birat ribon

साउनदेखि देशभर राष्ट्रिय परिचयपत्र बाँडिने

Neuro
साउनदेखि देशभर राष्ट्रिय परिचयपत्र बाँडिने

काठमाडौं ।

आउँदो आर्थिक वर्षदेखि देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न सरकारले प्रतिघण्टा एक हजार कार्ड छपाइको योजना बनाएको छ ।

cura insider

हाल प्रतिघण्टा ६०० परिचयपत्र उत्पादन हुँदै आएकामा सबै जिल्लामा वितरण शुरु गर्न यन्त्रको क्षमतावृद्धिसहित प्रशासनिक र प्राविधिक व्यवस्थापनमा सरकार जुटेको छ । कार्ड उत्पादन सिंहदरबारस्थित गृह मन्त्रालयमै सुरक्षित रुपमा हुँदै आएको छ ।

व्यक्तिका वैयक्तिक र जैविक सूचनालाई आधिकारिक रुपमा सङ्कलन गरी प्रत्येक नागरिकलाई एकार्कासँग मेल नखाने मौलिक परिचय नम्बर दिई बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण हाल अभियानकै रुपमा भइरहेको छ । परिचयपत्र पाएपछि नागरिकले सरकारी काम र सेवा लिनका लागि अन्य कागजात र परिचयपत्र बोकिरहनुपर्ने झन्झटको अन्त्य हुनेछ ।

राष्ट्रिय सुरक्षा, विकास व्यवस्थापन र राजश्व परिचयपत्र व्यवस्थापन प्रणालीलाई आबद्ध गरी महत्वपूर्ण सूचना औजारका रुपमा राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय परिचयपत्रको उपयोग गर्ने यो नेपालका लागि नयाँ प्रणाली हो ।

मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणको लक्ष्यअनुसार पाँचथर र सिंहदरबारस्थित केन्द्रीय निकायका राष्ट्रसेवक गरी एक लाख १७ हजारलाई परिचयपत्र वितरणको लगभग पूरा गरेको छ । दोस्रो चरणमा आगामी साउनदेखि एकैपटक सबै जिल्लामा वितरणको तयारी भइरहेको छ । सबै नागरिकलाई यो परिचयपत्र वितरणका लागि रु साढे सात अर्ब लाग्ने अनुमान छ ।

यसले सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सघाउनेछ । देशैभर कार्ड वितरण सकिएपछि यसको उपयोगबारे सरकारले निर्णय गर्नेछ । विभागका महानिर्देशक दीपक काफ्लेले नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार हालसम्म सिंहदरबार र केन्द्रीय निकायका अति विशिष्टसहित सात हजार कर्मचारी र पाँचथरका ८० प्रतिशत नागरिकले यो परिचयपत्र पाइसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र मंगलबार हस्तान्तरण गरिएको छ । विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि चाँडै उक्त परिचयपत्र हस्तान्तरण गरिने भएको छ ।

आगामी आवको बजेटमा ‘सबै नेपालीको बायोमेट्रिक पहिचान र पृथक नम्बरसहितको राष्ट्रिय परिचयपत्र वितरण शुरु गरी दुई वर्षभित्र एक नेपालीले एकभन्दा बढी परिचयपत्र बोक्नु नपर्ने व्यवस्था गरिने’ उल्लेख छ । गत मङ्सिर ३ गते पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई गृहमन्त्री रामबहादुर थापाले पहिलो परिचयपत्र प्रदान गरेका थिए ।

साउनदेखि १५ जिल्लामा वितरण हुने

आगामी साउनदेखि छ प्रदेशका दुई–दुई र प्रदेश नं ३ का तीन जिल्ला गरी १५ जिल्ला तथा आगामी दशैँपछि बाँकी जिल्लामा कार्ड वितरण शुरु गरिने विभागको योजना छ ।

jackson ribon