fbpx

पूर्वाञ्चल विश्वविद्यालय छानबिन समितिको यस्तो प्रतिवेदन, जसले तीन जनाको जागिर खोस्यो (प्रतिवेदनसहित)

विराटनगर,
पूर्वाञ्चल विश्वविद्यालय भित्रको अनियमितता छानविन गर्न प्रधानमन्त्री कार्यालयको चासोपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको छानबिन समितिले बुझाएको प्रतिवेदन कोशी अनलाइनलाई प्राप्त भएको छ ।

छानबिन समितिले केही दिनअघि विश्वविद्यालयलाई बुझाएको २६ पेज लामो प्रतिवेदनमा विश्वविद्यालयमा भएको अनियमितता र अबैधानिक नियुक्तिको विश्वविद्यालय सेवा आयोगको विज्ञापनदेखि नियम योग्यता नपुगेका व्यक्तिलाई पदाधिकारीमा नियुक्त गरेको विषय उल्लेख गरिएको छ ।

राष्ट्रिय योजना आयोगकी सदस्य डाक्टर उषा झाको संयोजकत्वमा गठित समितिले बुझाएको प्रतिवेदन कै आधारमा विश्वविद्यालयका तीन पदाधीकारी बर्खास्तीमा परेका छन् । समितिकाे सुझाव पछि विश्वविद्यालय कार्यकारी परिषदले सह–रजिष्ट्रार राजेशकुमार झा, चिकित्साशास्त्र संकायकी सह डीन दीप्ती सुब्बा र सहपरीक्षा नियन्त्रक मेनुका श्रेष्ठलाई बर्खास्त गरेको हो ।

पदमुक्त भएका झाको शैक्षिक योग्यता पुगेको छैन । मेनुका र दिप्तीको भने अनुभव छैन । उनीहरुलाई हाल पदमुक्त गर्ने कार्यकारी बोर्डले नै नियुक्ति दिएको थियो । आफ्नै निर्णय उल्टिएपछि पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा.डा. घनश्यामलाल दास र रजिष्ट्रार प्रमिला थापालाई नैतिक संकट परेको छ ।

विश्वविद्यालय अनुदान आयोगका सदस्य–सचिव देवराज अधिकारी र शिक्षा मन्त्रालयका सचिव खगराज बराल सदस्य रहेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनमा विश्वविद्यालयको दीर्घकालीन योजना बनाउन र पारदर्शिता अपनाउन सुझाव दिइएको छ । सुझावअनुसार विश्वविद्यालयले पाँच वर्षे कार्य योजना निर्माणका लागि समिति गठन गरेको छ ।

प्रतिवेदनको अधिकांश स्थानमा सह रजिष्ट्रारको नियुक्ति पाएका राजेश झाको विषय उठाइएको छ । पूर्वाञ्चल विश्वविद्यालयमा झाको प्रवेशदेखि हालसम्मको अवस्थाको अध्ययन गर्दै शैक्षिक योग्यताको (बिई) स्नातकको प्रमाणपत्रप्रति नैं शंका जनाएको छ ।

छानबिन समितिले रजिष्टार प्रमिला थापाको नाममा इमेलको दुरुपयोग भएको विषय र पदाधिकारी तथा कर्मचारी नियुक्तिको विषयमा पनि अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हेर्नुहाेस् छानविन समितिकाे प्रतिवेदन्

प्रतिक्रिया

16 + 2 =

Loading...