fbpx

‘यस पटकको बालोन डी‘ओर मेस्सीले जित्नेछन्’

एजेन्सी,
बार्सिलोनाका पूर्वस्टार तथा ब्राजिलियन लिजेन्ड खेलाडी रिभाल्डोले सन् २०१९ को बालोन डी‘ओर अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले जित्ने दाबी गरेका छन् । स्पेनिस क्लब बार्सिलोनाका कप्तानसमेत रहेका मेस्सीले यस वर्षको बालोन डी‘ओर अवार्ड उचाल्ने दाबी गरेका हुन् ।

उनका अनुसार लियोनल मेस्सी युरोपियन च्याम्पियन्स लिगको उपाधि नजितेको अवस्थामा पनि प्रतिष्ठित उपाधि बालोन डी‘ओरको हकदार खेलाडी हुन् । ‘मेरो विचारमा मेस्सीले यस पटकको बालोन डी‘ओर जित्नेछन्,’ उनले मार्कासँग भनेका छन्, ‘उनले पहिलेझैं यस पटक पनि सो अवार्ड जित्नेछन् ।’

यसैगरी रिभाल्डोले पाँच पटकका बालोन डी‘ओर विजेता मेस्सी व्यक्तिगत उच्च प्रदर्शनका आधारमा उक्त अवार्डको हकदार भएको बताए । उनले भने, ‘हो, उनले च्याम्पियन्स लिग जितेका छैनन् । तर, व्यक्तिगत अवार्डमा उनले धेरै उपलब्धी बनाएका छन् ।’

४७ वर्षीय रिभाल्डोले मेस्सीले महत्त्वपूर्ण गोल गरेको बताउँदै भने, ‘मेस्सीले धेरै र महत्त्वपूर्ण गोल गरेका छन् । यसकारण उनी यसको हकदार हुन् । मेस्सी बार्सिलोनाका लागि एक फरक खेलाडी हुन् । र, उनी क्रिष्टियानो रोनाल्डोसँगै एक महान खेलाडी हुन् ।’

३२ वर्षीय मेस्सीलाई सन् २०१९ को बालोन डि‘ओर अवार्डका लागि प्रमुख दाबेदार मानिएको छ । मेस्सीको क्लब बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलबाटै बाहिरिएपनि उनलाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ । यद्यपि, उनका प्रतिस्पर्धीका रूपमा अहिले दुई स्टार खेलाडी उभिएका छन् ।

युरोपियन च्याम्पियन्स लिगको विजेता टोली लिभरपुलका डिफेन्डर भान डिज्कलाई पनि यस पटकको बालोन डी’ओर अवार्डका दाबेदारका रूपमा हेरिएको छ । च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका बहन गरेका उनले पनि बालोन डी‘ओर जित्ने सक्ने धेरैको आँकलन छ ।

यसैगरी, लिभरपुलकै गोलकिपर एलिसन बेकरले पनि यसपटकको बालोन डी‘ओर जित्नसक्ने आँकलन धेरैले गर्दै आएका छन् । लिभरपुललाई यसपटकको च्याम्पियन्स लिगको उपाधि दिलाउन र ब्राजिललाई आफ्नै भूमिमा जारी ४६औं संस्करणको कोपा अमेरिकाको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निभाएका कारण बेकरलाई सन् २०१९ को बालोन डी‘ओर जित्ने भन्ने चर्चा चलेको हो । हालसम्म मेस्सी र रोनाल्डोले मात्र समान ५–५ पटक बालोन डी ‘ओरको अवार्ड जितेका छन् । र, सबैमा कसले बालोन डी’ओर जित्ने भन्नेमा कौतुहलता उत्पन्न भएको छ ।

प्रतिक्रिया

twenty − nineteen =

Loading...