fbpx

क्लोथ बैंकिङ र चुनौती !

सवीन घिमिरे
केही दिनअघि काठमाडौँमा हन्ड्रेडस ग्रुपले शुरु गरेको क्लोथ बैंकिङ्ग अभियानलाई विराटनगर, इटहरी तथा अन्य केही ठाउँहरुमा अनुसरण गरियो । यस बैंकको आधारभूत उद्देश्य सरल छ । यसले त्यस्तो व्यक्तिहरूबाट कपडा संगकलन गर्दछ जुन उनीहरूलाई अब आवश्यक पर्दैन र यी लुगाहरू गरीब र अभाव भएका मानिसहरूलाई वितरण गर्दछ ।

नेपालमा यो अभ्यास नौँलो भए पनि युरोप, अमेरिका तथा भारतजस्ता अन्य मुलुकहरुमा यो अभियान दशकौ अघिदेखि शुरु गरिएको हो । नेपालमा पनि तीन वर्षअघि चर्चित खेल साइट ‘गोल नेपाल डटकम’ले हेल्प नेपाल नेटवर्कको सहकार्यमा यस कार्य सम्पन्न गरेको थियो । जसमा, फुटबलप्रेमीहरूमार्फत् कपडाहरू संकलन गरेर जाडो महिनाको लागि न्यानो कपडा वितरण गरेको थियो । त्यसको लगत्तै यस संस्थाले मितेरी फाउण्डेसनमार्फत् चेपाङ जातिलाई कपडा वितरण गर्नका साथै दुई सयभन्दा बढी पुर्नप्रयोग गर्न सकिने कपडाहरू कान्ति बाल अस्पताल परिसरमा बच्चाहरू वितरण गरिएको थियो ।

अनावश्यक कपडा दान गर्नाले आजको समाजमा केही कमजोर व्यक्तिहरूलाई मद्दत गर्दछ भन्ने सन्देशका साथ यस अभियानमा नेपाली युवाहरु लागि परेका छन् । यो एउटा उदाहरणीय तथा गर्व गर्न लायक कार्य होर यसमा सहयोग गरिरहेका युवाहरुलाई हामीले धन्यवाद दिनै पर्छ । गरिब परिवार र संकटमा परेका मानिसहरूलाई सहयोग पुर्याउन सक्छ भन्ने विश्वासका साथ स्थानीय समुदायले पनि कपडा सहायता कार्यक्रमलाई समर्थन गरिरहेको छ ।

गरिब तथा निमुखाप्रति दया गर्नु पक्कै पनि नराम्रो कुरा होइन । तर, यसमा धेरै अनुसन्धानको आवश्यक अवश्य छ । अनुसरण गरेकै भरमा कुनै कार्य तथा अभियानले फाइदा गराउँछ भनेर सोच्नु गलत हुन सक्छ । यस कपडा सहायता कार्यक्रममा पनि केही चुनौतीहरु अवश्य छन । केही दिनको लागि गरिएको यस्ता किसिमको अभियानले केही व्यक्तिहरुलाई केही समयको लागि सहायता त गर्ला तर अब हामीले स्थायी समाधानको बाटोहरु खोज्ने बेला आएको छ ।

नेपालमा अहिले युवाहरुमा समाजसेवाको फेसन जस्तै भएको छ । फेसबुकमा स्थापना भएका ग्रुपहरुमा त समाजसेवा प्रतिस्पर्धा जस्तै भएको छ । सरसफाइ, रक्तदान, खाद्य तथा कपडा वितरण जस्ता कयौँ समाजसेवाका कार्यहरुमा युवाहरु लागेका छन् । यसबाट हामी नेपालीहरुको दयाभाव प्रकट हुनु असल कुरा होर तर यहाँ भएका समाजसेवाहरु धेरैजसो अनुसन्धान र अध्ययनबिहीन छन् । लहैलहैकै भरमा गरिएका कतिपय समाजसेवाले मानिसलाई झन् कमजोर बनाएको छ । केही कार्यले केही हदसम्म केही सहायता गरेकै छ तर यसरी क्षणिक किसिमको समाजसेवाले दीर्घकालीन उपायहरु ओझेलमा परेको छ । हामीले दीर्घकालीन उपायहरु खोज्न जरुरी छ । हाम्रा मानिसहरुलाई दीर्घकालीन रुपमा आफैँ सक्षम बनाउने अभियानहरु ल्याउनु पर्छ । विपन्न परिवारहरुलाई आर्थिक रुपमा सक्षम बनाउने कार्यक्रमहरुमा जोड दिन सरकार, नागरिक तथा सरोकारवालाहरुको अहम भूमिका हुने गर्दछ ।

