fbpx

‘प्रेम गीत ३’मा अनुभवको जोडी बन्दै समृद्धी शाही ठकुरी

काठमाडौं,
चलचित्र ‘प्रेमगीत’ र ‘प्रेमगीत २’को तेश्रो सिरिज ‘प्रेमगीत ३’ निर्माण हुने घोषणा भए देखि नै यस फिल्ममा एकपछि अर्को पुरानो तथा नयाँ कलाकारहरुको नाम जोडिदै आएको छ । यसै क्रममा फिल्ममा गीतको बच्चाको भूमिकामा अर्की बालकलाकारको इन्ट्री भएको छ । फिल्ममा गीतको बच्चाको भूमिका निर्वाह गर्नका लागि बालकलाकार समृद्धी शाही ठकुरीलाई अनुबन्धित गरिएको छ ।

यस्तै प्रेमको बाल्यकालको भूमिकामा बालकलाकार अनुभव रेग्मी रहेको निर्माण टिमले पहिला नै जानकारी गराइ सकेको थियो । फिल्मको गीत पात्रका लागि सुहाउदो क्यराक्टरको लामो समयको खोजि पछि समृद्धी शाही ठकुरीलाई फाइनल गरिएको फिल्मका निर्माता सन्तोष सेनले बताएका छन् । समृद्धी शाही ठकुरी अनुबन्धित भए संगै फिल्मका सम्पूर्ण मुख्य कलाकारहरु फाइनल भएको निर्माण टिमले जानकारी गराउदै आफ्नो खुशी ब्यक्त गरेको छ ।

फिल्ममा समृद्धी, अनुभवका साथ प्रेमको भूमिकामा अभिनेता प्रदीप खड्का, गीतको भूमिकामा नव अभिनेत्री क्रिस्टिना गुरुङ खड्का, भिलेनको भूमिकामा निर्माता सेन, प्रेमको पिता तथा राजाको भूमिकामा शिव श्रेष्ठ, प्रेमको भाईको भूमिकामा नव अभिनेता मनिष राउत तथा सुनिल थापा लगायतका कलाकारहरुको अभिनय रहने भएको छ । ‘प्रेमगीत ३’को कथा २ सय वर्ष पुरानो रहेको बताइएको छ ।

आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यसको चलचित्रलाई निर्देशक छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्ने भएका छन् । दसैँबाट छायांकनमा जाने यस फिल्मले नयाँ वर्षको छेको पारेर चैत्र २८ गते प्रदर्शनमा आउने भएको छ । ‘प्रेमगीत ३’ पहिलो र दोश्रो संस्करण भन्दा निकै राम्रो तरिकाले निर्माण हुने र नेपाली फिल्म क्षेत्रको लागि एउटा उदाहरण बन्ने निर्माण टिमले बताएको छ ।

प्रतिक्रिया

Loading...