fbpx

संसार हल्लाएको एक तस्बिर, जसका फोटोपत्रकारले गरेका थिए आत्महत्या

एजेन्सी,
एउटा गिद्ध आफ्नो आहाराको निम्ति एक बालिकाको मृत्युलाई पर्खिरहेको छ । यो तस्बिर दक्षिण अफ्रिकाका फोटो पत्रकार केभिन कार्टरले सुडानमा खटिएको बेला लिएका हुन् । केही महिनापश्चात उनले डिप्रेसनका कारण आत्महत्या गरेका थिए ।

सन् १९९३ मा कार्टरले सुडानको यात्रा तय गरेका थिए । त्यहाको एक गाउँमा संग्युक्त राष्ट्र संघको फिडिङ्ग सेण्टरतर्फ जानलाई संघर्ष गरि रहेकी एक बालिकामाथि उनको नजर गयो । त्यसको लगत्तै एक गिद्ध बालिका नजिकै अवतरण गर्यो, बडो होसियारीका साथ । गिद्धलाई कुनै किसिमको विघ्न नपारी उनले सो गिद्ध बालिकाको नजिक आउन्जेल २० मिनेट प्रतीक्षा गरे र अन्ततः यो तस्बिर खिचेर सो गिद्धलाई त्यहाँबाट धपाए । यो तस्बिर फोटोपत्राकारिताको ऐतिहासिक एक संसार हल्लाउने र विवादास्पद तस्बिर बन्छ भनेर उनलाई पत्तै भएन ।

अनिकालले व्याप्त सो क्षेत्रमा अभिभावकहरु प्लेनमा खानेकुरा लिन गएको बेला यसरी आफ्ना बच्चाहरुलाई केही समयका लागि छाड्ने गरेका हुन्थे । कार्टरले लिएको यो तस्बिरमा भएकी बालिकाको सम्भवत यहीँ अवस्था थियो । गिद्ध बालिकाको पछाडि अवतरण गर्यो । गिद्ध र बालिका दुवैलाई केन्द्रित गर्नको लागि कार्टरले केहि समय सावधानी अपनाए । १० मिटर टाढाबाट अन्तत उनले यो तस्बिर आफ्नो क्यामरामा कैद गरे । गिद्धलाई धपाउनुअघि उनले अन्य केही तस्बिरहरु पनि लिएका थिए ।

उक्त तस्बिर द न्युयोर्क टाइम्सलाई बिक्री गरिएको थियो, जुन पहिलोपल्ट मार्च ६, १९९३ मा प्रकाशित भएको थियो । सो रात हजारौँले त्यसबारे द न्युयोर्क टाइम्समा सम्पर्क गरेर सो बालिकाको उद्धार भएको नभएको बारे सोधपुछ गरेका थिए । सोलाई उधृत गर्दै सम्पादकीयमा सो बालिका गिद्धबाट भाग्न सक्षम रहेको तर उनको अन्तिम अवस्था बारे केही जानकारी नभएको जनाइएको थियो ।

यस तस्बिरको कारणले कार्टरमाथि बालिकालाई नबचाएर किन तस्बिरको लागि मात्र बालिकालाई प्रयोग गरियो भन्ने प्रश्नहरुको आक्रमण भएको थियो । अन्य धेरै तस्बिर खिचिसकेका कार्टरलाई यो तस्बिरबारे धेरै आलोचनाहरु आएको थियो । फ्लोरिडाको द सेन्ट पिटर्स्बर्ग टाइम्सले बालिकाको कष्टलाई फ्रेममा उतार्न क्यामेराको लेन्स मिलाइरहेका मानिस त्यो दृश्यको अर्को गिद्ध हो भनेर लेखेको थियो ।

सर्वसाधारणले कार्टरलाई उनले गिद्धलाई नधपाएर तस्बिर लिएकोमा मात्र दोष दिएनन् तर त्यसपश्चात पनि बालिकालाई सहयोग नगरेको भनेर आरोप लगाइएको थियो । कार्टरको सो कार्यावधिमा रोग फैलिने दरको कारणले गर्दा फोटो पत्रकारहरुलाई कुनै पनि किसिमको अनिकाल पीडितहरुलाई नछुनको लागि भनिएको थियो । कार्टरको अनुमान अनुसार त्यहा खाना खुवाउने केन्द्रमा प्रति घण्टा २० जना मानिसहरु मरिरहेका थिए ।

कार्टरले त्यो समय बालिकालाई आफूले सहयोग गर्न नसकेको मा पछुतो रहेको तर त्यहाँ उनले त्यो भन्दा गर्न सक्ने अन्य अवस्था नरहेको धारणा व्यक्त गरेका थिए । सन् १९९४ मा एक सुडानी बालिकालाईको पछि लागेको गिद्धको निराशाजनक यो तस्बिरको लागि केभिन कार्टरले पुलिट्जर पुरस्कार पाएका थिए । सोहि वर्ष उनले आत्महत्या गरेका थिए ।

उनको आत्महत्या बारेमा धेरै कुराहरु व्यक्त भएपनि यहि तस्बिरको कारण उनि डिप्रेसनमा परेको कारण आत्महत्या गरेको भन्ने धारणा धेरैको रहेको छ । कार्टरले खिचेका प्रख्यात तस्बिरसँगै उनले विभिन्न दमन, युद्ध, भिडन्त तथा अन्य थुप्रै कहालीलाग्दा तस्बिरहरु लिएका छन् ।

यसरी गरेका थिए उनले आत्महत्या

सन् १९९४ जुलाई २७ को दिन पार्कमोर भन्ने ठाउँमा गए, जहा उनी आफ्नो बाल्यकालमा खेल्ने गर्दथे । त्यहाँ आफ्नो पिकअप गाडिको साइलेन्सर पाइपको धुवाँ अर्को पाइपको माध्यमबाट ड्राइभर कक्षमा पास गराइ त्यहि धुवाँमा निसासिएर उनले आत्महत्या गरेका थिए । कार्बन मोनो अक्साइड विषाक्तको कारण उनको ३३ वर्षको उमेरमा उनको मृत्यु भयो ।

आफ्नो सुसाइड नोटमा उनले यस्तो लेखेका थिए, ‘मलाइ माफ गर्नुहोस् जिन्दगीको पीडाले आनन्दको त्यो क्षणलाई छोपी दियो जुन आनन्दको कुनै अस्तित्व रहेन । म उदासिन छु, फोन बिना, पैसा बिना, आफ्नो बच्चाको हेरविचार गर्ने पैसाको अभाव, ऋण, पैसा, पैसा ..! म हत्याहरु, लाशहरु, रिस र क्रोध तथा पीडाको ज्वलन्त सम्झनाहरुबाट ग्रषित छु । भोको र चोटले ग्रसित बालबालिकाहरुको सम्झना, कहिलेकाहीँ प्रहरी तथा ज्यानसजाय दिई मार्ने मान्छेहरुको सम्झना । यदि म भाग्यमानि भए मैले केन (मृत्यु भइसकेको सहपाठी केन ओस्टर्बेएक) लाई भेट्नु छ ।’

रेयर हिस्टोरिकल फोटोज डट कम

प्रतिक्रिया

fifteen − five =

Loading...