fbpx

गोरुको खुट्टा भाँचिने गरी कुट्ने लिम्बु प्रहरी नियन्त्रणमा

विराटनगर । प्रहरीले छिमेकीको गोरु कुटपिट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका–१ बाट प्रहरीले छिमेकीको गोरु कुटेको आरोपमा ३० वर्षीय प्रेम लिम्बूलाई पक्राउ गरेको हो ।

मोरङमा गोरु कुटेको आरोपमा पक्राउ परेको पहिलो घटना हो । लिम्बूले उर्लाबारी नगरपालिका–१ का ४७ वर्षीय रमेश कार्कीले पालेको गोरु कुटेका थिए । मावा खोलाको डिलमा बाँधेको कालो रंगको गोरु कुटेको आरोपमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय उलबारीका इन्सपेक्टर रामप्रसाद तिमल्सिनाले बताए ।

प्रहरीका अनुसार लिम्बुले बाधेको गोरुलाई कोदालोले कुटेका थिए । कोदालोले कुट्दा गोरुको खुट्टा भाच्चिएको छ ।आफ्नो गोरु कुटेको भन्दै कार्कीले दिएको उजुरीका आधारमा लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लिम्बुको कुटपिटबाट गोरुको दायाँ खुट्टा भाँचिएको छ । पुरानो रिसईवीका आधारमा लिम्बूले ढोलीको गोरु कुटेको बताइएको छ ।

गोरु कुटेको आरोपमा पक्राउ परेका लिम्बूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २८९ को उपदफा (१) बमोजिम कसुरमा मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीले दिएको छ ।

पशु चौपायलाई कुटपिट गरेर अंगभंग बनाएको ठहर भएमा ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । प्रहरीले गोरु कुट्दा पशु अधिकार उल्लंघन समेत भएको जनाएको छ ।

Loading...