fbpx

‘भूल भुलैया २’ मा कार्तिक आर्यनसँग अक्षयको सम्भावना कति ?

हरर कमेडी जनरामा आधारित भएर निर्माण भएको फिल्म ‘भूल भुलैया’ सन् २००७ को सफल फिल्म थियो । अभिनेता अक्षय कुमार र अभिनेत्री विद्या बालनको मुख्य भूमिका रहेको फिल्म ‘भूल भुलैया’ को सिक्वेल निर्माण हुने पक्का भएको छ । फिल्म सफल भएपछि नयाँ नाम सोचेर फिल्म बनाउँदा नचल्ने डरले धेरै जसो फिल्मका निर्देशकहरु सिक्वल बनाउने तिर लागिपरेका छन् ।

यस फिल्मको सिक्वल भूषण कुमारले निर्माण गर्न लागेका हुन् । ‘भूल भुलैया’मा विद्याको भूमिका निकै रहस्यमयी देखाइएको थियो । फिल्ममा अक्षय र विद्याका अलावा शाइनी आहूजा, अमीषा पटेल, राजपाल यादव र परेश रावलको मुख्य भूमिका रहेको थियो । सिक्वेल निर्माणको खबर सार्वजनिक भएसँगै फिल्ममा अभिनय गर्ने मुख्य कलाकार को रहने बिषयमा निकै चर्चा चलिरहेको छ ।

यसै क्रममा ‘भूल भुलैया २’ का युनिटले भने अहिलेका चर्चित अभिनेता कार्तिक आर्यनलाई फाइनल गरिसकेका छन् । निर्माता भूषण कुमारले फिल्मको नाम ’भूल भुलैया २’ भनेर रजिस्टर समेत गरिसकेका छन् । कार्तिकले हालै ‘भूल भुलैया २’ का निर्मातासँग भेट गरेर फिल्मको कथा मन परेको बताएका छन् । चलचित्रको यति बेला धमाधम स्क्रिप्टको काम भइरहेको छ ।

फिल्मको मुख्य भूमिकाका लागि अन्य कलाकार पनि फाइनल भइसकेका छन् भने निर्माण टिमले भने कार्तिक आर्यन बाहेक अरु कलाकारलाई सार्वजनिक भने गरेको छैन । उक्त फिल्मको सिक्वलको निर्देशन र लेखन फरहाद सामजीले गर्ने भएका छन् । फिल्म अक्षय बिना पुरा नहुने भएको कारणले फिल्ममा कार्तिकसँग अभिनेता अक्षय कुमारलाई पनि देखिन सक्ने चर्चा चलि रहेको छ ।

कार्तिक अहिले ‘लभ आज कल’ को दोस्रो पार्ट ‘लभ आज कल २’को छायांकनमा व्यस्त छन् । यस फिल्ममा कार्तिक अभिनेत्री सारा अली खान देखिँदै छन् । ‘लभ आज कल २’को छायांकन पछि कार्तिकले भूमि पेडनेकर र अनन्या पान्डेसँग फिल्म ‘पति पत्नी और वो’ को छायांकन सुरु गर्ने भएका छन् । यस पछि मात्र कार्तिकले ‘भूल भुलैया २’ का लागि समय दिने छन् ।

Loading...