fbpx

नेपथ्यले ल्याए ‘रातो र चन्द्र सूर्य’ म्यूजिक भिडियोमा (भिडियोसहित)

विराटनगर,
कवि गोपालप्रसाद रिमालले राणाकालिन समयमा लेखेको कविता ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ गीतलाई केही दशकपछि म्युजिक भिडियोमा उतारिएको छ । कविता बनेको लामो समयपछि यस कवितालाई गायक अम्बर गुरुङले वीर रसमा संगीत भरेर राष्ट्रिय गीतका रुपमा तयार पारेका थिए । उतिबेलै गायक गुरुङ र गायक फत्तेमानले आफ्नो स्वर समेटेर रेडियो नेपालमा यस गीतलाई रेकर्ड गराएका थिए ।

पछिल्लो समय देखि हाम्रो नेपाली झण्डाको वर्णन गर्दै यसको महिमा गाउने क्रममा हाम्रो गौरवमयी इतिहास र गाथा बयान गर्ने यस गीतलाई लोक रक ब्याण्ड नेपथ्यले विभिन्न कन्सर्टहरुमा गाउँदै आएको छ । नेपथ्यले यस गीतलाई रेडियो नेपालका पुराना श्रोतामा मात्र सीमित नराखेर नयाँ पुस्तामा ल्याएका छन् । युवा पुस्तमा यस गीतको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको देख्न सकिन्छ ।

सार्वजनिक गरिएको यस गीतको म्यूजिक भिडियोमा नेपथ्य ब्याण्डकै लाइभ कन्सर्टका दृश्यहरुलाई समेटिएर प्रस्तुत गरिएको छ । सन् २००२ यता ब्याण्डका हरेक जसो कन्सर्टमा नछुटाइकन यो गीत प्रस्तुत हुने गरेको छ । नेपथ्य ब्याण्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले उक्त गीत गाउँदा दर्शकहरुमा देखिएको ब्यापक उत्साह र उर्जाले नै शब्दको शक्ति देखाउने भएकाले गीतको भिडियोमा कन्सर्टका दृश्यहरु राख्ने निर्णय लिएको बताएका छन् ।

नेपथ्य ब्याण्डले संगीतकार एवं गायक अम्बर गुरुङबाट यस गीतलाई गाउने आधिकारिक अनुमति प्राप्त गरेपछि केहि वर्षअघि यस गीतलाई तयार गरेर नेपथ्यको एल्बम ‘मेरो देश’ मा समेटिएको थियो । साथै, नौ वर्षअघि नेपाली सेनाले यस गीतलाई ‘सैनिक गीत’ बनाए पछि प्रत्येक जस्तो औपचारिक कार्यक्रममा यो धुन बजाएको सुन्न सकिन्छ ।

प्रतिक्रिया

Loading...