fbpx

‘घाँटीभन्दा तल त राम्री नै छे’ गीत विवादमा, के भन्छन् कलाकार ?

विराटनगर,
केही दिन अगाडि सार्वजनिक भएको गायक आर्जन पाण्डेले गाएको ‘घाँटीभन्दा तल त राम्री नै छे’बोलको गीत चर्चामा आएको छ । चर्चाको कारण गीत राम्रो भएरभन्दा पनि महिलाको शरीर र सुन्दरतामाथि मजाक उडाएर विवादमा तानिएकोले भएको हो ।

गीतको भिडियोलाई मन पराए पनि गीतको शब्दलाई भने धेरैले मनपराउन सकेका छैनन् । आर्जेनले गएको गीतको शब्द प्रतीक पौडेलले लेखेका हुन् । गीतमा गायक आर्जनका साथ अभिनेत्री रीमा विश्वकर्माको प्रस्तुति रहेको छ । आफूलाई बौद्धिक छविकी अभिनेत्रीका रुपमा उभ्याउँदै आएकी तथा नारी स्वतन्त्रताको बिषयमा थुप्रै पटक अभिव्यक्त गरेकी रीमाले अभिनय गरेको कारण रीमाको समेत आलोचना भएको छ । ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको गीतको शब्दलाई लिएर अहिले ठूलो आलोचना भइरहेको छ ।

उक्त आलोचनामा दर्शक मात्र नभएर संगीतकर्मीदेखि लिएर ठूला–ठूला कलाकारले पनि आपत्ति जनाइरहेका छन् । गीतमा महिलालाई निकै होच्याइएर देखाइएको छ । यस्तैमा निर्माता तथा अभिनेता दीपकराज गिरीले ‘गीत लेखेपछि पूरै लेख्या भए हुने, आज घाँटीभन्दा मुनि मात्रै आयो । भोलि नाइटोभन्दा मुनि मात्रै आउला । त्यसपछि कम्मर, हैट । भनेर ब्यङ्ग्य गर्दै स्ट्याटस लेखेका छन् ।

यस्तै, कलाकार निर्मल शर्माले ‘बजारमा नयाँ गीत आएको रहेछ, गीतमा पुरुषले महिलालाई भन्छ ‘घाँटीभन्दा तल त राम्री नै छे । भगवानसँग कामना गर्छु यो गीत मेरा छोराहरुले सुनेर नगाइदिउन र श्रीमती, ममी, दिदी, बहिनीको अगाडि मैले लाजले मुख छोप्न नपरोस् भनेर लेख्दै आफ्नो फेसबुकको वालमा सेयर गरेका छन् । गीतको आलोचना सुरु भएसंगै रीमाले यस्तो गीतमा कसरी अभिनय गर्न मानिन् ? भन्ने तर्क पनि सुरु भएको छ ।

रीमाका साथै अभिनेत्री केकी अधिकारी समेत आलोचित बनेकी छिन् । केकीले यो गीतको प्रमोशनका लागि टिकटक बनाएर सेयर गरेपछि उनी पनि आलोचनाको सिकार भएकी छिन् । गायक आर्जनसँग केकीको प्रेम रहेको कारण केकीले आर्जनको यो गीतमा केहि भन्न नसकेको अनुमान गरिएको छ । आर्जनले यो एक युवा लक्षित गीत भएको र गीतले पूरै कथा बोकेको बताएका छन् ।

प्रेम सम्बन्धमा धोका पाएका युवाहरुको कुरा गीतले देखाउन खोजेको भन्दै गीतका शब्द केही आपत्तिजनक नरहेको र आफूले उक्त गीतलाई पश्चिमी गीतहरुसँग गीत दाँजेर हेरेको बताएका छन् । आर्जनको यो छैठौँ गीत हो । उनले यसभन्दा अगाडि पनि सामाजिक विषयवस्तुमा आधारित गीत गाएका छन् ।

प्रतिक्रिया

Loading...