Rumpum Advertisement
Dazzu

‘रोनाल्डोलाई युनाइटेडले सुपरस्टार बनाएको हो’

‘रोनाल्डोलाई युनाइटेडले सुपरस्टार बनाएको हो’

एजेन्सी,
इंग्लिस क्लब म्यानचेष्टर युनाइेटका पूर्वमिडफिल्डर जोनाथन स्पेक्टरले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो युनाइटेड आउँदा एक निराशाजनक खेलाडी रहेको बताएका छन् । ३३ वर्षीय अमेरिकन खेलाडी जोनाथनले अमेरिकन ग्याम्बलर डटकमसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

उनले ओल्ड ट्राफोर्ड आउँदा रोनाल्डो एक निराशाजन खेलाडी भएको र उनाई सुपरस्टार बनाउने श्रेय युनाइटेडलाई जाने बताए । उनका अनुसार रोनाल्डोलाई विश्वको उत्कृष्ट खेलाडी बनाउने काम युनाइटेडले गरेको हो ।

रोनाल्डो सन् २००३ मा युनाइटेडमा आएका थिए । त्यसअघि उनले स्पोर्टिङ सीपीबाट खेलेका थिए । युनाइटेडले तीन प्रिमियर लिग र एक च्याम्पियन्स लिगको उपाधि जित्दा उनले महत्त्वपूर्ण भूमिका निभाएका थिए । यसै उपलब्धीका साथसाथै रोनाल्डोले सन् २००८ मा पहिलो बालोन डी‘ओर जितेका थिए ।

हालसम्म पाँच पटकका बालोन डी‘ओरका विजेता रहेका रोनाल्डोलाई उनका पूर्व सहकर्मी जोनाथन विश्वका उत्कृष्ट खेलाडी भन्न रुचाउँछन् । उनी भन्छन्, ‘मेरो विचारमा अहिले उनी सबै खेलाडीका प्रेरणाको स्रोत बन्न सक्छन् । तर, उनी युनाइटेड आउँदा निराश थिए । उनीसँग धेरै क्षमता थियो तर, उनी स्टार बनिसकेका थिएनन् ।’

‘सर एलेक्स फर्गुसनले धेरै राम्रो काम गरेका छन्,’ उनले थपे, ‘ फर्गुसनले सबै खेलाडीलाई सहयोग गरे र राम्रा खेलाडी उत्पादन गरे । उनले रोनाल्डोलाई पनि एक उत्कृष्ट खेलाडी बनाएरै छोडे । रोनाल्डो धेरै नै खास खेलाडी भए ।’

यसैगरी, जोनाथनले त्यतिबेला रोनाल्डालाईे फर्गुसनले प्रयत्न नगरेको भए अहिले उनी प्रख्यात खेलाडी हुनै नसक्ने बताए । उनले भने, ‘फर्गुसनले रोनाल्डोलाई सुपरस्टार बनाउन अनेक गरेका थिए । यो एकदमै हाँस्यास्पद छ कि, फर्गुसनले यो कुरा मलाई कहिल्यै भनेका थिएनन् । मेरो विचारमा फर्गुसन पनि रोनाल्डोका लागि एकदमै खास छन् ।’

पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डो हाल इटालियन क्लब युभेन्टसबाट व्यवसायीक फुटबल खेलिरहेका छन् । उनी सन् २०१८–१९ को सिजनमा स्पेनिस महारथी क्लब रियल मड्रिडबाट इटाली आएका हुन् । रियल मड्रिडमा छँदा उत्कृष्ट प्रदर्शन गरेका उनले इटाली आइकन पनि आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् । ३३ वर्षीय रोनाल्डोले स्पेन, इंग्ल्याण्ड र इटाली गरी तीनै देशबाट ट्रफी जितेका छन् ।