fbpx

नोबेलमा बिरामीको मृत्यु, दुहबीमा चक्काजाम

विराटनगर,
नोबेल मेडिकल कलेज विराटनगरमा घुँडाको अप्रेशन गर्न आएका व्यक्तिको मृत्यु भएपछि दुहबी बजार बन्द भएको छ । शुक्रबार नोबेल मेडिकल कलेजमा घुँडाको अप्रेशन गरेका सुनसरीको दुहबी नगरपालिका–६ का ५१ वर्षीय अनीलकुमार साहको आइतबार मृत्यु भएपछि सोमबार मृतकका आफन्त र स्थानीयबासीले दुहबी बन्द गराएका हुन् ।

उपचारमा संलग्न चिकित्सकलाई कारवाही र मृतक परिवारलाई क्षतिपूर्तिको माग गर्दै विराटनगर–इटहरी सडकखण्डको दुहबीमा चक्काजाम गरेका हुन् । चक्काजामका कारण सवारी साधन चलेका छैनन् । मृतकका भाइ प्रदीप साहका अनुसार अस्पतालले उपचारमा संलग्न चिकित्सकलाई कारबाही नगरेको र मृतक परिवारलाई क्षतिपूर्ति नदिएका कारण सडक चक्काजाम गरेको बताए । उनका अनुसार आइतबार एकचरण अस्पतालले बार्तामा बोलाएपनि सोमबार बार्तामा बोलाएको छैन । अस्प्तालले बार्तामा बोलाएपछि अनिश्चितकालीन चक्काजाम खुला गर्ने उनले बताए ।

खुट्टाको सामान्य अप्रेशन गरेका साहको मृत्यु भएपछि विराटनगर–४ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज आइतबार दिनभर तनाबग्रस्त बनेको थियो । मोटरसाइकलको स्टेन लगाउने क्रममा लडेर घाइते भएका साहलाई उपचारका लागि नोबेल मेडिकल कलेज भर्ना गरिएको थियो । नोबेलमा शुक्रबार घुँडाको शल्यक्रिया भएको थियो ।

शल्यक्रिया भएको दुई दिनपछि अस्पालले मृत घोषणा गरेपछि आफन्त तथा स्थानीयबासी आन्दोलित बनेका हुन् । लापारबाही गर्ने चिकित्सबलाई कारवाहीको माग राख्दै उनीहरूले अस्पतालबाट शव उठाएका छैनन् । शुक्रबार हाडजोर्नी तथा नशारोग विशेषयज्ञ डा. सन्दीप अधिकारीसहितको टोलीले शल्यक्रिया गरेको थियो ।

यता नोबेल मेडिकल कलेजका प्रशासकीय अधिकृत नारायण दाहालले उपचारको क्रममा अस्पतालले कुनै लापारबाही नगरेको दाबी गरे । शल्यक्रिया गरेपछि वार्डमा सार्ने क्रममा ‘हर्टअट्याक’ भएको उनको भनाइ छ । बिरामीलाई बचाउन तत्काल आइसियूमा राखेपनि मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया

Loading...