fbpx

विप्लवका जिल्ला इञ्चार्जसहित कार्यकर्ता नेकपामा

काठमाण्डौं ।
नेत्र विक्रम चन्द समूहका मेची–कोशी ब्यूरो सदस्य एवम् झापा जिल्ला इञ्चार्जसहित नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई आज आफ्नै निवास खुमलटारमा स्वागत गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकताअनुसार विचार राजनीतिकलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको मोडल दिने नेतृत्वको सपना भएको बताए ।

उनले बाँकी रहेका सबै कम्युनिष्ट पार्टी र समूह एकजुट भई महान् उद्देश्य पूरा गर्न लाग्नुपर्ने बताए । उनले जो जहाँ ब्युँझियो त्यहीँबाट उठेर हिँड्ने हो भन्दै सबैलाई भने ब्युँझाउन नसकिने बताए । अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनमा लामो समय योगदान गरेका वरिष्ठ नेतालाई पनि नेकपामा आउन आह्वान गर्दै सबैको योगदानको कदर नेकपामा हुने बताए ।

पार्टी प्रवेश कार्यक्रममा नेता तथा कार्यकर्ताको नेतृत्व गरी आएका मेचीकोशी ब्यूरो सदस्य तथा झापा ब्यूरो इञ्चार्ज सौगात आचार्यले हतियार नै उठाएर मात्र समाजवाद आउँछ भन्ने आफूहरुलाई नलागेको बताए । उनले जुन व्यवस्था ल्याए पनि फेरि युद्ध गर्ने र मानिस मर्ने नभए हुन्थ्यो भन्ने जनताले आफूहरुलाई दिएको सुझावका कारण आफूहरु शान्तिपूर्ण राजनीतिमा आएको बताए ।

कार्यक्रममा सगरमाथा ब्यूरो सदस्य एवम् सङ्खुवासभा सेक्रेटरी छिरिङ शेर्पा, पाँचथर जिल्ला सचिवालय सदस्य वीरेन्द्र मगराती, झापा जिल्ला सदस्य नारदमणि साम्पाङ, सोलुखुम्बु जिल्ला सदस्य नवराज ढकाल, धनकुटा जिल्ला सदस्य एडी राई, सोलुखुम्बुका जिल्ला सेक्रेटरी वीरता खड्का, सङ्खुवासभा जिल्ला सदस्य प्रतिमान राई लगायतकाले पार्टी प्रवेश गरेका छन् ।

प्रतिक्रिया

17 − seven =

Loading...