fbpx

रोनाल्डोद्वारा प्रशिक्षक सार्रीमाथि ‘अभद्र व्यवहार’ ?

एजेन्सी,
इटालियन च्याम्पियन क्लब युभेन्टसले प्रि–सिजनअन्तर्गतको पहिलो खेलमा इंग्लिस क्लब टोटनह्यामससँग हार ब्यहोर्यो । शनिबार साँझ भएको इन्टरनेशनल च्याम्पियन्स कपअन्तर्गतको उक्त खेलमा युभेन्टस टोटनह्यामसँग ३–२ गोल अन्तरले स्तब्ध बनेको हो ।

चेल्सीबाट युभेन्टस गएका प्रशिक्षक मौजिरियो सार्रीको डेब्यू खेल रहेको उक्त खेल अहिले चर्चामा छ । अन्तर्राष्ट्रिय मिडियाले सो खेलपछि युभेन्टसका पोर्चुगिज स्टार खेलाडी रोनाल्डो र प्रशिक्षक सार्रीबीच ‘खटपट’ भएको बताएका छन् । खबरका अनुसार रोनाल्डोले आफ्ना प्रशिक्षकमाथि ‘अभद्र व्यवहार’ देखाएको जनाइएको छ ।

सो खेलमा रोनाल्डोले खेलको ६०औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको पहिलो हाफमा १–० को अग्रता बनाएको टोटनह्यामविरुद्ध गोन्जालो हिगुइनले गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए । उनले खेलको ५६औं मिनेटमा गोल गरेका थिए ।

यसपछि स्टार खेलाडी रोनाल्डोले ६०औं मिनेटमा गोल गर्दै युभेन्टस २–१ को अग्रता दिलाएका थिए । उनले माट्टिया डी स्किग्लियोको पासमा गोल गरेका थिए । तर, गोलको गरेको केही मिनेटमै सार्रीले खेलाडी परिवतर्न गरे । उनले भर्खरै गोल गरेका रोनाल्डोको स्थानमा माथेउस पेरेइरालाई मैदान प्रवेश गराए ।

त्यसपछि खेलको मैदान बाहिर रहेका सार्रीसँग हात मिलाउने क्रममा रोनाल्डोले अभद्र व्यवहार देखाएको मिडियाको दाबी छ । मैदानबाहिर जाँदै गर्दा युभेन्टसका अन्य सदस्यसँग हात मिलाएका थिए । यसैक्रममा उनले प्रशिक्षक सार्रीसँग पनि हात मिलाए । चेल्सीका पूर्वप्रशिक्षक सार्रीले रोनाल्डोलाई उनको खेलका बारेमा टिप्पणी दिइरहेका थिए । तर, रोनाल्डोले उनको टिप्पणीलाई ‘तिखो’ जवाफ फर्काएको बताइएको छ ।

त्यसपछि रोनाल्डो मैदान बाहिरिएका थिए । र, सार्रीले भने अन्य खेलाडीलाई निरन्तर रूपमा आफ्ना प्रतिक्रियाहरू दिइरहेका थिए । रोनाल्डोले सार्रीलाई के भने त ? यसको पूर्ण जानकारी भने आइसकेको छैन । रोनाल्डो मैदानबाट बाहिरिएपछि २–१ ले पछि परेको टोटनह्यामले दुई गोल थप्दै जित निकालेको थियो ।

टोटनह्यामका लुकास मौराले खेलको ६५औं मिनेटमा गोल गर्दै खेल बराबरीमा फर्काएका थिए भने खेलको ९३औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनह्यामलाई ३–२ गोल अन्तरको जित दिलाएका थिए । यस हारसँगै युभेन्टसले हारबाट प्रि–सिजनको सुरुआत गरेको छ । उसले यो सिजन स्टार खेलाडीहरू भित्र्याएको छ । युभेन्टसले यस सिजन बुफोनलाई युभेन्टस फर्काएको छ भने डच क्लब आयाक्सबाट माथिस डी लिग्ट र आर्सनलबाट आरोन राम्से भित्र्याएको छ ।

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया

Loading...