fbpx

विराटनगर अध्यागमनमा सेवा लिन सेवाग्राही पुगेनन्

 कोशी अनलाइन / विराटनगर, १६ साउन

पर्यटन व्यवसायीहरुको निरन्तरको मागपछि विराटनगर–जोगबनी नाकामा अध्यागमन कार्यालय स्थापना भएपनि सेवा लिने सेवाग्राही चाँही पुगेका छैनन् । अध्यागमन स्थापना भएको जानकारी नहुँदा र भारततर्फ पनि कार्यालय नहुँदा विराटनगर शाखामा सेवा लिन सेवाग्राही नपुगेका हुन् ।

पर्यटन व्यवसायीहरुको निरन्तर मागपछि सरकारले २०७५ पुसदेखि विराटनगर–जोगबनी नाकाका लागि अध्यागमन कार्यालय स्थापना गराएको हो । तर, कार्यालय बसेको जानकारी स्थानीय पर्यटन व्यवसायीहरुले समेत पाएका छैनन् ।

अर्कोतिर नेपाल सरकारले आफ्नोतर्फ अध्यागमन कार्यालय स्थापना गरे पनि पारी जोगबनीमा भारत सरकारले अध्यागमन कार्यालय स्थापना गराएको छैन । नाकाबाट आवत–जावत गर्ने पर्यटकहरुले दुवैतर्फ कागजपत्र देखाएर छाप लगाउनुपर्ने तर जोगबनीतर्फ अध्यागमन कार्यालय नहुँदा सास्ती हुने भएकोले पर्यटहरुले अरु नै नाका रोज्ने गरेका छन् ।

अध्यागमन कार्यालय विराटनगरबाट हालसम्म जम्मा ५ जनाले मात्र सेवा लिएको निमित्त कार्यालय प्रमुख नारायणप्रसाद पौडलले बताए । सेवा लिन ५ जना सेवाग्राहीहरुमा पनि विदेश जाने नेपालीहरु मात्र छन् । पर्यटकका रुपमा एक जना पनि विदेशीले अध्यागन कार्यालयबाट सेवा लिन पुगेका छैनन् । सेवाग्राही नआउँदा कार्यालयका कर्मचारीहरु हाजिर गरेर तलब पकाइरहेका छन् । आठ जना कर्मचारीको दरबन्दि कायम गरेर विराटनगरमा अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ । तर, उक्त कार्यालय अलग्गै आफ्नो घर खोजेर सीमा क्षेत्रमा बस्नुको साटो जिल्ला प्रशासन कार्यालय मोरङको एउटा कोठामा गुपचुप बसेको छ ।

आफुहरु नाकामा सेवा दिन आइसकेको भनेर अध्यागमन कार्यालयले सरोकारवालाहरुसँग भेटघाटसमेत नगरेकाले सेवाग्राहीहरु सेवा लिन नपुगेको पर्यटन व्यवसायी रमेश नेपालीले बताए । निमित्त प्रमुख पौडेलले सीमा क्षेत्रमा घर फेला नपरेकोले प्रशासन कार्यालयको साँघुरो कोठामा बस्न बाध्य भएको बताए । उनले सीमा नाकामा बस्नका लागि घरका खोजी भइरहेको बताउँदै चाँडै विराटनगर आसपासका पर्यटन व्यवसायीहरुलाई सहभागी गराएर अन्तक्र्रिया गर्ने योजना रहेको सुनाए ।

व्यस्त विराटनगर जोगबनी नाकामा अध्यागमन कार्यालय नहुँदा पर्यटकहरुलाई आवत–जावतमा समस्या भएको भन्दै स्थानीय पर्यटन व्यवसायीहरुले अध्यागमन कार्यालय स्थापना गराउन पटक–पटक सरकारसँग माग गर्दै आएका थिए । नाकामा अध्यागमन कार्यालय स्थापना भएपछि नाकाबाट आवत–जावत गर्ने पर्यटकहरु बढ्ने विश्वास पर्यटन व्यवसायीहरुको थियो । भिसामा छाप लगाउने र पर्यटकको रेकर्ड राखेर सिफारिस गर्ने अध्यागमन पोष्ट नहुँदा विराटनगर–जोगबनीबाट पर्यटक आवत–जावत हुन नसकेको गुनासो पर्यटन व्यवसायीहरुको थियो । एक नम्बर प्रदेशको राजधानी विराटनगरमा जोगबनी नाकाबाट भारतको ठूला शहरहरु दिल्ली, कलकत्ता, पटना जानका लागि रेल र बस सेवा सहज रुपले सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया

Loading...