fbpx

निकाश नहुँदा जलमग्न विराटनगर : मुख्यमन्त्री लिग धरान सर्‍यो, अस्पताल पुग्न मुस्किल

विराटनगर,
परेको पानी निकाश हुने नाला नहुँदा विराटनगर बजार क्षेत्र जलमग्न बनेको छ । तीन दिनदेखि भएको लगातार वर्षाका कारण बजार क्षेत्र जलमग्न भएको हो ।

वर्षाकै कारण विराटनगरमा आयोजना गर्न लागिएको मुख्यमन्त्री प्रदेश लिग धरान सारिएको छ । बिहिबारबाट विराटनगरको शहीद रंगशालामा प्रतियोगिता उद्घाटन गर्ने कार्यतालिका थियो । तर, परेको पानी निकाश नहुँदा रंगशालामा दह बनेपछि प्रतियोगिता धरान सारिएको प्रतियोगिताका संयोजक एंव अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईले जानकारी दिए ।

शहीद रंगशाला मर्मतका लागि करिब एक करोड २५ लाख खर्च गरेर मैदानमा पानी नजम्ने बनाइएको थियो । मैदानबाट निस्किएको निकाश नाला बाहिरी सडकको नालामा जोडिएको छ । तर, बाहिरी सडकको निकाश नालामा नै अवरोध भएका कारण मैदानमा जमेको पानी निकाश भएन् । जलमग्न मैदानमा प्रतियोगिता गर्न नसक्ने अवस्था भएपछि लिग धरान सारिएको हो ।

निकाश नाला नहुँदा कोशी अञ्चल अस्पताल पनि जलमग्न भएको थियो । वर्षाका कारण विराटनगरको मुख्य बजार क्षेत्र जलमग्न बनेको छ । विराटनगरमा क्षेत्रीय सहरी विकास परियोजनाअन्तर्गत ढल नाला तथा सडक निर्माणको काम भइरहेको छ । परियोजनाको काम सञ्चालन महानगरपालिकाले चासो नदिएका कारण जलमग्न बनेको हो ।

पूर्वतयारी शून्य, डुबानमा परेपछि स्काभेटर

विराटनगर महानगरपालिका दुई वर्षअघि पनि डुवानमा परेको थियो । बजार क्षेत्र डुबानको मुख्य कारण निकाश नाला नै थियो । बजार क्षेत्र डुबानमा परेको दुई वर्षसम्म महानगरपालिकाले पूर्व तयारी गरेन । महानगरपालिकाले समयमा नै निकाश नालामा भएका अवरोध हटाएको भए सानो पानी पर्दा जलमग्न हुने थिएन । वर्षाअघि पूर्वतयारी नगरेको महानगरपालिका डुबानमा परेपछि स्काभेटर लिएर निकाश नाला ‘क्लियर’ गर्न निस्किएको छ ।

विराटनगरको बजार क्षेत्र निर्माणको चरणमा रहेका कारण पानी पर्दा डुबानमा परेको मेयर भीम पराजुली बताउँछन् । परेको पानी निकाश नभएपछि स्काभेटर प्रयोग गरेर ब्लकेज भत्काउन थालिएको उनले बताए । महानगरपालिका निर्माणको चरणमा रहेका कारण जनताले दुःख पाएको बताउँदै उनले सर्तक रहन आग्रह गरे ।

कोशी अञ्चल अस्पताल डुबानमा पर्नुको कारण निकाश नाला नभएको बताउँदै उनले अस्पतालको पानी निकाश गर्न ब्लकेज भत्काइएका कारण पानी निकाश हुन थालेको बताए । मेयर पराजुली विराटनगर दरैया क्षेत्र बढी डुबानमा परेको बताउँछन् ।

प्रतिक्रिया

eleven − one =

Loading...