fbpx

विश्वकपको एशिया छनोट खेल्न नेपाली टोली मलेसिया प्रस्थान

काठमाडौं,
सिङ्गापुरमा आयोजना हुने आइसीसी टी–ट्वान्टी विश्वकप एशिया छनोट फाइनल खेल्न जाने नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान गरेको छ । पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोली मंगलबार मलेसिया प्रस्थान गरेको हो ।

सिङ्गापुरमा आयोजना हुने उक्त आइसिसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल प्रतियोगिता तयारीको लागि नेपाली टोली सिङ्गापुर जानुअघि मलेशिया गएका हुन् । मलेसियामा नेपालले घरेलु टोलीसँग दुई खेलको टी ट्वान्टी सिरिज खेल्नेछ ।

नेपाल र मलेसियाबीचको सिरिज यही असार २८ र २९ गते हुनेछ । टी ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिङ्गापुर जानेछ । प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले आफ्नो पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

त्यस्तै साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिङ्गापुरसँग खेल्नेछ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, व्सन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी छन् । वैकल्पिकतर्फ सुशन भारी, कुशल भुर्तेल, आरिफ शेख र जितेन्द्र मुखिया छन् ।

प्रतिक्रिया

two × 4 =

Loading...