fbpx

वेस्ट ह्यामलाई हराउँदै सिटी फाइनलमा, उपाधिका लागि वुल्भससँग खेल्ने

विराटनगर,
म्यानचेष्टर सिटी चीनमा जारी सन् २०१९ को प्रिमियर लिग एशिया ट्रफीको फाइनलमा प्रवेश गरेको छ । नवौं संस्करणको यस प्रतियोगिताअन्तर्गत आज बुधबार भएको दोस्रो सेमिफाइनलमा वेस्टह्यामलाई ४–१ गोलान्तरले हराउँदै सिटीले फाइनलमा स्थान बनाएको हो ।

चीनको नान्जिङ आलम्पिक स्पोर्ट्स सेन्टर भएको उक्त खेलमा वेस्ट ह्यामलाई हराउन सिटीका रहिम स्टर्लिङले दुई गोल गरे भने डेभिड सिल्भा र लुकास मेचाले समान एक–एक गोल गरे । सिटीले वेस्टह्यामको अग्रता उल्टाउँदै जित निकालेको हो ।

वेस्ट ह्यामका लागि मार्क नोब्लेले खेलको २६औं मिनेटमा पेनाल्टीमा गोल लगाएका थिए । तर, खेलको ३३औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई बराबरीमा ल्याए । यस्तै खेलको ३६औं मिनेटमा सिटीले पेनाल्टी पाएको थियो । जसमा, लुकासले गोल गर्दै सिटीलाई २–१ गोलले अग्रता दिलाए ।

पहिलो हाफ २–१ गोलले अगाडि रहेको सिटीले दोस्रो हाफमा दुई गोल लगायो । उसका लागि स्टर्लिङले खेलको ५९औं मिनेटमा र ७२औं मिनेटमा गोल गर्दै सिटीलाई ४–१ गोलको सहज जित दिलाए ।

यससँगै सिटीले यस प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । अब, सिटीले उपाधिका लागि वुल्भससँग खेल्ने छ । वुल्भसले आजै भएको पहिलो सेमिफाइनलमा न्यूकासलविरुद्ध ४–० गोलको जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ । वुल्भसलाई जिताउन डिओगो जोटाले दुई तथा मोर्गान गिब्स ह्वाइट एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो । न्यूकासलका थोमस डेभिड अल्लानले खेलको अन्तिम समयमा आत्मघाती गोल गरेका थिए ।

फाइनल खेल भने शनिबार साँझ हुनेछ । त्यसअघि तेस्रो स्थानका लागि वुल्भससँग पराजित भएको टोली न्यूकासल र सिटीसँग पराजित भएको टोली वेस्ट ह्यामले खेल्नेछन् । यो खेल शनिबार दिउँसो हुनेछ ।

प्रतिक्रिया

Loading...