fbpx

टोली खटाएर घरघरमा प्यान नम्बर दिन सांसदको माग

विराटनगर,
एक हजार रुपैयाँभन्दा बढीको पारिश्रमिक लिन र कारोवार गर्न प्यान नम्बर अनिवार्य गर्दा सर्वसाधारण सबैले सास्ती पाएको भन्दै टोली खटाएर गाउँ–गाउँमा प्यान नम्बर वितरण गर्न प्रदेश सांसदले माग गरेका छन् ।

आइतबार एक नम्बर प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै मुख्य प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले समान्य कारोबार गर्ने कृषक र सर्वसधारणलाई सरकारको नियमले सास्ती थपेको भन्दै गाउँ–गाउँमा टोली खटाएर प्यान नम्बर वितरण गर्न सरकारसँग माग गरेका हुन् ।

सांसद कार्कीले सरकारले हतारमा नियम लागू गर्दा मजदूर, कर्मचारी, कृषक, व्यापारी सबैले दुःख पाएको भन्दै गाउँमा बस्नेहरुलाई प्यान नम्बर के भन्ने थाहा नभएको र भएपनि बनाउन सदरमुकाम आउनुपर्दा झन्झट थपिएको र खर्च पनि बढेको बताए । कार्कीले भने, ‘नियम लगाएपछि यो सरकारले सेवा पनि सहज रुपमा दिनका लागि घरघरमै पुगेर नागरिकलाई प्यान नम्बर वितरण गर्नुपर्छ ।’

शून्य समयमा बोल्दै खोटाङका नेकपा सांसद राजन राईले लोकसेवा आयोगको परीक्षा बिथोल्ने क्रममा पक्राउ गरिएका ४ जनालाई तुरुन्त रिहाइ गर्न प्रदेश सरकारसँग माग गरे । उनले समावेशी समानुपातिक अधिकारका लागि आम जनताले लडेर गणतन्त्र ल्याएको तर हाल लोकसेवा आयोगले आरक्षण नै नराखी विज्ञापन प्रकाशित गरेर परीक्षा लिनु संविधानको मर्म विपरीत भएकोले आन्दोलन जायज भएको तर्क गरे ।

सांसद तथा नेपाली कांग्रेसका सचेतक सूयर्माराज राइले आर्थिक वर्ष सकिन लाग्दा प्रदेश सरकारले करोडौँ खर्चेर मुख्यमन्त्री कप फुटबल र म अघि बढ्छु कार्यक्रम गरेर व्यापक अनियमिता गरेको भन्दै छानबिन गर्न माग गरे । उनले डेढ करोड खर्चेर असार अन्तिममा गरेको मुख्यमन्त्री कप फुटबल र अढाइ करोड खर्चेर गरेको ‘म अघि बढछु सगरमाथा टिन्स क्लब’ कार्यक्रम प्रदेश सरकारको मान मर्यादा अनुसारको हुन नसकेको आरोप लगाए ।

नेकपा सांसद राजकुमार ओझाले प्रदेश सरकारले निर्माण गरेको विराटनगर–विराटचौक सडक संघीय सरकारले निर्माण गरेको इटहरी–बेलबारी सडकको अवस्था दयनीय भएकोले गुणस्तरहीन काम गर्ने ठेकेदारलाई कडा कारवाही गर्न माग गरे ।

प्रतिक्रिया

Loading...