fbpx

‘नेयमारलाई बार्सिलोना फर्कँन निकै गाह्रो छ’

एजेन्सी,
स्पेनिस क्लब बार्सिलोनाका पूर्वमिडफिल्डर जाभी हर्नान्डेजले ब्राजिलका स्टार खेलाडी नेयमार बार्सिलोना फर्कँन निकै गाह्रो भएको बताएका छन् । ३९ वर्षीय जाभीले हालै दिएको एक अन्तर्वाताका क्रममा ला लिगा च्याम्पियन टोली बार्सामा नेयमार फर्किन गाह्रो भएको दाबी गरेका हुन् ।

सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका उनी पुनः बार्सिलोना फर्कन चाहेको बताइएको छ । यता, बार्सिलोना पनि नेयमारलाई दुई वर्षपछि क्याप नोउ फर्काउने कुरामा सकारात्मक देखिएको छ ।

तर, नेयमारको वर्तमान क्लब पीएसजी भने नेयमारका लागि चाहिएजत्ति रकम नदिए कतै जान नदिने बताएको छ । पीएसजीका खेल निर्देशक लियोनार्डोले उचित मूल्यमा मात्र नेयमार उपलब्ध भएको जनाएका छन् ।

यता, नेयमाले भने पुनः पीएसजीका लागि नखेल्ने अडान लिएका छन् । यसैकारण उनी प्रि–सिजनको अभ्यासमा पनि फर्किएका छैनन् । यस्तैमा स्पेनका लिजेन्ड खेलाडी जाभी भने नेयमार र बार्सिलोनाबीच पुनः हस्ताक्षर भएमा यो अविश्वसनीय हुने बताउँछन् ।

उनले भनेका छन्, ‘नेयमार र बार्साबीच पुनः हस्ताक्षर भएमा यो अविश्वसनीय हुनेछ । तर, मेरो विचारमा यो एकदमै गाह्रो छ । यद्यपि, हामीले यसका लागि भने पर्खनुपर्ने हुन्छ । यसमा कुनै शंका छैन कि उनी विश्वका एक उत्कृष्ट खेलाडी ह्न् । तर, बार्सिलोनाले के गर्छ यो भने हामीले हेनैपर्छ ।’

अहिले फ्रान्सका स्टार खेलाडी एन्टोइन ग्रिजम्यान पनि बार्सिलोनासँग जोडिएका छन् । अघिल्लो सिजनको अन्त्यमा एथ्लेटिको मड्रिडबाट बिदा लिएका स्टार खेलाडी ग्रिजम्यान बार्सिलोनामा जोडिएमा नेयमारलाई बार्सिलोनामा फर्किनु अझै मुस्किल हुनेमा कुनै दुईमत नै छैन ।

जाभीले ग्रिजम्यानको प्रशंसा गर्दै भनेका छन्, ‘उनी पनि विश्वका एक उत्कृष्ट खेलाडी हुन् । एक असाधारण खेलाडी रहेका ग्रिजम्यानले एथ्लेटिको र फ्रान्सलाई फरक बनाइदिए । उनी आधिकारिक भइसकेका छैनन् । तर, मेरो विचारमा उनी पनि बार्सिलोना जानेछन्े । ग्रिजम्यानले पनि बार्सिलोनामा प्रवेश गरेमा बार्सिलोना बलियो हुनेछ ।’

Loading...