fbpx

सफल पार्टनर्सका व्यवस्थापक तिवारीसंग व्यबसायिक सफलताका विषयमा युवाहरुको छलफल

विराटनगर ।

विराटनगरमा अङ्ग्रेजी महिनाको अन्तिम बिहीबार हुने “लास्ट थर्सडे” कार्यक्रममा सफल पार्टनर्सका व्यबस्थापक आशुतोष तिवारीले युवाहरुसंग व्यबसायिक सफलताका विषयमा छलफल गरेका छन् ।

होटेल नमस्कार, नेपलिज यंग इन्टरप्रेनस फोरम बिराटनगर, बिराटनगर इन्टरनेसनल कलेज, मकालु टेलिभिजन, विकल्प एन अल्टरनेटिभ तथा मल्ल इन्टरप्राइजेजले संयुक्त आयोजना गरेको कार्यक्रममा विराटनगरका युवाहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा तिवारीले युवाहरुसंग अनुभव साटासाट गर्दै युवाहरुको प्रश्नको उत्तर पनि दिए । उनले आफू कुनै व्यवसायी घरानाबाट नभएको कारण विभिन्न सङ्घ संस्थामा देश विदेशमा काम गरेको अनुभव र सिकाइको कारण हालको अवस्थामा आइ पुग्न सफल भएको बताए ।

हिमाल मिडिया र सेर्पा एडभेन्चर गियर नेपालमा प्रमुख कार्यकारी निर्देशकको रूपमा तथा वाटर एड नामक संस्थामा कन्ट्री रेप्रीजेंटेटिभको रूपमा कार्य गरिसकेका तिवारीले उद्यमशील हुनको निम्ति सृजनशील र कल्पनाशक्तिले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले हाल नेपालको शिक्षाले जाँचमा पास गराउन र असल विद्यार्थी बनाउन सहयोग गरे पनि, संसार हाँक्न सक्ने उद्यमी उत्पादन गर्न भने पर्याप्त नभएको बताए ।

विभिन्न विधामा सफल हुनको निम्ति किताबी ज्ञानसँगै काल्पनिक क्षमताको पनि त्यति नै भूमिका रहने तथा उद्यमी हुन कल्पना गर्न सक्ने, जिज्ञासु र प्रश्न गर्ने गुण आवश्यक हुने कुरामा जोड दिए । उद्यमी हुन चाहने व्यक्तिले आफूलाई जति थाहा छ त्यहाँबाट सुरुवात गर्नुपर्ने, मलाई आउँदैन भनेर पछि हट्न नहुने, रुचि भएको क्षेत्रमा समय दिने, आफ्नो विधामा ज्ञान भएको मान्छेलाई भेट्ने, आफ्नो नेटवर्कलाई फराकिलो बनाउने, प्रश्न गर्ने, जानकारी हासिल गरी बौद्धिक विकास र आत्मविश्वास बढाउन तर्फ लाग्न आवश्यक रहेको जानकारी आशुतोष तिवारीले गराए ।

विराटनगरको होटेल नमस्कारमा आयोजित कार्यक्रमलाइ विकल्प एन अल्टरनेटिभका निर्देशक वसन्त अधिकारीले गरेका थिए भने, कार्यक्रमको औचित्य बारे होटेल नमस्कारका निर्देशक युनेश श्रेष्ठले प्रकाश पारेका थिए ।
कार्यक्रमको अन्त्यमा नेपलिज यंग इन्टरप्रेनस फोरम बिराटनगरका सचिव राघव कोइरालाले कार्यक्रमका वक्ता आशुतोष तिवारीलाई प्रशंसा पत्रले सम्मान गरेका थिए ।

प्रतिक्रिया

Loading...