fbpx

पहिरोमा परी ज्यान गुमाउनेको संख्या १३ पुग्यो, साढे ३०० घर प्रभावित

गुल्मी
पहिरोमा परी ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १३ पुगेको हो भने साढे ३०० घर प्रभावित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपक बस्नेतका अनुसार पहिरो पन्छाउने क्रममा आज बिहान वडा नं ४ लिम्घाको भिरकुनाका आठ वर्षीया तारा विकको शव फेला परेपछि ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको हो । पहिरोमा बेपत्ता लुम्पेक, सिङ्दीकी ४० वर्षीया माया विक र उनका छोरा १५ वर्षीय बबी विक तथा लिम्घा भिरकुनाका छ वर्षीय सुमन विकको शव बुधबार फेला परेको थियो ।

लिम्घामा मङ्गलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छली विक र सिवानी विक तथा ठूलोलुम्पेकमा तिलकुमारी तरामुमगर र उनका छोरा दर्शन तरामुमगर तथा दुर्गाबहादुर सिञ्जालीको शव फेला परेको थियो । पहिरोमा पुरिएर घाइते भएका ठूलो लुम्पेकका करिष्मा तरामु र धनी तरामुलाई दुई दिनपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ ।

उनीहरुको टाउकामा चोट लागेकाले थप उपचारका लागि काठमाडौँ पठाउनु परेको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । पहिरोका कारण घरबारविहीन भएकालाई सामुदायिक विद्यालयमा राखिएको उनले बताए । उनले भने, ‘झण्डै साढे ३०० घर प्रभावित छन् । एक गाउँबाट अर्को गाउँमा जाने अवस्था छैन ।’

वडा नं ३ सिङ्दी गाउँ नै जोखिममा परेपछि गाउँलेलाई श्री राम माविमा राखिएको छ । उनीहरुलाई विद्यालयमा खाने बस्ने व्यवस्था मिलाइएको शिक्षक लक्ष्मी पाण्डले जानकारी दिए । उनका अनुसार सत्यवती गाउँपालिका वडा नं १ का ४ घरमा पहिरोले क्षति पु¥याएको छ । पहिरो प्रभावित क्षेत्रमा सडक अवरुद्ध भएका कारण बुधबार साँझ हेलिकप्टरमार्फत २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठूलो लुम्पेकमा पु¥याइएको छ ।

पहिरो प्रभावित क्षेत्रमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालित छन् । कच्ची सडक भएका कारण राहतका सामग्री पु¥याउन कठिनाइ भएको छ । रासस

प्रतिक्रिया

19 − 3 =

Loading...