fbpx

आफूले दिएको अभिव्यक्तिप्रति मेस्सीले मागे माफी

एजेन्सी,
हालै ब्राजिलमा सम्पन्न ४६औं संस्करणको कोपा अमेरिका कपअन्तर्गतको तेस्रो स्थानको खेलपछि अर्जेन्टिनी स्टार लियोनल मेस्सीले विवादास्पद अभिव्यक्ति दिएका थिए । चिलीसँगको खेलको बीचैमा चिलियन कप्तान मेडेलसँग झगडा गरेपछि रातो कार्ड खाँदै मैदान बाहिरिएका उनले खेलपश्चात मिडियासँगको कुराकानीमा कडा अभिव्यक्ति दिए ।

उनले कोपा अमेरिका भ्रष्ट संस्था भएको र ब्राजिलले कोपा जिताउन सेटिङ मिलाएको भन्दै खरो अभिव्यक्ति दिएका थिए । त्यतिमात्र नभएर उनले तेस्रो स्थानको मेडल लिन पनि अस्वीकार गरेका थिए । मेस्सीको टोली अर्जे्न्टिनाले साबिकको विजेता टोली चिलीलाई हराउँदै कोपा अमेरिकाको तेस्रो स्थानको मेडल जितेको थियो ।

त्यसअघि पनि मेस्सी सेमिफाइनलको खेलमा रेफ्रीविरुद्ध खरो खनिएका थिए । ब्राजिलसँग हारेको खेलमा कप्तान मेस्सीले रेफ्रीले पक्षपाति निर्णय गरेको आरोप लगाउँदै रेफ्रीविरुद्ध खनिएका थिए । सो आरोपछि कन्मेबोलले मेस्सीलाई कारबाही गर्नेे खबर अन्तर्राष्ट्रिय मिडियामा आएको थियो ।

अन्ततः मेस्सीले कन्मेबोलसँग माफी मागेका छन् । गत शनिबार अजेन्टिनी फुटबल एसोशिएसन (एफए)ले आफ्नो कप्तान मेस्सीले व्यक्तिगत रुपमा माफी मागेको भन्दै कानूनी कागजहरू कन्मेबोललाई पठाएको बताइएको छ ।

एफएले मेस्सीले माफी मागेको कागजपत्रसमेत समावेश गरी उक्त कानूनी कागजात कन्मेबोललाई पठाइएको ला नेशन न्यूजपेपरले लेखेको छ । एएफले मेस्सीलाई कारबाही नगर्न अपिल गर्दै सो पत्र पठाएको बताइएको छ । यस्तै उसले मेस्सीको अभिव्यक्ति कुनै विशेष अधिकारीप्रति नभएको बताउँदै उनले हारको पीडामा यस्तो अभिव्यक्ति दिएको बताएको छ ।

एएफएको नेतृत्वमा कन्मेबोललाई यस्तो पत्र पठाइएको हो । अब भने मेस्सीमाथि प्रतिबन्ध हुने तथा कारबाही हुने सम्भावना कम भएको छ । तर, कन्मेबोलले मेस्सीलाई क्षमा दिएमा मात्र उनीमाथिको प्रतिबन्ध टर्ने बताइएको छ । यद्यपि, कन्मेबोलले माफी नदिएमा मेस्सीले चिलीविरुद्धको अर्को खेल गुमाउने पक्का छ । अर्जेन्टिनाले आउँदो सेप्टेम्बर ५ मा चिलीविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।

प्रतिक्रिया

Loading...