fbpx

जडिबुटी उपचारले देश–विदेशमा चर्चित

मोरङ रंगेली नगरपालिका–४ आमतोलका अल्पसख्यक समुदायका कृषक लखिराम मुर्मु जडिबुटी उपचारले देश विदेशमा चर्चित बनेका छन् । उनकोमा देश–विदेशका असहाय गरिबदेखि धनीमानी व्यक्तिहरुसमेत उपचार गराउन आउने गरेका छन् ।

विराटनगर,
महंगो एलोप्याथिक औषधि उपचार पद्धतीमा सबैको आर्कषण बढिरहेको बेला मोरङमा सन्थाल समुदायका एक कृषक जडिबुटी प्रयोग गरेर गरिने प्राकृतिक उपचार विधिले देश–विदेशमा चर्चित बनेका छन् । मोरङ रंगेली नगरपालिका–४ आमतोलाका ७६ वर्षीय लखिराम मुर्म (सतार) आफूले पुर्खाहरुबाट सिकेको जडिबुटीको औषधि प्रयोग गरेर गरिने प्राकृतिक उपचार विधिले गर्दा देश–विदेशमा चर्चित हुन् पुगेका हुन् ।

समान्य लेखपढ मात्र गर्न सक्ने बृद्ध लखिराम मुर्मुसँग निर्धन, निमुखा गरिबहरुदेखि धनीमानि व्यक्ति नेता र मन्त्रीहरुले पनि उपचार गराउने गरेका छन् । मुर्मुले विशेष हाडजोर्नीसम्बन्धी बिरामीहरुको विशेष उपचार गर्ने गर्दछन् । आफूसँग वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वमन्त्री गोपाल किराँतीदेखि धनी व्यापारी र नामी डाक्टहरुले पनि उपचार गराइसकेको लखिरामको दाबी छ ।

अस्पतालको उपचारले थाकेपछि पुग्छन् बिरामीहरु

नामी डाक्टर र अस्पालहरुमा पुगेर पनि ठीक नभएका हाडजोर्नीका बिरामीहरु झिनो आशा लिएर उपचार गराउन आउने गरेको र केही दिन र महिनाको उपचारपछि निको भएर खुसी हुँदै फर्कने गरेको वैद्य लखिरामका नाति देवेश मुर्मु बताउँछन् । उनका अनुसार उपचारका लािग आउने बिरामीहरुमध्ये ७० प्रतिशत डाक्टर र अस्पतालमा उपचार गराइसकेकाहरु नै हुने गरेका छन् ।

जडिबुटी औषधिबाट गरिने सस्तो र विश्वसनीय उपचारको प्रसिद्धिले गर्दा नै हाल दैनिक २० देखी ३० जना बिरामीहरु उपचार गराउन आउने गरेको उपचारक मुर्मुले बताए । उनले बिरामीबारे जानकारी लिइसकेपछि आफूले तैयार गरेको जडिबुटीको औषधि दिएर पठाउने गर्दछन् । गम्भीर बिरामीहरुलाई आफ्नो अस्पतालकै बेडमा राखेर नियमित रेखदेखमा उपचार गर्ने गर्दछन् । खानपानमा सन्तुलन, आवश्यकताअनुसार मात्र योग र व्यायाम, नियमित जडिबुटी औषधि सेवन र घाउमा औषधिीो लेप लगाएर मालिस गर्नु नै उपचारक लखिरामको उपचार विधि हो ।

मुर्मु आफूहरुले हातखुट्टा र ढाड भाँचिएको, नसा सर्किएको, हाड बाथ भएको, पेटमा अल्सर भएको देखि क्यान्सर, सुगर र प्रेसरदेखी पायल्स रोगको उपचार गर्ने गरेका छन् । तर, क्यान्सर, सुगर र प्रेसर रोग चाँही आफूहरुले पूर्ण निको पार्न नसक्ने भएकोले नियन्त्रणमा मात्र गर्नसक्ने कुरा सम्झाएर बिरामीहरुलाई औषधि दिने गरेको बताउँछन् । उपचार गर्दा उनले बिरामी जाँच गरको १ सय ५० रुपैयाँ लिने गरेका छन् भने जस्तोसुकै जटिल उपचारमा पनि ३० हजारभन्दा बढीको औषधि प्रयोग गराउँदैनन् ।

गम्भिर बिरामीहरुलाई लामो समय उपचार गर्नु पर्ने भएकोले उनले आमतोलमा १८ वटा खाट राखेर अस्पताल पनि संचालन गरेका छन् । अस्पतालमा उनले काठका खाटहरु निःशुल्क उपलब्ध गराउने गरेका छन् । खाने र ओढ्ने ओछयाउने चाँही बिरामीले आफैँ व्यवस्था गर्नुपर्छ । पकाएर खानका लागि अस्पतालमा भान्छा घरको पनि व्यवस्था छ । २०६५ देखि ‘जगदम्बा मुर्मु योग जडिबुटी उत्पादन तथा उपचार केन्द्र’ नामको कम्पनी दर्ता गराएर उपचार सेवा गरिरहेका मुर्मुले विराटनगर र इटहरीमा उपचार केन्द्रको शाखा संचालन गराइरहेका छन् ।

