fbpx

अण्डाको मूल्य बढ्दापनि खुसी छैनन् किसान

चितवन,

कुखुराको अण्डाको मूल्य वृद्धि भएको छ । तर कृषकले भने लागत मूल्य पनि पाउन सकेका छैनन् । प्रतिक्रेट २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य २८० पुगेको छ । सानो अण्डाको मूल्य रु ११५ बाट बढेर रु २३० पुगेको छ ।

नेपाल अण्डा उत्पादक सघंका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेल कृषकको लागत मूल्य नै प्रतिगोटा १० रुपैयाँ पर्ने बताउँछन् । बढेको बिक्रीमूल्य समग्रमा प्रतिगोटा आठ रुपैयाँ ५० पैसा मात्र पर्दछ । अण्डको मुल्य वृद्धि भएपनि कृषक अझै खुसी हुन सकेका छैनन् ।

हाल दैनिक ४० लाख हाराहारी अण्डा उत्पादन हुन्छ । यो सङ्ख्या ५५ लाख पुगेको थियो । तर क्रमशः घट्दै आएको कँडेलको भनाइ छ ।

अण्डाको मूल्य कम भएपछि धेरैले माउ कुखुरा बिक्री गरेका छन् । यससँगै चर्को गर्मीका कारण उत्पादनमा कमी आएको छ । पछिल्लो समय कृषकले चल्ला राख्नसमेत छाडेका थिए । यसबाट अण्डा उत्पादनमा क्रमशः गिरावट हुँदै जाने अनुमान गरिएको छ । सघंका केन्द्रीय सचिव मदन पोखरेल अण्डाको माग अनुसार आपूर्ति हुन कठिन भएकाले क्रमशः मूल्यवृद्धी हुँदै जाने अवस्था आउने बताउँछन् ।
तीन वर्षअघि अण्डाको मूल्य बढेर प्रतिक्रेट रु ३६० पुगेको थियो । गत एक वर्षयता भने खर्च नधान्ने गरी मूल्यमा गिरावट आएको कृषकको भनाइ छ ।

पोख्रेलका अनुसार नेपालमा सात हजार कृषकले कुखुरा पाल्ने गरेको तथ्याङ्क छ । एक लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । लेयर्स कुखुरामा मात्र एक अर्ब लगानी भएको अनमान गरिएको छ ।

दानाको मूल्य र बैंकको ब्याज बढ्दा अण्डाको मूल्य घट्दै गएपछि व्यवसायी पलायन हुने अवस्था आएको सचिव पोखरेल बताउँछन् ।रासस

Loading...