fbpx

अभिनेत्री ऋचा शर्मासँगको रमाइलो ‘पुरुषवार्ता’

नेपाली सिने क्षेत्रमा अभिनेत्री ऋचा शर्मालाई उत्कृष्ट कलाकारका रुपमा हेर्ने गरिन्छ । मानिसले आफ्नो जागिर सकेसम्म उत्कृष्ट रुपमा गर्नुपर्छ भन्ने धारणाका साथ आफुले गर्ने हरेक प्रोजेक्टमा सकेसम्म राम्रो गर्ने प्रयास मात्रै गरेको ऋचाले बताएकी छिन् । ऋचाले दर्जनौं चलचित्रमा काम गरिसकेकी छिन् । त्यसमध्ये केही उत्कृष्ट छन् भने केही फिल्महरु असफल पनि भएका छन् । फिल्म असफल भएपनि उनको अभिनयलाई दर्शकहरुले निकै रुचाउने गरेको पाइन्छ ।

अभिनेत्री ऋचा शर्मा संग गरिएको ‘पुरुषवार्ता’मा उनले आफ्नो जीवनमा मनपराएका, नमनपराएका, सहयोगी, सबै भन्दा धेरै याद गरिएको व्यक्तिहरुको बारेमा बताएकी छिन् । उनले आफ्नो जीवनमा पहिलोपटक पुरुष भनेर याद गरेको व्यक्ति र आफ्नो जीवनमा विशेष प्रभाव पारेको पुरुष आफ्नो बुवालाई ठान्छिन् । जीवनमा धेरै सफल भएर जतिसुकै धनी भएपनि देखावटी नगरिकन सामान्य किसिमले जीवन बिताउन बुबाबाट सिकेको उनले बताएकी छिन् ।

उनलाई घरको कान्छो पुरुष सदस्य रहेको आफ्नो दिदीको छोराको सबै भन्दा धेरै माया लाग्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आफ्ना जीवनका २, ३ जना पुरुषहरु देखि एकदम घृणा लाग्ने बताउदै उनीहरुको नाम भने खुलाउन चाहिनन् । उनले करिब १० वर्ष अघि, एकजना व्यक्तिलाई राम्रैसँग चड्कन हानेको समेत खुलासा गरिन् ।

पुरुषहरुको कल्पना गरेर बस्ने बानी नभएपनि शाहिद कपुर, आमिताभ बच्चन, पारश खड्का सपनामा आउने गरेको बताइन् । त्यस्तै संसारमा सबैभन्दा हृयाण्डसम लाग्ने पुरुषमा हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियो, मनपर्ने पुरुष नेतामा गगन थापा, राम्रो ड्रेससेन्स भएको पुरुषमा अनुप विक्रम शाही, सबैभन्दा मनपर्ने अभिनेतामा विपीन कार्की रहेको र बिपिनसँग काम गर्ने इच्छा ब्यक्त गरेकी छिन् ।

उनले आफु ११ कक्षा पढ्दा डेट गएको कुरा बताउदै उक्त व्यक्तिको नाम भने खुलाउन चाहिनन् । सँगै पढ्ने सिद्धान्त नाम गरेको साथी ले पहिलो पटक लभलेटर दिएको बताएकी छिन् । यसका साथै, ११–१२ पढ्दा एकजनाले रगतले लभ लेटर लेखेको कुरा कहिल्यै नबिर्सिने बताएकी छिन् । नाम भन्ने हो भने बर्बाद हुन्छ भन्दै पहिलो पटकको प्रेममा आफुले धोका दिएको स्वीकारेकी छिन् ।

केहि वर्ष अगाडी उनलाई एकजना अस्ट्रेलियाको युवकले ‘वील यू म्यारी मी’ भनेर प्रस्ताव गरेको पनि उनले बताइन् । जीवनमा धेरै सहयोगी पुरुष भेटे पनि विशाल भण्डारीले बढी नै सहयोगी लाग्ने बताएकी छिन् । पहिलो किस गरेको पुरुषको नाम नखुलाई धेरै वर्ष अघिको कुरा हो भनेर मज्जाले हसेकी थिइन् । केही वर्ष अघि मलाई भेट्न आएनौ भने यसो उसो गर्छु भन्दै धेरै धम्की समेत आएको उनले बताइन् ।

अत्ति भएपछि प्रहरीमा उजुरी दिएर प्रहरीले ठिक पारेपछि उक्त व्यक्तिले कहिल्यै सम्पर्क नगरेको खुलाइन् । उक्त व्यक्ति आफु भन्दा धेरै कान्छो रहेको उनले भनिन् । जस्तो मान्छेसँग बिहे गर्न मन थियो, त्यस्तै मान्छेसँग चाँडै बिहे हुने र १–२ महिनामा आफ्नो प्रेमीको बारेमा खुलासा गर्ने उनले बताएकी छिन् । उनले अहिले डेट गरिरहेका पुरुषको गतिलो सेन्स अफ हृयुमर भएको पनि थपिन् । उनले आवश्यक समय आएपछि आफुले बिहे गर्ने बताएकी छिन् ।

-कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

Loading...