काठमाडौं ।
अहिले भारतबाट आउने विषादीयुक्त तरकारीको विषयमा देशव्यापी चर्चा र चासो रहेको छ । नेपाल सरकारले भारतबाट आउने तरकारीको विषादीको मापन गर्दै नेपाल प्रवेश गर्न दिने नियमा लगाएको हप्ता दिन वित्न नपाउदै खुकुलो बनाएपछि धेरैको चासो कसरी तरकारीमा भएको विष कम गर्ने वा विषादी रहित बनाउने भन्ने रहेको छ ।
नेपालमा ४४ प्रतिशत तरकारी भारतीय हुने गरेको सन्दर्भमा हामीले पनि खरिद गरेर ल्याएपछि केही सावधानी अपनाउदाँ वा तरकारी किन्ने बेलामा ध्यान पुर्याउदाँ विषादी रहित तरकारी उपभोग गर्न सकिन्छ ।
नेपाल भित्रै पनि दर्जन समूहका विषादी प्रयोग गरिने कुरा बारम्बार सतहमा आए पनि अर्गानोफोस्पेट र काब्रामाइटको मात्र परीक्षण हुनसक्ने स्वदेशी प्रयोगशालाको हालत देखेर हामी सजिलै अनुमान लगाउन सक्छौं, उपभोक्ताको स्वास्थ्य कति जोखिममा छ ।
त्यसैले विषादीबाट बच्न हामीले सकभर मौसमअनुसार फल्ने फलफूल र तरकारीको उपभोग गर्दा विषादी रहित सेवन गर्न पाइन्छ । अलिकति बढी पैसा तिरेरै भए पनि अर्गानिक र ताजा फलफूल र तरकारी किन्नुपर्छ अनि विषादीजन्य खाद्यान्नलाई बहिस्कार गर्नुपर्छ।
केहीगरी विषादीयुक्त फलफूल र तरकारी भान्सामा नै भित्रिएको अवस्थामा यसबाट बच्ने पहिलो सामन्य तरिका भनेको राम्ररी धुने, पखाल्ने नै हो। तर धोइपखाली गर्दा समेत विषादी नजान सक्छ, त्यसैले अधिक मात्रामा रहेको विषादी हटाउन भिनेगर, बेकिङ सोडा वा नुनको प्रयोग गर्न सकिन्छ। भान्सामा सजिलै उपलब्ध हुने हुनाले नुनको प्रयोग सहज र उपयुक्त हुनसक्छ।
नुनको प्रयोग गर्दा प्रतिलिटर पानीमा सय ग्राम नुन हाल्नुपर्छ। त्यसपश्चात उक्त नुनपानीमा विषादीयुक्त फलफूल र तरकारी २०मिनेटसम्म डुबाएर राख्नुपर्छ। यसले धेरै मात्रामा विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ। त्यसपछि फेरि सफा पानीले धोएपछि खानका लागि योग्य बनाउन सकिन्छ।