fbpx

मलेसियाविरुद्ध जित निकाल्दै नेपालद्वारा ऐतिहासिक ‘क्लिन स्वीप’

विराटनगर,
मलेसिया भ्रमणमा रहेको नेपालले दोस्रो तथा अन्तिम टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक क्लिन स्वीप गरेको छ । पहिलो खेलमा घरेलु टिम मलेसियालाई हराएको नेपालले दोस्रो खेलमा पनि जित निकाल्दै ऐतिहासिक क्लिन स्वीप गरेको हो ।

आइतबार भएको खेलमा नेपालले मलेसियाविरुद्ध ६ रनको जित निकालेको हो । किनारारा ओभल क्रिकेट मैदानमा नेपालले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले ७ विकेटको क्षतिमा १ सय ६७ रन मात्र बनायो ।

मलेसियाका लागि सिद्ध अजिजले ५० रन बनाउँदा अमिनुद्धिन राम्लीले २४ रन बनाए । यसैगरी वीरेन्दीप सिंहले २३ रन बनाए । नेपालका लागि नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने कप्तान पारस खड्का, करण केसी र अभिनाश बोहोराले समान एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा १ सय ७३ बनाएको थियो । नेपालका लागि विनोद भण्डारीले अजिवित ५१ रन बनाए । उनको अर्धशतकमा नेपालले कीर्तिमानी लक्ष्य दिएको थियो ।

टी–ट्वान्टी आईमा नेपालले बनाएको यो हालसम्मकै उच्च स्कोर हो । यसअघि सन् २०१४ को टी–ट्वान्टी विश्वकप क्रिकेटमा हङकङविरुद्ध नेपालले १४९ रन बनाएको थियो । यस्तै नेपालका लागि शरद भेषवाकरले ४० रन बनाउँदा कप्तान पारसले २३ रन बनाए ।

बलिङमा मलेसियाका फित्री सामले ३ विकेट लिए उनले ३ ओभरमा २६ रन खर्चिए ।

योसँगै नेपालले मलेसियाविरुद्ध दुवै खेलमा जित निकाल्दै क्लिन स्वीप गर्यो । यसअघि नेपालले शनिबार भएको पहिलो टी–२० खेलमा मलेसियलाई ७ विकेटले हराएको थियो । आगामी साउन ६ देखि सिंगापुरमा हुने आईसीसी टी–२० विश्ववकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि नेपालले मलेसियासँग २ खेलको टी–२० सिरिज खेलेको हो ।

प्रतिक्रिया

Loading...