fbpx

विप्लवसंग धेरै पटक अनौपचारिक वार्ता भएको नेकपा नेता पाण्डे दाबी

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले विप्लवसँग पनि वार्ता तथा सम्वादमार्फत नै सहमति खोज्नुपर्ने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले कांग्रेसकै पहलकदमीका कारण माओवादीसँगको वार्ता सफल भएको र मुलुक अहिलेको अवस्थामा रुपान्तरण भएको सुनाए । साक्षात्कारमा बोल्दै उनले सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक वार्ता टोलीका पूर्व संयोजक तथा नेकपाका नेता सोमप्रसाद पाण्डेको कुरा सुन्दा सरकारले अहिलेसम्म वार्ताको लागि विप्लवलाई पत्राचार नै नगरेको सुनाए ।

उनले वर्तमान सरकारसँग जनता सर्वथा निराश रहेको पनि गुनासो पोखे । उनले भने,‘यो सरकार कता जाँदैछ ? सरकारमा रहेका दलका नेताहरुनै अहिले सर्वथा असन्तुष्ट हुनुहुन्छ ।’  संसदमा प्रस्तुत भएका विद्येयकहरु एकपछि अर्कोगरि विवादमा परिरहेको भन्दै सरकारले जन भावना बुझ्न नसकेको उनले आरोप लगाए । लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको नामै नलिई जनतालाई गलत सुचना दिएको सुनाए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वमन्त्री तथा सांसद सोमप्रसाद पाण्डेले विप्लव समूहसँग अहिलेसम्म औपचारिक रुपमा वार्ता नभएको स्पष्ट पारेका छन् ।

उनले सरकारको तर्फबाट आफुले धेरै पटक विप्लव समूहका नेताहरुसँग अनौपचारिक वार्ता तथा छलफल गरेको दाबी गर्दै अहिलेसम्म औपचारिक रुपमा वार्ता नभएको बताए ।

वर्तमान सरकारले मुलुकमा शान्ति, स्थायित्व चाहेको सुनाउँदै पाण्डेले भने,‘सरकार द्वन्द्व चाहँदैन् । हामी हिंसा चाहँदैनौं । हामी त सुशासन र समृद्धि चाहन्छौं । मेरो नेतृत्वको टोलीले विप्लवसँगमात्रै सहमति गर्न सकेको छैन् । अहिलेपनि म्याद सकिएपनि मैले वार्ताको पहल गरिरहेको छु ।’

उनले आफूले विप्लव समूहका गुणराज लोहनीसँग सम्पर्क बढाएर वार्ता तथा सम्वादको पहल गरेको स्मरण गराए
सत्तारुढ दल समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले पनि विप्लवका माग राजनीतिक समस्या भएकोले राजनीतिक ढंगले समाधान गर्नुपर्नेमा जोड दिए ।

सांसदसमेत रहेका सह–अध्यक्ष श्रेष्ठले अहिले परिवर्तित अवस्था भएकोले यो परिवर्तनलाई आत्मसात गरिएको छ कि छैन ? भन्ने कुरा मूल प्रश्न भएको सुनाए । राष्ट्रपति आलंकारिक भएपनि उनको शैली भने राजाशाहीको जस्तै भएको उनको टिप्पणी छ ।

प्रतिक्रिया

Loading...