fbpx

हत्या आरोपमा तीन वडा अध्यक्ष फरार

वडाबासी बाढीबाट विस्थापित हुँदा राहत बाड्न आएनन्

विराटनगर । हत्या आरोप लागेका मोरङका दुईवटा स्थानीय तहका तीन जना वडा अध्यक्ष फरार भएका छन् । विराटनगर महानगरपालिकाका २ र जहदा गाउँपालिकाका एक वडा अध्यक्ष हत्या आरोप लागेपछि फरार भएका हुन् ।

तीनवडा अध्यक्षको उपस्थीतिमा विराटनगर– १४ का समानन्द यादवमाथि विवाहमा विवादमा निर्घात कुटपिट भएको थियो । उपचारका क्रममा यादवको मृत्यु भएपछि विराटनगर–१४ का वडा अध्यक्ष बालदेव यादव, १८ का वडा अध्यक्ष सञ्जय साह र जहदा गाउँपालिका–१ का वडा अध्यक्ष प्रदीप यादव फरार भएका हुन् ।

उनीहरुले गत जेठ ३२ गते छोराले विहे नगरेको विषयमा विराटनगर–१४ का वडा अध्यक्ष बालदेव यादवको घरमा कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भिर घाईते भएका समानन्द यादवको उपचारको क्रममा मृत्यु भए पछि तीन वडा अध्यक्ष सहित ९ जना विरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले खोजी गरिरहेको छ ।

तीन वडा अध्यक्ष सहित घटनामा संलग्न सबै फरार छन् । फरार भएकाहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार कुटपिटपछि ज्यानमार्ने उद्योगमा प्रहरीले अनुसन्धान गरिरहेको थियो । तर घाइतेको मृत्यु भएपछि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ ।

वडा अध्यक्षको घरमा पञ्चायती, नमानेपछि निर्घात कुटपिट

समानन्दले छोरा राजेशकालागि जहदा गाउँपालिकामा एक युवती हेरेका थिए । तर छोराले विवाह गर्न नमानेपछि उनलाई तीन वडा अध्यक्षले विराटनगर महानगरपालिका १४ का वडा अध्यक्ष बलदेव यादवको घरमा छलफल राखेका थिए । छलफलमा छोराले विवाह गर्न नमानेको बताएपछि केटी पक्षका आफन्त र वडा अध्यक्षले दवाब दिएका थिए । विबाद बढेपछि वडा अध्यक्षकै रोहबरमा सामानन्द कुटिएका थिए ।

उपचारका क्रममा घाइते यादवको मृत्यु भएपछि वडा अध्यक्षहरु कार्यबहाक दिएर फरार भएका छन् । बाढी डुवानमा परेका वडाबासीको उद्दार तथा राहतमा सहयोग गर्न वडा अध्यक्षहरु आएनन् । प्रहरीको खोजी सूचीमा परेपछि उनीहरु फरार भएका हुन् ।

राजनीतिक पहुँच भएका वडा अध्यक्षहरूलाई कारवाहीको दायरामा प्रहरीले ल्याउन नसकेको पीडित परिवारको दाबी छ । तीनैजना वडा अध्यक्ष संघीय समाजवादी पार्टीका हुन् । फरार वडा अध्यक्ष भारतीय सिमावर्ती क्षेत्रमा रहेको स्रोतको दाबि छ ।

प्रतिक्रिया

Loading...