fbpx

विश्वकप क्रिकेटको फाइनलमा अम्पायरको गलत निर्णय !

एजेन्सी,
इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) का पूर्वअम्पायर तथा क्रिकेट बिधान निर्माण गर्ने कमिटिका एक सदस्य सिमोन टौफेलले हालै इंग्ल्याण्ड र वेल्समा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा गलत निर्णय भएको दाबी गरेका छन् । विश्वकपको फाइनल खेलपश्चात मिडियासँग बोल्दै टौफेलले यस्तो दाबी गरेका हुन् ।

आइतबार भएको फाइनल खेलमा इंग्ल्याण्डले सुपर ओभरमार्फत् न्यूजिल्याण्डलाई हराउँदै उपाधि जितेको थियो । घरेलु टोलीले उपाधि जित्दा अम्पायरले गलत निर्णय दिएको भन्दै जताततै चर्को आलोचना भइरहेको छ ।

सो खेलमा टस जितेर ब्याटिङमा उत्रिएको न्यूजिल्याण्डले घरेलु टोली इंग्ल्याण्डलाई २ सय ४२ रनको लक्ष्य दिएको थियो । जसमा, इंग्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २ सय ४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा इंग्ल्याण्डले १५ रन बनाउँदै न्यूजिल्याण्डलाई १६ रनको लक्ष्य दियो । जसको जवाफमा न्युजिल्याण्डले १५ रन नै बनाएको थियो । तर, सुपर ओभरमा समान स्कोर भएपनि बढी बाउन्ड्री प्रहार गरेकोले खेलको नतिजा इंग्ल्याण्डको पक्षमा पर्यो ।

सो खेलको अन्तिम ओभरको चौथो बलले खेल निर्णायक बन्यो । इंग्ल्याण्डलाई जितका लागि अन्तिम ओभरमा १५ रन चाहिएको थियो । ट्रेन्ट बोल्टले पहिलो दुई बल डट गरेका थिए । तर, तेस्रो बलमा बेन स्ट्रोकले छक्का प्रहार गरे । चौथो बलमा पनि स्ट्रोकले कस्सिएर प्रहार गरे र दुई रन लिनका लागि दौडिए । तर, गुप्टिलले रन आउटका लागि फालेको बल स्ट्रोकको ब्याटमा लागेर बाउन्ड्री पुगेको थियो । त्यसपछि अम्पायरले उक्त बललाई अतिरिक्त चार रनसहित ६ रन दिएका थिए । तर, टौफेलका अनुसार अम्पायरले इंग्ल्याण्डलाई ५ रन दिनुपर्ने बताएका छन् ।

टौफेलले अम्पायरको निर्णय गलत भएका कारण खेलको नतिजा अर्कै भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘यो गतल निर्णय भएको स्पष्ट छ । अम्पायर यहाँनेर चुकेका छन् । इंग्ल्याण्डलाई पाँच रन मात्र दिनु पर्ने थियो । छ रन होइन । अम्पायरले ब्याट्सम्यानले पिच क्रस गरिसकेको सोचेका थिए । तर, ब्याट्सम्यान क्रस हुन बाँकी नै थियो । यो कुरा रिप्लेमा प्रष्ट देखिन्छ ।’ यद्यपि, यस विषयमा आईसीसीले कुनै आधिकारिक जानकारी दिएको छैन ।

प्रतिक्रिया

Loading...