fbpx

राष्ट्रिय विपतिको बेलामा संसद स्थगित गरेपछि नेकपाका सांसद आक्रोशित

काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले राष्ट्रिय विपत्तिको बेलामा संसद स्थगित गरेपछि नेकपाका सांसदहरुले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभामुख कृष्णबहादुर महराको चर्काे आलोचना गरेका छन् ।

संसदको सोमबारको बैठक सूचना टाँसेर स्थगित गरिएपछि बाढी, पहिरो प्रभावित जिल्लाका नेकपाका सांसदहरुले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यस्तो आलोचना गरेका हुन् । उनीहरुले जनताको कुरा सार्वभौम संसदमा राख्न नदिएको भन्दै कांग्रेसको विरोध गरे ।

जनताको मानवीयतासँग जोडिएको विषयमा संसदमा छलफल गर्न नदिनु खेदजनक भएको उनीहरुको टिप्पणी छ । उनीहरुले संसद स्थगित् गरेकोमा आक्रोश पोख्दै त्यसको भत्सर्ना पनि गरे ।

साक्षात्कारमा बोल्दै खोटाङबाट निर्वाचित नेकपाका सांसद विशाल भट्टराईले आफूहरुले जनताको दुःखको कुरा सार्वभौम संसदमा सुनाउन नपाएको गुनासो पोखे । उनले भने ‘हामी चाहन्थ्यौं संसदले यो संकटको निवारण गरोस भनेर । तर, कांग्रेसले विगतको घट्नाक्रमलाई हेरेर हठ देखायो । आयोग गठनको माग गरेर संसद अवरुद्ध गर्नु गलत हो ।’

भट्टराईले सभामुख महाराको भूमिकाप्रति पनि आपत्ति जनाए । उनले खोटाङमा तीन जनाको निधन भएको र एक जना घाईते भएको सुनाए । बाढि, पहिरोका कारण खोटाङमा एक किलोमिटर पनि आवातजावात हुन नसकेको भट्टराईले सुनाए ।

रौतहटबाट निर्वाचित नेकपाकी सांसद एवम् संघीय संसदीय समिति विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस्तो प्राकृतिक विपतिको घडीमा पनि संवेदनशीलता नदेखाएको आरोप लगाईन् ।

उनले रौतहट पूरै डुवानमा परेको सुनाईन् । उनले बाढि, पहिरोमा परि बेपत्ता भएकाहरुको तदारुकताका साथ खोजि हुनुपर्ने बताईन् ।  अहिले पनि पीडितहरुमा खानादेखि स्वास्थ्यको गम्भिर समस्या रहेको सुनाउँदै त्यसतर्फ सरकारले पर्याप्त ध्यान दिनुपर्ने उनले सुझाईन् ।

ललितपुरबाट निर्वाचित नेकपाका सांसद नवराज सिलवालले संसद स्थगित् गरिएकोमा गम्भिर आपत्ति जनाए । उनले भने, ‘हामीले पनि आफ्ना कुरा राख्न पाउनुपर्दथ्यो । तर, संसद बैठक स्थगित गरियो । यसमा हाम्रो घोर आपत्ति छ ।’

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अकर्मण्यताका कारण आजको संसद बैठक स्थगित भएको आरोप लगाए । उनले भने,‘यसले के देखाउँछ भने कांग्रेस मुलुक र जनताप्रति जिम्मेवार छैन । मुलुक यतिवेला बाढि, पहिरोबाट आक्रान्त बनेको छ । यस्तो बेलामा संसद बैठक बस्नुपर्दथ्यो । तर, कांग्रेस जिम्मेवार भएर प्रस्तुत भएन् ।’

उनले सुरक्षा निकायले राहत तथा उद्धारमा देखाएको सक्रियता र भूमिका प्रशंसनीय रहेको सुनाए । उनले भने,‘म गृहमन्त्रालयको भूमिकालाई प्रशंसा गर्न चाहन्छु । सुरक्षा निकायको भूमिका पनि उच्च प्रशंसनीय छ । गृहमन्त्रालयले आफ्नो कामलाई अझै प्रभावकारी बनाउनुपर्छ । आफ्नो साधन र स्रोतलाई भरपुर उपयोग गर्नुपर्छ ।’ अझैपनि कतिपय ठाउँमा राहत पुग्न नसकेको भन्दै सरकारले त्यसतर्फ ठोस कदम चालोस भन्ने उनको सुझाव थियो ।

ओखलढुंगाबाट निर्वाचित नेकपाका सांसद यज्ञराज सुनुवारले संसद बैठक अवरुद्ध गरेकोमा गम्भिर आपत्ति जनाए ।
राष्ट्रिय विपतिको बेलामा संसद बैठक बसेर आफ्ना कुरा राखौंला भन्ने चाहना पुरा नभएकोमा उनले कडा आक्रोश पोखे ।

उदयपुरबाट निर्वाचित नेकपाका सांसद सुरेश राईले पनि राष्ट्रिय विपतिको यस्तो घडीमा संसद बैठक स्थगित् हुनु दुःखदायी र खेदजनक भएको टिप्पणी गरे । उनले भने,‘अहिलेपनि पीडितहरुको अवस्था दयनीय छ । तर, कांग्रेसले संसद अवरुद्ध गरेर गलत चरित्र देखायो ।

सिरहाबाट निर्वाचित नेकपाका सांसद लिलानाथ श्रेष्ठले मुलुक अहिले राष्ट्रिय विपतिको अवस्थामा भएकोले यस्तो बेलामा सबै दलहरु एकजुट भएर उद्धार तथा राहतमा जुट्नुपर्ने बताए ।

प्रतिक्रिया

Loading...