fbpx

‘वैज्ञानिक वन व्यस्थापनबाट वन मासिँदैन, बरु दीगो संरक्षण हुन्छ’

विराटनगर,
मोरङमा वैज्ञानिक वन व्यवस्थान गरिरहेका सामुदायिक वन समितिहरुले जाथाभावी रुख काटेर विनाश गरेको, मिलेमतोमा भ्रष्टचार गर्न थालेको, रुख काटन मात्र चासो देखाएको बिरुवा रोप्न र हुर्काउन वेवास्ता गरिरहेको भनेर लगाइने आरोपहरु सत्य नभएको बताउँछन् ।

वन अवलोकन गर्दै विज्ञ समितिको टोली

प्रणालीको विधि र प्रक्रिया सबैलाई थाहा नहुँदा समूहहरुलाई विभिन्न आरोप लाग्ने गरकोले वैज्ञानिक वन व्यवस्थानबारे आम जनमानसमा जानकारी पुर्याएर सचेत बनाउन वन समितिहरुले सरकारसँग आग्रह पनि गरेका छन् ।

‘अरूले भने जस्तो वैज्ञानिक वन व्यवस्थानमा नत जथाभावी रुख काटिन्छ नत बिरुवा संरक्षण नगरी दोहन नै गरिन्छ । बरु सामाजिक, आर्थिक र वातावरणीय हिसाबले उयपुक्त योजना बनाएर वैज्ञानिक ढंगले बन व्यस्थापन गर्ने गरिन्छ’, मोरङको लेटाङ नपा–४ स्थित जनसेवा सामुदायिक वनका अध्यक्ष दिलराम राई भन्छन् । उनको समूहले वैज्ञानिक वन व्यवस्थान गर्न थालेको तीन वर्ष भयो । यो अवधिमा समूहले ८० वर्षे कार्य योजनाअनुसार व्लक (कुप) बनाएर आमा रुखहरुलाई संरक्षण गरेर रुख काट्ने, नयाँ बिरुवा हुर्काउने काम गरिरहेको छ । जनसेवा वन अवलोकन गर्दा तीन र दुई वर्षअघि रुख काटेका व्लकमा नयाँ बिरुवाहरु लहलह बढिरहेको देखिन्छन् ।

फोटो वैज्ञानिक वनमा दोस्रो, तेस्रो, पाँच वर्षमा हुर्किँदै गरेका बिरुवाहरु हेरिँदै

यस्तै लेटाङमै रहेको नमुना सामुदायिक वन उपभोक्ता समितिले पनि पाँच वर्षदेखि वैज्ञानिक वन व्यवस्थापन गरिरहेको छ । वैज्ञानिक वन व्यवस्थापन प्राणालीको विधि प्रक्रियाअनुसार हरेक वर्ष कुप बनाएर निश्चित स्थानका रुखहरु मात्र काट्ने गर्दा विरुवाहरु पनि लहलह हुर्काउन सफल भएको अध्यक्ष गोपाल शर्मा चम्लागाईँ बतााउँछन् । अवलोकनमा देखिएअनुसार वैज्ञानिक वनको योजनाअनुसार पाँच वर्षअगाडि पहिलोचोटी रुख काटेको स्थानमा हाल सालका बिरुवाहरु हर्लक्क बढेर मान्छेभन्दा अग्ला–अग्ला भैसकेका छन् । हुर्किएका बिरुवाहरु १० वर्ष पुगेपछि त्यसलाई छाँटेर गोडमेल गर्ने योजना समितिको छ । किनभने, रोगी बिरुवाहरुलाई राख्नुभन्दा सप्रेकाहरुलाई नै हुकाउँदा बढी फाइदा हुन्छ ।

अधिक लाभ लिन रुखको खेती गरिने प्रणाली नै वैज्ञानिक वन व्यवस्थापन

वनविज्ञ विशाल घिमिरेका अनुसार वैज्ञानिक वन व्यवस्थान भनेको वनबाट बढीभन्दा बढी आम्दानी लिनका लागि सामाजिक, आर्थिक र वातावरणीय हिसाबले उपयुक्त वन व्यवस्थापन गर्नका लागि रुखको खेती गर्ने वैज्ञानिक प्रणाली हो । जसरी एउटा रुखको परिपक्व हुने आयू ८० वर्षको हुन्छ त्यसरी नै वैज्ञानिक वन व्यवस्थापनमा पनि ८० वर्षको कार्ययोजना बनाइन्छ । र, सोही कार्यायना योजनाअनुसार ८० वर्षका लागि कुप (व्लक)हरु निर्माण गरेर माउ रुखहरुलाई संरक्षण गर्दै आवश्यक रुखहरु काटेर बिक्री उपभोग गर्ने गरिन्छ । यो विधिअनुसार व्लकहरुमा मात्रै रुख काटिँदैन काटिएको ठाउँमा बिरुवाहरु रोपेर अनिवार्य हुर्काउने पनि गरिन्छ । जसले गर्दा ८० वर्षे एउटा पुस्ता सकिना साथ अर्को पुस्ता काट्नका लागि तैयार भैसकेको हुन्छ ।

