ष पुगेका युवतीले पुरुष अभिभावकको सहमति नभए पनि राहदानी प्राप्त गर्नका लागि आवेदन दिन सक्ने सरकार समर्थक समाचार पत्र ओकाजले जनाएको छ ।

सरकारी निर्णय अनुसार २१ वर्ष पुगेका युवतीले स्वतन्त्र रुपमा विदेश यात्रा गर्न बाटो खुलेको छ । राहदानीका लागि आवेदन दिन र एक्लै विदेश घुम्न सक्ने व्यवस्था भएपछि अब भने साउदीका महिलालाई पुरुषसरह अधिकार दिएको बताइएको छ ।

यसअघि साउदी अरेबियामा महिलाले राहदानी प्राप्त गर्न र विदेश यात्रामा निस्कन पति, पिता वा पुरुष नातेदारबाट अनुमति लिनुपर्ने व्यवस्था रहेको थियो ।

महिला अधिकारकर्मीहरूले अभिभावक प्रणालीको विरूद्ध दशकौंसम्म अभियान सञ्चालन गर्दै आएका थिए । आदेशपछि साउदी अरेबियामा महिलाले जन्म, विवाह र सम्बन्धविच्छेद जस्ता व्यक्तिगत घटना दर्ता गर्ने ढोका समेत खुलेको छ । साउदी अरेबियामा रोजगारीसम्बन्धी नियमहरू समेत परिवर्तन गरिएको छ । अब रोजगारीकालागि समेत महिलाहरुले अधिकार पाएका छन् ।

राजकुमार मोहम्मद बिन सलमानले नेतृत्व गरेको व्यापक उदारीकरण अभियानको बीचमा यो निर्णय आएको छ । महिलालाई सवारी साधन चलाउने विषयमा विद्यमान प्रतिबन्ध समेत उनले खुकुलो बनाएका थिए । सन् २०१६ मा आफ्नो मुलुकको अर्थतन्त्र रूपान्तरण गर्ने भन्दै उनले जारी गरेको योजना अनुसार रोजगारीका क्षेत्रमा हाल २२ प्रतिशत रहेको महिलाहरूको सङ्ख्या सन् २०३० सम्ममा ३० प्रतिशत पु¥याइने लक्ष्य छ ।

प्रतिक्रिया

Loading...