सम्पर्क केन्द्रमा बिरामीको रेखदेख वैद्य लखिरामका छोरा परमेश्वर मुर्मुले गर्दछन् । सामान्य बिरामीहरुलाई सम्पर्क केन्द्रबाटै औषधि दिएर पठाउने गरेको र गम्भीर बिरामीहरुलाई आमतोलास्थित अस्पतालमा गएर उपचार गराउन सुझाव दिने गरेको लखिरामका छोरा परमेश्वर बताउँछन् ।

उपचार अवैज्ञानिक र औषधि महंगो भएको आरोप

केही स्थानीयहरु भने लखिरामको उपचार र औषधि वैज्ञानिक नभएको र औषधिको महंगो शुल्क असुल्ने गरेको आरोप पनि लगाउँछन् । तर, उनीसँग उपचार गराइसकेका बिरामीहरु भने त्यस्तो आरोप स्वीकार गर्दैनन् । टे«ड युनियन कांग्रेस सुनसरीका उपाध्यक्ष दुहबी ९ का मोहम्द अब्बास हात भाँचिएर सिकिस्त भएको आफूलाई अस्पतालले सही उपचार गर्न नसकेपछि उपचारक मुर्मले नै जाति पारेको दाबी गर्छन् ।

उपचारक मुर्मु पनि आफू पढेलेखको वैद्य र डाक्टर नभएको र परम्परात ज्ञान सीपका आधारमा सकेको उपचार गरेर गर्ने गरेकोले कसैको आरोपले आफूलाई कुनै असर पर्ने बताउँछन् । उनी भन्छन्, ‘मैले गर्ने उपचारमा लामो समय लाग्छ, औषधि देश–विदेशबाट खरिद गरेर ल्याएर तैयार गर्नुपर्छ । यसैले अलिकती महंगो त भैहाल्छ ।’ उनी अस्पतालमा लाखौँ लाग्ने उपचार आफूकोमा समय लागेपनि केही हजारमै ठीक हुने गरेको बताउँछन् ।

यसरी फैलियो वैद्य लखिरामको प्रसिद्धि

गाउँमा कृषक बनेर जीविका चलाइरहेका लखिराम मुर्मुले बाबु–बाजेहरुबाट प्राकृतिक उपचारको विधि सिकेका हुन् । हजुरबा–बडखु र बुबा–बडखु मुर्मुको मृत्युपछि लखिराम आपपूसँग हस्तान्तरित भएर आएको ज्ञानसीप प्रयोग गरेर गाउँघरमा बिरामीहरुको उपचार गर्ने गर्दथे । उनको उपचारबाट गाउँ र आपपासका बिरामीहरु धेरै निको हुन्थे । यसैले उनको गाउँमा चर्चा फैलिएको थियो । केही वर्षअघि मोरङ फर्साडाँगीका टेकबहादुर नामका एक धनाढ्य व्यक्तिको भाइको ५ ठाउँमा ढाड र ८ ठाउँमा करंग भाचिएको थियो ।

सबैतिर उपचार गराइसकेपछि हारेर उनलाई लखिरामकोमा ल्याइयो । लखिरामले पनि आफ्नो ज्ञानसीप प्रयोग गरेर तैयार गरको जडिबुटीको औषधि प्रयोग गरेर ८ महिना नियमित उपचार गरेर नभन्दै बाँच्दैन भनेका बिरामी ६ महिनामै हिँडडुल गर्न सक्ने भए । त्यसपछि एककान दो कान मैदान, उनको ख्याती फैलिन थाल्यो । त्यसपछि सुरु–सुरुमा कहिलेकाही मात्र बिरामीको उपचार गर्ने मुर्मकोमा उपचार गराउन आउने बिरामीको चाप बढ्न थाल्यो । उनले उपचार गरेका बिरामीहरु झन्–झन् निको हुँदै गए ।

धेरै बिरामी उपचार गराउन आउन थालेपछि २०६५ देखि लखिरामले ‘जगदम्बा मुर्मु योग जडिबुटी उत्पादन तथा उपचार केन्द्र’ नामको कम्पनी दर्ता गराए । र, आफूलाई पनि वैद्य लखिराम भनेर भनाउन थाले । हाल सोही कम्पनीको नाममा उनले आमतोलामा आफ्नै बाँस र सिमेन्टको बेरा, टिनको छानो लगाएर १८ वटा काठको खाट राखेर प्राकृतिक अस्पतालको रुपमा संचालन गरिरहेका छन् । उक्त अस्पतालमा हाडजोर्नी पीडित असक्त बिरामीहरु हप्तौँ, महिनौँसम्म बसेर उपचार गराउने गर्दछन् ।

प्रतिक्रिया

1 × 5 =

Loading...