fbpx

हाँस्य कलाकार शिवहरीको ‘लक्का जवान’मा प्रियंकाको इन्ट्री

विराटनगर,
नेपाली टेली सिरियलका हाँस्य कलाकार शिवहरी पौडेलको निर्माण तथा निर्देशनमा तयार हुन लागेको फिल्म ’लक्का जवान’ मा अभिनेत्री प्रियंका कार्कीको इन्ट्री भएको छ । हाल आफ्नै निर्माण, निर्देशन र अभिनयमा एक वेब सिरिज बनाइरहेकी प्रियंकाले फेरी पनि एकपटक कलाकारको ठूलो भीड रहने फिल्ममा ‘लक्का जवान’ मा अभिनय गर्ने भएकी हुन् ।

यस अघि फिल्म ‘छक्का पञ्जा’ मा प्रियंका र शिवहरीले सँगै काम गरिसकेका छन् । हिजो बुधबारका दिन फिल्मका सह(निर्माता किरण केसीको कार्यालयमा उनीसँग निर्माण टिमले कागजी सम्झौता समेत गरिसकेको छ । फिल्म ‘लक्का जवान’ मा प्रियंका सोलो हिरोइन भने होइनन् । फिल्ममा अझै दुई अभिनेत्रीको प्रवेश हुने भएको छ । प्रियंकाको भूमिकाको बारेमा निर्माण टिमले कुनै पनि जानकारी भने दिएको छैन ।

फिल्म ‘लक्का जवान’को निर्माण घोषणा भए देखि नै उक्त फिल्ममा अभिनेता दीलिप रायमाझीको छोरी दिव्या रायमाझीले मुख्य भूमिका निर्वाह गर्दै नेपाली सिने क्षेत्रमा अभिनेत्रीको रुपमा डेब्यु गर्ने चर्चा चलेको छ । उनलाई यस फिल्मको अफर पनि गरिएको छ । हाल अमेरिकामा रहेकी उनको फिल्म खेल्ने इच्छा भएता पनि उनले ‘लक्का जवान’ गर्ने वा नगर्ने कुनै पनि निर्णय दिएकी छैन ।

फिल्मको कलाकार र प्राबिधिक पक्षको लागि अहिले कलाकारहरुको छनौट भइरहेको निर्देशक शिवहरीले बताएका छन् । यो उनको डेब्यु निर्देशन फिल्म हुने छ । आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लिको ब्यानरमा रहेर निर्माण हुन लागेको यस फिल्ममा पारिवारिक तथा कमेडी कथामा आधारित रहेर निर्माण गरिन लागेको निर्देशक शिवहरीले जानकारी दिएका छन् ।

अहिले हास्य फिल्म धेरै बनिरहेका कारण बनावटी नभएर कथाको मागअनुसार मात्र रियालिटी बेसमा कमेडी फिल्म बनाउने जानकारी दिदै फिल्मको छायाँकन पनि छिट्टै गर्ने आफ्नो कोसिस रहेको थपे ।

प्रतिक्रिया

Loading...