fbpx

‘गीत गजल’को पोस्टर सार्वजनिक, रोमान्टिक अवतारमा रुप र आरोही

विराटनगर,
फिल्म ‘गीत गजल’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको उक्त पोस्टरमा यस फिल्ममा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रुप पोखरेल र अभिनेत्री आरोही सिंहलाई देखाइएको छ । पोस्टरमा यी दुइलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्मको निर्माण टिमले असोज २४ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरेको छ ।

film

फिल्मलाई नीतिन चन्दले निर्देशन गरेका हुन् । फिल्म ‘जोनी जेन्टलम्यान’पछि यो उनको दोस्रो निर्देशन रहेको छ । फिल्म ‘जोनी जेन्टलम्यान’मा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्माको अभिनय रहेको थियो भने चन्दले यो पटक नयाँ कलाकारलाई अवसर दिएका छन् । यो फिल्म मार्फत रुप र आरोहीको चलचित्रमा डेब्यू गरेका हुन् ।

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा रुप र आरोहीका साथ रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली लगायतका कलाकारको पनि अभिनय रहेको छ । बाबु श्रेष्ठले छायांकन गरेको यस फिल्ममा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद रहेको छ । अर्जुन जिसीको सम्पादन रहेको यस फिल्ममा अर्जुन पोखरेलको संगीत, र ड्रेस डिजाइनमा उत्तम बनेपालीलाई तेन्जीन भुटियाले सहयोग गरेका छन् ।

सुदीप कुँवरको मुख्य सहायक निर्देशन रहेको फिल्मको पहिलो गीत यही शुक्रबार रिलिज हुने भएको छ । एक गीत भारतको गोवामा छायांकन गरिएको हो । नव अभिनेता रुप र नव अभिनेत्री आरोही आफ्नो पहिलो फिल्मलाई लिएर निकै उत्साहित रहेका छन् । निर्देशक चन्दले आफूले यस फिल्मलाई उत्कृष्ट बनाउन कुनै पनि कसर बाँकी नछाडेको र दर्शकहरुलाई एकपटक फिल्म हेरिदिन आग्रह गरेका छन् ।

Loading...