fbpx

रोनाल्डो र एम्बाप्पेलाई पछि पार्दैै मेस्सीले जिते ‘उत्कृष्ट वर्ष पुरुष फुटबलर’को अवार्ड

एजेन्सी,

अर्जेन्टिनी कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीलाई इएसपीवाई उत्कृष्ट वर्ष फुटबलरको अवार्डबाट सम्मान गरिएको छ । स्पेनिस क्लब बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सीलाई अमेरिकन ब्रोडकास्ट कर्पोरेशन (एबीसी)ले उक्त अवार्डबाट सम्मान गरेको हो ।

अमेरिकाको लस एन्जल्सस्थित माइक्रोसफ्ट थिएटरमा बुधबार आयोजित एक विशेष समारोहमा मेस्सीलाई ‘बेस्ट इन्टरनेशनल मेन्स फुटबल प्लेयर’बाट सम्मान गरिएको हो । यद्यपि, मेस्सी उक्त कार्यक्रममा अनुपस्थित थिए ।

मेस्सीले उक्त अवार्ड जित्दा आफ्ना निकटतम प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डाका साथै युवा स्टार किलियन एम्बाप्पे र भर्जिल भान डाइकलाई पछि पारे । यस सिजन क्लबका लागि सबै खाले प्रतियोगितामा ५१ गोल गरेका मेस्सीले बालोन डी‘ओरको दौड प्रतिस्पर्धी बनेका भर्जिज भान डाइक र रोनाल्डोलाई पछि पारेका हुन् ।

पाँचपटकका बालोन डी‘ओरका विजेतासमेत रहेका मेस्सीले यस वर्ष व्यक्तिगत अवार्डतर्फ वर्चस्व नै बनाएका छन् । सन् २०१८–१९ को सिजनमा धमाधम व्यक्तिगत अवार्ड जितिरहेका मेस्सीलाई यस वर्षको बालोन डी‘ओरको प्रमुख दाबेदारको रूपमा हेरिएको छ ।

उनीमात्र नभएर समान पाँच पटकनै बालोन डी‘ओरको अवार्ड जितेका पोर्चुगिज स्टार रोनाल्डोलाई पनि दाबेदारको रूपमा हेरिएको छ । यस्तै, लिभरपुलका दुई स्टारहरू पनि बालोन डी‘ओरको दौडमा मेस्सी र रोनाल्डो सँगसँगै छन् । सन् २०१८–१९ को च्याम्पियन्स लिगको विजेता टोली लिभरपुलका गोलकिपर एलिसन बेकर र भर्जिल भान डाइकलाई पनि दाबेदार खेलाडीकै रूपमा हेरिएको छ ।

इएसपीवाई अवार्ड बर्सेनि आयोजना हुने पुरस्कार हो । जुन, फ्यान, खेल पत्रकार, ब्रोडकास्टर, स्पोर्ट्स पर्सनलगायतको मतको आधारमा प्रदान गरिन्छ । सन् १९९३ बाट यस पुरस्कार प्रदान गरिँदै आएको छ ।

प्रतिक्रिया

nine − 2 =

Loading...