यस कपडा वितरण अभियानका लागि पनि अनुसन्धान र अध्ययनको आवश्यक छ । यहाँ विपन्न वर्गहरु प्रशस्त छन् । वास्तवमा, किन हामी केवल एक कपडा बैंक सोध्छौं । हामीसँग एउटा आवश्यक वस्तु बैंक पनि हुन सक्छ जसमा मानिसहरूले भाँडाकुँडाहरू, फर्नीचर, किताब, कापी आदि दान गर्न सक्दछन् । यी बैंकहरूले त्यसपछि खाँचोमा परेकाहरूलाई वितरण गर्ने जिम्मेवारी लिन सक्दछन् । तर, यी सबैकुराहरु गर्नभन्दा पहिला केही अनुसन्धान र अध्ययन आवश्यक छ ।

यसबाट कति व्यक्ति तथा कस्ता किसिमका व्यक्तिहरुलाई लाभान्वित गराउने भन्ने निर्क्यौल गर्नु पर्छ । कति ठाउँहरुमा त एकै व्यक्तिले धेरैपटक धेरै कपडाहरु लाने गरेको पाइएको छ । अनि कतिपल्ट चाहि कपडा खाचो नभएका व्यक्तिहरुले पनि लोभले गर्दा यस्ता बैंकबाट कपाडा लाने गरेका छन् । साँच्चैकै आवश्यक परेकाहरुको लागि यो सेवा पहुँच भएको छैन । यस्तो क्रियाकलापहरुले गर्दा यो अभियान अर्थहिन हुन सक्ने सम्भावना बढेको छ । अर्कातिर, कपडा संकलन गरेर वितरण गर्नु मात्र ठूलो कुरा होइन तर सेवा आर्जन गर्ने मानिसहरुको स्वास्थ्य सुरक्षा पनि एउटा चुनौती हो । यहाँ संकलन भएका कपडाहरु प्रायः सबै मानिसहरुले प्रयोग गरी सकेका हुन्छन् ।

सबैले धोएर सफा गरेर ल्याएका हुँदैनन् । यसरी, धोएर सफा नगरिएको कपडा उपभोग गर्दा छालासम्बन्धी रोगहरु फैलन सक्ने सम्भावना हुन्छ । त्यसैले यस्तो किसमको जोखिमलाई रोक्नको लागि संग्कलनकर्ताले नै संकलित कपडाहरुलाई सफा गरेर दिनु पर्छः र साथै फाटेका, लाउने नहुने कपडाहरु वितरण गरिनु हुँदैन यसले गर्दा नैतिकतामा आँच पुग्ने गर्दछ । यस किसिमको तयारीका लागि केही स्वयम्सेवकहरुको भूमिका महत्वपूर्ण हुन्छ । धरै कपडाको लागि लुगा धुने मेशिन, आइरन, केमिकल तथा अन्य उपकरण आवश्यक पर्न सक्छ । कपडा सधैँ बाटोको छेउमा केही र्याकहरुको साहयतामा राखेर केही युवाहरुले हरसमय कुरेर सम्भव हुँदैन । यसको लागि स्टोरको आवश्यक पर्छ । कपडा संकलन गर्ने समय, दिन र वितरण गर्ने समयको तालिका बनाएर अगाडि बढ्न सके सजिलो हुन सक्छ ।

हेर्दा सजिलो देखिएपनि यसलाई दीर्घकालिन रूपमा अगाडि बढाउन केही कष्ट गर्न नै पर्छ र अध्ययन, अनुसन्धान र सुव्यवस्थित ढंगले यस्ता अभियानहरु संचालन गरे विपन्न वर्गमा केही राहत मिलेपनि यहि नै विपन्नता निर्मुल गर्ने उपाय चाहिँ अवश्य होइन । विपन्नता निर्मुल गर्ने हो भने पीडित वर्गहरुमा आर्थिक क्रान्तिको आवश्यक छ । उनीहरुलाई आर्थिक रूपमा सक्षम बनाउने किसिमका सीप, तालिम र रोजगारको अवसरहरु सृजना गर्ने किसिमका कार्यक्रमा तथा अभियानहरुलाई ल्याउने हो भने यसले व्यक्तिकको आर्थिक उन्नतिमा मद्धत गर्न सक्दछ, जसले गर्दा विपन्न वर्गहरुलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउने गर्दछ । यसले मानिसहरुमा हरेक समस्याहरुको समाधान स्वयम् गर्ने सक्षमता विकास हुन्छ । जसले प्रतक्ष तथा अप्रतक्ष रुपमा व्यक्ति, परिवार र देशको समृद्धिमा सहयोग पुर्याउँदछ र सबैजना मिलेर दीर्घकालीन समृद्धिको उपायहरु खोजौँ । तथापि, यस कपडा वितरण कार्यक्रमले केही व्यक्तिहरुमा साहयता पुर्याइरहेको कारण यसका अभियानाकर्ताहरुमा हार्दिक नमन !

प्रतिक्रिया

Loading...