fbpx

बक्राहाको विनास हेर्न पुगेका सांसदको एक दिन (फोटो फिचरसहित)

कोशी अनलाइन
विराटनगर,
मोरङको एक नम्बर क्षेत्र (क) बाट विजयी प्रदेश सांसद हुन कुशल लिम्बू । आफ्नो निर्वाचन क्षेत्रमा मात्र हैन सबैतिर विकासका लगि सहयोगी बन्ने उनको स्वभाव रहेछ । यसैले १२ र १३ असार मंगलबार उनी बक्राहा नदी नियन्त्रण अयोजनाका डिभिजनल इन्जिनियर ईश्वरीप्रसाद तिवारीलाई लिएर निस्किए बक्राहा नदी निरिक्षण गर्न ।

बिहान ८ बजे विराटनगरबाट निस्किएको सांसद लिम्बूको टोली सुनवर्षी नगरपालिका प्रमुख कालिकुमारलाल दास र रतुवामाई नगरपालिका प्रमुख रवीन राईलाई साथमा लिएर सुनवर्षी नपा ७ बरडंगा पुगे । त्यहाँ रहेको बक्राहको कटान र निर्माण भइरहेका बाँसका अस्थायी तटबन्ध (बेम्वो पर्कुमपाइन) हेरेपछि उनको टोली सोही ठाउँमा निर्माण भैरहेको झोलुंगेपुलको अवस्था हेर्न पुग्यो ।

त्यसपछि इन्जिनियरहरुसहितको टोली करिब २ किलोमिटर दक्षिणमा रहेको झपरतलस्थित नेपाल–भारत सीमा क्षेत्रमा बक्राहा नदी कटान र तटबन्धको अवस्था हेर्न पुग्यो । त्यहाँ स्थानीयसँग सोधुपुछ सकेपछि सांसद लिम्बूको टोली खाना खान रतुवामाईअन्तर्गतको सिजुवा बजार पुग्यो । यति खेरसम्म २ बजिसकेको थियो । खाजासमेत नखाएकोले भोकले खारिएका सबैले स्थानीय होटलमा पाकेको चिसो खाना खुब स्वादले खाए । त्यसपछि केही बेर पनि अलमल नगरी टोली पुनः गोविन्दपुर फर्कियो ।

गोविन्दपुरमा बक्राहाले कटान गरेर जोखिममा पारेको स्थानीय निरीक्षण गर्यो । इन्जिनियर ओझाले स्पर निर्माण बनाइरहेकाहरुलाई आवश्यक निर्देशन दिए । त्यसपछि जीपमा टोली बक्राहाको बाँध–बाँध उत्तर लाग्यो । रतुवामाईँमा खोला च्यानललाईज भइरहेको ठाउँ खोलाभित्रै पसेर निरीक्षण भयो । त्यसपछि केही जुनियर इन्जिनियरहरुलाई त्यहाँको काम निरीक्षण गर्न छाडेर सांसदको टोली २०७३ मा बक्राहाले कटान गरेको पथरीशनिश्चरे ५ जयनगरमा कटानको अवस्था निरीक्षण गर्न पुग्यो ।

यसपाली पनि बक्राहाले तटबन्ध कटान गरिसकेको रहेछ । तर, बक्राहा नदी नियन्त्रण आयोजनाले जोखिम आँकलन गरेर बनाएका तीनवटा स्परहरुले आफ्नो ज्यान दिएर तटबन्ध जोगाएछन् । तारजालीका तीन तटबन्ध नभएको भए यसपाली पनि जयनगरबाट बक्राहा गाउँ पसेर विनाश गर्ने पक्का रहेछ । त्यहाँबाट सांसद लिम्बूले बक्राहा खोलाभित्र बन्दै गरेका टापुहरु हेर्न भुलेनन् । चुरे क्षेत्रबाट बगेको नदी बक्राहाले हरेक वर्ष माटो र बालुवा बगाएर ल्याउँछ । जुन थुप्रिएर खोलाको सतह गाउँको जमीनभन्दा माथि भइसकेको छ । जसले गर्दा बर्सेनि खोलो डेढोमेढो हुँदै कटान गर्न उद्दत हुन्छ र गाउँ पस्छ । धनजनको क्षति गर्छ । खोला ठेक्का लगाउनेहरुले बर्सेनि अरु नै खोला झन्–झन् गहिरो बनाउन लगाएर ठेक्का लगाउँछन् ।

तर, सतह झन्–झन् बढ्दै गएको बक्राहामा कहिल्यै च्यानललाइज गराउन चासो देखाउँदैनन् । बरु राम्र्रो ठाउँहरुमा उत्खनन गर्न दिएर खोलाको रुप झन् भयावह बनाउँछन् । यतिखेर अपरान्ह्र ४ बजिसकेको थियो । दुर्भाग्यले चढेर गएको जीप पम्चर भयो । जीपलाई त्यहीँ छाडेर पथरी नगरपालिकाबाट जीप मगाएर सांसद र डिभिजन प्रमुख ईश्वरी ओझाको ओझाको टोली उत्तर सुन्दरी चौकमा पुग्यो ।

त्यहाँ बक्राहाले कटान गरेको तटबन्ध पनि तारजालीको स्परले नै जोगाएको रहेछ । त्राहीमामको अवस्थामा रहेका स्थानीयलाई इन्जिनियरहरुले आयोजना सक्रिय भएकोले अब दिगो व्यवस्थापन हुँदै जाने आश्वासन दिए । सांसद लिम्बूको टोली सोही ठाउँमा भएको एक घरको मराउमा सहभागी भयो । त्यहाँ सांसदलाई सबैले सबै बक्राहाको त्राहीमाम भएर बस्न नसक्ने भएको दीगो समाधान खोजिदिन आग्रह गरे । सक्दो गर्ने आश्वासन दिँदै सांसद लिम्बू अर्को स्थान हेर्न हिँडे ।

नगरपालिकाको भएको र कर्मचारी पनि भएकोले पहिले उनीहरुलाई छाडन नगरपालिका जीप पथरी बजार पुग्यो । पथरी बजारबाट उर्लाबारी मंगलबारेमा राजमार्ग दक्षिण सोल्टी खोलाले गरेको कटान निरीक्षण गर्न पुगे । त्यहाँ कटान निरीक्षण गर्न उर्लाबारी नगरपालिका उपप्रमुख लक्ष्मीदेवी भण्डारी पनि आएकी थिइन् । कटान निरीक्षण गरेर अवस्था बुझ्दा साँझको ६ बज्यो । मिरमिरे हुन लागेकोले हतारमा सांसद लिम्बूको टोली उपप्रमुख भण्डारीलाई लिएर उर्लाबारी १ लक्ष्मीझारमा भएको कटान निरीक्षण गर्न कुद्यो ।

पर्खँदा–पर्खँदा ढिलो भयो भनेर स्थानीयले चाँडो आउन हकारिरहेका थिए । सांसद लिम्बूले उनीहरुलाई आफू ढिलो हुनुको कारण बताएर चित्त बुझाए । साँझ झमक्क परिसकेको अवस्थामा बक्राहाको कटान देखाएर अवस्था बुझाउँदै स्पर निर्माण गराउने प्रतिबद्धता गरे । साँझ छिप्पिसकेको र ७ भन्दा बढी समय भैसहेकोले टोली बिदा मागेर फर्कियो । पथरीमा चियापान गरेर सांसद लिम्बूको टोली साँझ ९ बजेतिर लखतरान भएर विराटनगरस्थित आफ्नो बासस्थान आइपुग्यो ।

प्रतिक्रिया

Loading...