fbpx

प्रदेश २ का बाढी डुवान प्रभावितले अझै राहत पाएनन् : मुख्यमन्त्री राउत

काठमाडौं ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशका बाढी र डुवानबाट प्रभावितहरुलाई अझै राहत तथा पुनःस्थापना गर्न नसकिएको बताए ।

उनले २ नम्बर प्रदेश बाढी र डुवानबाट ८ वटै जिल्ला प्रभावित बनेका भन्दै अझैपनि राहत नपुगेको गुनासो गरेका हुन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश २ सरकारले आफ्नो क्षमता र स्रोतले भ्याएसम्म तुरुन्तै राहत पुर्याएको सुनाए ।

अहिले पनि प्रदेश सरकार प्रभावित जिल्लामा पुगेर राहत पुर्याउने काममा लागिरहेको राउतले सुनाए । उनले अहिलेपनि राहत वितरण गर्न धेरै बाँकी र कतिलाई राहत पुग्यो, कतिलाई पुग्यो भन्ने समेत थाहा नभएको बताए ।  साक्षात्कारमा बोल्दै उनले नेपालले आफ्नो तर्फबाट बनाउनुपर्ने तटबन्ध लगायतका कामहरु नगरेको कारण बाढि तथा डुवानको समस्या आएको स्पष्ट पारे । उनले लालबकैया, बाग्मती, रातु, कमला र त्रियुगा नदी आसपासमा तटबन्ध बनाउन नसकिएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सहयोगको आश्वासन दिएको मुख्यमन्त्री राउतले सुनाए । राहत तथा पूर्नस्थापनाको लागि प्रदेश सरकार गम्भिर रहेको सुनाउँदै आजमात्रै आफूले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको राउतले सुनाए ।

चुरे दोहनका कारण अहिलेको समस्या आईपरेको उनको टिप्पणी छ । उनले भने,‘लोडर, डोजर, टिपर लगाएर चुरे उत्खनन भएको छ । त्यसका कारण पहिरो गएको छ । अब पनि दिर्घकालिन योजना बनाएर समस्याको हल गर्न सकेनौं भने स्थिति भयावह हुन्छ । बरु, चुरे दोहन रोक्ने प्रोजेक्लाई के नाम दिने हो त्यो बरु सोच्नुपर्छ ।’ तर, यसको लागि संघीय सरकारले नै पहल गर्नुपर्ने उनको भनाई छ ।

भर्खरै एक करोड २७ लाख बराबरको खाद्यान्न आफ्नै उपस्थितिमा रौतहटमा वितरण गरिएकोपनि उनले जानकारी गराए । अन्य जिल्लामा पनि खाद्यान्न वितरणको काम भैरहेको राउतले जनाए । आफूले प्रधानमन्त्री ओलीसँगको भेटवार्तापनि तटबन्धहरुको म्यापिङको लागि आग्रह गरेको सुनाए । त्यस्तै उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार तथा राहतमा ठूलो भूमिका निर्वाह गरेको भन्दै खुलेर प्रशंसा गरे । मुख्यमन्त्री राउतले अहिले २ नम्बर प्रदेशका अधिकांश पुल र रोडहरु समाप्त भएको सुनाए ।

उनले चुरे दोहनलाई रोक्नको लागि प्रदेश सरकारले कडाईका साथ कार्यक्रम ल्याउने पनि जनाए । उनले संघीयताको मूल मर्म र भावनाअनुसार सबै निकाय चल्नुपर्नेमा जोड दिए । उनले भने,‘संघले नीति तथा नियम निर्माण गर्ने र निर्देशन दिने हो । सबै निकाय अब नयाँ प्रणालीअनुसार अघि बढ्नुपर्छ । हाम्रो प्रदेशकै कुरा गर्नुहुन्छ भने पनि अहिलेपनि २, ३ मन्त्रालयमा सचिव अनुपस्थित छन् ।’

फरक प्रसँगमा उनले तत्काल प्रदेश नम्बर २ को मन्त्रिमण्डल पूनर्गठन नहुने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

Loading...