fbpx

हङकङलाई हराउँदै नेपालले जित्यो एसीसी इस्टर्न रिजन क्रिकेटको उपाधि

विराटनगर,
मलेसियामा जारी एसीसी इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ । साबिकको विजेतासमेत रहेको नेपालले मंगलबार भएको फाइनल खेलमा हङकङविरुद्ध प्रभावशाली जित निकाल्दै उपाधि जितेको हो ।

cric

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेटमा मैदानमा आज भएको फाइनल खेलमा नेपालले हङकङविरुद्ध ७ विकेटको जित निकालेको हो । हङकङले दिएको ९६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा भेट्टाएको हो ।

नेपालको जितमा पवन सरार्फले ३९ रन बनाए । पवनले ३६ बल खेल्दा ५ चौका र एक छक्का प्रहार गरे । यस्तै रित गौतमले १४ बलमा २ चौकाको सहायताले १३ रन जोडे । यस्तै खडकबहादुर बोहोराले ८ रन बनाए । बलिङतर्फ हङकङका मोहम्मद हसन र मोहम्मद हसन खानले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएके हङकङले ४३ दशमलव १ ओभरमा अलआउट हुँदै ९५ रनमा समेटिएको थियो । हङकङका आठ ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खराब शुरुआत गरेको हङकङले रनको खाता नै नखोली दुई विकेट गुमाएको थियो । आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड्दै हङकङको इनिङ्स उकासेका थिए । यस्तै रौनक कपुरले १२ रन जोडे ।

nepal

हङकङलाई सस्तैमा समेट्न क्रममा नेपालका सागर ढकाल एक्लैले पाँच विकेट लिए भने कमल सिंह ऐरीले तीन तथा कुशल मल्ल र तिलकराज भण्डारीले एक एक विकेट झारे ।

जितसँगै नेपालले यु–१९ एशिया कपमा छनोट हुन पाउने छ । एशिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, बाङ्गलादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

Loading...