fbpx

भारतको विश्वविजय सपना अपुरो, न्यूजिल्यान्ड फाइनल

काठमाडौं ।

न्युजल्याण्डसँग १८ रनले हारेको भारतको विश्वकप क्रिकेट यात्रा टुंगिएको छ । राेमाञ्चक खेलमा भारतलाई पराजित गर्दै न्यूजिल्यान्ड  विश्वकप क्रिकेटकाे फाइनल प्रवेश गरेकाे छ । उपाधिकालागि न्यूजिल्यान्डले इंग्ल्यान्ड र  अष्ट्रेलियाबीचकाे विजेता टाेलीसँग प्रतिसपर्धा गर्नेछ ।

बुधबार सम्पन्न सेमिफाइनल खेलमा २४० रनको लक्ष्य पछ्याएको भारत रनमा २२१ रनमा समेटियो । भारतका लागि रवीन्द्र जडेजाले ७७, महेन्द्र सिंह धोनीले ५० र हार्दिक पाण्ड्या तथा रिषभ पन्तले समान ३२ रन जोडे । सुरुवातदेखि नै खराब प्रर्दशन गरेको भारतका रोहित शर्मा, कप्तान विराट कोहली र केएल राहुल समान १–१ रनमा आउट भए ।

१.३ ओभरमा रोहित एक रनमा आउट हुँदा भारतको मात्र चार रन थियो । दोस्रो विकेटमा कप्तान विराट कोहली १ रन जोड्दै पवेलियन फर्किए । ३.१ ओभरमा राहुल पनि आउट भएपछि भारत दबाबमा पर्याे । बलिङतर्फ मट हेनरीले ३ विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल साट्नरले समान २–२ विकेट लिए ।

मंगलबार भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल चलिरहँदा पानी परेपछि रोकिएको खेल बुधबार ‘रिजर्ब डे’ अनुसार भएको हो ।

यसअघि मंगलबार न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रन बनाउँदा पानी परेको थियो । भारतकालागि बलिङतर्फ भुवनेश्वर कुमारले तीन विकेट लिए ।

प्रतिक्रिया

Loading...