झट्ट हेर्दा वैज्ञानिक व्यवस्थापन भएको ठाउँमा सुरुमा रुख काटेपछि काटेको वन उजाड लाग्दछ । उक्त स्थानमा बिरुवा हुर्कँन समय लाग्ने हुँदा वैज्ञानिक वन व्यवस्थानबारे जानकारी नभएकाहरुले रुख काटेर सोत्तर पारेको, भएका आमाबाबु मारेर कृतिम रुपले बच्चा जन्माएर हुर्काउन खोजेको, मिलेमतो गरेर वनमा भ्रष्टचार गरेको र देशलाई मरुभूमी बनाउन लागिपरेको भन्दै विभिन्न आरोप पनि लगाउँछन् ।

वनको कार्यायोजनाबारे बताउँदै जनसेवा सावउका अध्यक्ष दिलराम राई

तर, वैज्ञानिक वन व्यवस्थापनमा त्यस्तो केही हुँदैन, प्रणालीको विधिअनुसार कार्ययोजनासहित रुख काटिने भएकोले आम्दानी पनि पारदर्शी हुन्छ । कति रुख काटिने हो र कति आम्दानी हुन्छ सबै पहिले नै हिसाबकिताब हुन्छ । काटिएको काठ बिक्रीबाट आएको आम्दानीमध्ये ५० प्रतिशत सरकारको खातामा जम्मा हुन्छ । बाँकी ५० प्रतिशतमध्ये २५ प्रतिशत अनिवार्य वन संरक्षणमा लगाउनुपर्छ ।

बचेको २५ प्रतिशतले उपभोक्ताहरुले विकास निर्माणको काम गर्नुपर्दछ । मोरङकै लोहन्द्रा चिसाङ साभेदारी वनका अध्यक्ष दिनेश गिरीका अनुसार वैज्ञानिक वन व्यवस्थापनअनुसार संरक्षण गर्दा बिरुवा जोगाउन अनिवार्य घेराबारा गर्नु, डढेलो र फडानीबाट जोगाउन फायर लाइन र सडकहरु बनाउनुपर्दछ । कम्तीमा दश वर्षसम्म बिरुवाहरु गोडमेल गराउनुपर्दछ र सुरक्षाका लागि हेरालुहरु पनि परिचालन गर्नुपर्छ । र, कार्यायोजनाअनुसार वन सरक्षण भए–नभएको डिभिजन कार्यालयमार्फत नियमित अनुगमन गर्ने र समिति र उपभोक्ताहरुलाई ज्ञानसीपका लागि तालिम पनि प्रदान गरिन्छ ।

हरेक ८० वर्षमा काटिने रुख तैयार हुन्छ

डिभिजन वन कार्यालय मोरङका प्रमुख वन अधिकृत (डिएफओ) समेत रहेका वनविज्ञ विशाल घिमिरेका अनुसार एउटा सखुवाको रुखको परिपक्व हुने समय ८० वर्ष हो । ८० वर्षभन्दा बढीको उमेर भएमा रुखमा रोग लाग्न थाल्दछ । रुखहरु बढ्दैन र भित्रभित्र धोद्रा हुन थाल्दछन् । यसैले ८० वर्ष पुगेपछि रुखहरुलाई काटेर उपभोगमा ल्याइसक्नुपर्दछ । जसले गुणस्तरीय काठ प्राप्त हुन्छ । यसरी काटिएका रुखहरुलाई पुन रोपेर चक्रीय प्रणालीअनुसार वन संरक्षण गर्नकै लागि वैज्ञानिक व्यवस्थापन लागू गरिएको हो । वैज्ञानिक व्यवस्थापनबाट जंगलमा हुर्कन काम नलाग्ने झार र झाडी अनि गुणस्तरहीन रुख र वनस्पतिका प्रजातिहरु पनि नासिने भएकोले वनमा सूर्यको प्रकाश र हावापानीले सहजै प्रवेश पाउँछ । जसले गर्दा सालका रुख बिरुवाहरुले पुग्दो पोषण प्राप्त गरेर हुर्कने अवसर पाउँछन् ।

जनसेवा सावउकी कोषाध्यक्ष जानुका राईले भनिन्, ‘रुखहरु काटेको देख्दा मैले पनि बिद्रोह गरेँ । धेरै बैठकमा सहभागी नै भइन तर बुझेपछि थाहा भयो वैज्ञानिक व्यवस्थानले वन विनाश हुन्छ भन्ने कुरा झुठो रहेछ वरु झन् संरक्षण पो गर्दोरहेछ ।’

मोरङमा १ सय ३४ मध्ये २६ वटामा वैज्ञानिक वन व्यवस्थापन

२०७१ देखि वैज्ञानिक वन व्यवस्थान लागू भैरहेको मोरङमा हालसम्म २५ वटा सामुदायिक वनले वैज्ञानिक वन व्यवस्थापन थालिसकेका छन् । र, प्रभावकारिता देखिएसँगै लागू गर्नेहरुको संख्या पनि बढ्दो छ । मोरङमा साभेदारी ४ सामुदायीक १ सय ३४ धार्मिक १२ कबुलियती २ र ६ सय ६५ वटा निजी वन छन् । मोरङमा राष्ट्रिय वनको क्षेत्र २७ हजार ८ सय ६५ हेकटर छ ।

नेपालको कैलाली, बारा, चितवन, कपिलवस्तु, बाजुरा, रौतहट, सुनसरी, झापा, दोलखा, ललितपुरलगायतका विभिन्न जिल्लामा वैज्ञानिक वन व्यवस्थापन लागू भएका छन् । र, भारत, बंगलादेश, पाकिस्तान र यूरोपका विभिन्न देशहरुमा पनि वैज्ञानिक वन व्यस्थापन लागू छ ।

 

प्रतिक्रिया

Loading...