fbpx

तीन वडाध्यक्षमाथि हत्या आरोप, पक्राउ नगरेपछि कोशी अस्पताल अगाडी शव राखेर प्रदर्शन

विराटनगर,
विराटनगर र जहदाका तीन वडा अध्यक्षमाथि हत्या आरोप लागेको छ । विराटनगर महानगरपालिका– १४ का अध्यक्ष बलदेव यादव, १८ का अध्यक्ष संजय साह र जहदा गाउँपालिका १ का वडाध्यक्ष प्रदीप यादवमाथि व्यक्ति हत्याको आरोप लागेको हो ।

तीन साताअघि विवाहको विवादमा वडा अध्यक्षहरुको उपस्थितिमा विराटनगर–१४ का ५५ वर्षिय समानन्द यादवमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते यादवको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ ।

जेठ ३२ गते विवाहको बचन दिएर पूरा नगरेको भन्दै समानन्दलाई वडा अध्यक्ष बलदेव यादवको घरमा बोलाएर कुटपिट गरेका थिए । समानन्दले छोरा राजेशको बिहेका लागि जहदाकी एक युवती हेरेका थिए । उनले युवतीको परिवारसँग बिवाह गर्ने बचन पनि दिएका थिए । तर, छोराले नमानेपछि सामानन्दमाथि कुटपिट भएको थियो । कुटपिटपछि गम्भीर घाइते भएका उनको कोशी अस्पतालमा बिहीबार राति मृत्यु भएको हो ।

घटना भएको तीन सातासम्म संलग्नलाई पक्राउ नगरेको भन्दै आफन्तले कोशी अञ्चल अस्पताल अगाडि सडकमा शव राखेर प्रदर्शन गरेका छन् । समानन्दका छोरा राजेशले प्रहरीमा कुटपिट गर्ने विरूद्ध जाहेरी दिएका थिए । तर, प्रहरीले सुरुमा जाहेरी दर्ता गर्न मानेको थिएन । ढिलो गरी जाहेरी दर्ता गरेको प्रहरीले घाइतेको मृत्युपछि पनि घटनामा संलग्नलाई पक्राउ नगरेको भन्दै आफन्तले सडकमा शव राखेर प्रदर्शन गरेका हुन् ।

शुक्रबार कोशी अञ्चल अस्पताल अगाडि सडकमा शव राखेर मृतकका आफन्तले हत्यामा संलग्न तीन वडाअध्यक्षसहित आठ जनालाई पक्राउ गर्न माग गरे । तर, प्रहरी भने हत्यामा संलग्नहरुको खोजी कार्य भइरहेको बताउँछ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारी प्रहरीले दोषीलाई पक्राउ गरी कानूनी दाहेरामा ल्याउने बताउँछन् ।

के हो विवाद ?

समानन्दले छोराको विवाहका लागि जहदा गाउँपालिका १ क एक युवती हेरेका थिए । युवतीका आफन्तसँग विवाहको विषयमा छलफल गरेका थिए । तर, समानन्दका छोराले बुबाले हेरेको युवतीसँग विवाह नगर्ने बताए । बुबाले विवाहको बचन दिएपनि छोरोल नगर्ने बताएपछि युवतीका आफन्त रिसाए ।

bhid

गत जेठ ३२ गते सोही विषयमा छलफल गर्न तीनवटा वडा अध्यक्षसहितको टोली विराटनगर–१४ का वडा अध्यक्ष बलदेब यादवको घरमा भेला भएका थिए । बलदेवका छोरा रवीशंकर यादव र अन्य एक युवकले समानन्दलाई घरबाट बोलाएर छलफलका लागि ल्याएका थिए ।

बलदेवको घरमा विवाहको विषयमा छलफल भयो । सो क्रममा छोरा राजेशले नमानेका कारण समानन्दले विवाह नहुने बताए । तर, वडाअध्यक्ष बलदेव यादवसहितको समूहले विवाह गर्नुपर्ने दवाब दियो । विवाद बढ्दै जाँदा ५५ वर्षीय समानन्दमाथि निर्घात कुटपिट भएको थियो । कुटपिटका कारण उनको गर्धनमा चोट लागेको थियो ।

राजनीतिक पहुँचका आधारमा पक्राउ परेनन् आरोपी

गत जेठ ३२ गते मृतक समानन्दका छोराले प्रहरीमा ८ जनाविरुद्ध जाहेरी दिएका थिए । तीन वडाअध्यक्षसहित रवीशंकर यादव, विजय यादव र भोला यादवलगायतले कुटपिट गरेको जाहेरी थियो । तर, प्रहरीले उनीहरुमध्ये कसैलाई पक्राउ गर्ने आँट गरेन् । राजनीतिक पहुँचमा रहेका उनीहरुलाई प्रहरीले सोधपुछ पनि नगरेको स्थानीय बताउ“छन् ।

मृतक सामानन्दकी श्रीमती केदुलादेवी यादव न्याय नपाएपछि सडकमा आएको बताइन् । बलदेवका छोरा रवीशंकरले घरमा ल्याएर निर्घात कुटपिट गरेपनि प्रहरीले कसैलाई पक्राउ नगरेको उनको आरोप छ ।

घटनापछि कुटपिटमा संलग्न सबै विराटनगर र आसपासमा नै छन् । तीनजना वडा अध्यक्ष पनि नियमित कार्यालय गइरहेका छन् । तर, प्रहरीले कसैलाई कारवाही नगरेको पीडित परिवारको आरोप छ ।

राजनीतिक पहुँच भएका वडा अध्यक्षहरूलाई कारवाहीको दायरामा प्रहरीले ल्याएको छैन । तर, मोरङ प्रहरी प्रमुख विश्व अधिकारी प्रहरीले अनुसन्धान गरिरहेको बताउँछन् । घटनामा संलग्नलाई कानूनी दाहेरामा ल्याउने उनको भनाइ छ ।

Loading...