fbpx

करिब १२ वर्षपछि लेखिकाको रूपमा चलचित्रमा कमब्याक गर्दै शिल्पा

विराटनगर,
एक समयमा बलिउडमा निकै नाम कमाउन सफल भएकी अभिनेत्री शिल्पा शेट्टी कुन्द्रा अहिले लामो समयदेखि चलचित्रबाट टाढा छिन् । सन् १९९३ मा फिल्म ‘बाजीगर’बाट डेब्यू गरेकी शिल्पाले धेरै हिट फिल्महरु दिसकेकी छिन् । २००७मा रिलिज भएको उनको पछिल्लो चलचित्र पछि शिल्पा टेलिभिजनका डान्स रियालिटी शोजको निर्णायक रूपमा व्यस्त रहन थालेकी थिइन् ।

करिब १२ वर्ष पछि अब भने फिल्ममा काम गर्नका लागि शिल्पा राजी भएको खबर सार्वजनिक भएको छ । विभिन्न भारतीय सञ्चार माध्यमहरुका अनुसार १२ वर्षको लामो अन्तरालपछि शिल्पा अब ठुलो पर्दा मार्फत कमब्याक गर्ने भएकी छिन् । शिल्पा छिट्टै नै गायक तथा अभिनेता दिलजीत दोसांझ र यामी गौतमको मुख्य अभिनय भएको फिल्ममा निकै महत्वपूर्ण भूमिकामा देखिने भएकी छिन् ।

प्रेम कथामा आधारित रहेको यस फिल्ममा शिल्पाले एक लेखिकाको भूमिका निर्वाह गर्ने भएकी छिन् र यो फिल्मलाई उनकै नजरबाट देखाइने भएको छ । हारुन मिर्जाको निर्देशनमा तयार हुने यस फिल्मको निर्माण रमेश तौरानीले गर्ने भएका छन् । हारुन चर्चित निर्देशक अजीज मिर्जाका छोरा हुन् । हारुनले यस अघि फिल्महरुमा सहायक निर्देशकको रुपमा काम गरिसकेका छन् । यस फिल्मको नाम भने अझै सम्म तय भइसकेको छैन् ।

यस फिल्मको छायाँकन अगस्टको पहिलो साताबाट सुरु हुने तय भएको छ । हाल शिल्पा एक महिनाको छुट्टीमा लन्डन गएकी छिन् । उनी अगष्टमा भारत फर्कने भएका छन् र उनि फर्किए लगत्तै नयाँ चलचित्रको छायांकनको काम सुरु हुने बताइएको छ । उनले फिल्ममा अभिनय नगरे पनि उनि रियालिटी शो, आफ्नो फिटनेस एप र अनलाइन कुकिङ शो का कारण जहिले चर्चामा आइरहेकी हुन्छिन् ।

प्रतिक्रिया

Loading...