fbpx

‘प्रधानमन्त्री बालुवाटारमा असुरक्षित भए भद्रकाली व्यारेक बसे हुन्छ’ : सिपी गजुरेल

काठमाडौं ।

नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आएको बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘सरकार र विप्लव नेकपाबीच वार्ता र शान्तिपूर्ण समाधानको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै गजुरेलले यस्तो जन आन्दोलनको खाँचो औल्याए ।

उनले सरकार र विप्लवीचको वार्तालाई लिएर नेपाली जनता अहिले असाध्यै द्धिविधमा रहेको पनि टिप्पणी गरे । उनले भने,‘पछिल्लो समय सरकार र विप्लव समूहबीच वार्ता चलिरहेको हल्ला छ । दुवै पक्षबाट वार्तालाई लिएर वक्तव्यहरु आएका छन् । तर, जनता भने पुरै कन्फ्युजनमा छन् । साँच्चै वार्ता होला त भनेर ?’

उनले भीडन्तहरु हुँदै गए देश आन्तरिक गृहयुद्धमा रुपान्तरण हुने खतरापनि औंल्याए । उनले भने,‘अहिलेको परिस्थिति ल्याउनको लागि ओलीजीको सरकार जिम्मेवार छ ।’ उनले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनु नै गलत भएको पनि टिप्पणी गरे । गजुरेलले भने,‘प्रतिबन्ध लगाउनु नै हुँदैनथियो । संविधानमा पनि यो कुरा निषेध गरिएको छ ।’

एनसेलको मुख्यालयमा भएको प्रेसर कुकर बमकाण्डलाई लिएर सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएको उनले सुनाए
उनले सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई असुरक्षा भएको भए थप सुरक्षाकर्मी राखे हुन्छ भन्ने अभिव्यक्ति दिदै भने,‘बालुवाटारको हेडक्वार्टरमा असुरक्षित भए ओलीजी भद्रकालीमा रहेको मिलिटरी हेडक्वार्टरमा गएर बसे भैगयो नि । तर, पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नुहुँदैन् । यो गलत छ ।’

गजुरेलले सरकारले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण कार्यक्रम गर्नसमेत बन्देज लगाएकोमा आक्रोश पोखे ।
वर्तमान सरकारले सुनियोजित ढंगले अहिलेको परिस्थिति सिर्जना गरेको उनको गम्भिर आरोप छ । अहिले सरकारले फेक ईन्काउन्टरको नाममा निहथ्था नागरिकको हत्या गर्ने काम गरेको पनि गजुरेलको आरोप छ ।

ओली सरकारले अहिले मुलुकमा फाँसीवाद लागु गरेको पनि उनले टिप्पणी गरे । सरकारले सुरुमै जनतालाई महँगी उपहार दिएको पनि उनले आरोप लगाए । उनले भने,‘त्यतिमात्रै होईन, तीन तहमा कर बढायो । अब त जन्मिनपनि डर लाग्न थाल्यो । र, मर्नपनि डराउनुपर्ने भयो । जन्मेदेखि मृत्युसम्म कर तिर्नुपर्ने भयो ।’

त्यस्तै, यो सरकार आएपछिमात्रै देशमा भू–माफीयाहरु सलबलाएको र देशका महत्वपूर्ण ठाउँका जग्गाहरु निजीकरण गर्ने काम भएको उनको टिप्पणी छ ।  पछिल्लो समय विषादी प्रकरणमा पनि सरकारले गम्भिर त्रुटि र जनताको स्वास्थ्यमाथि खेलबाड गरेको गजुरेलको आरोप छ ।  उनले तीन चौथाई बहुमत भएपनि यो सरकार यही पाराले अब नटिक्ने चेतावनी दिए ।

प्रतिक्रिया

Loading...